किसानले कहिलेसम्म नगदे बाली उधारो कारोबार गर्ने ? «

किसानले कहिलेसम्म नगदे बाली उधारो कारोबार गर्ने ?

नामै काफी छ, बिक्री गरेर सजिलै नगद आर्जन गर्न सकिने बालीलाई नगदे बाली भनिन्छ । तर विडम्बना, हाल नेपालमा उत्पादन गर्ने अधिकांश नगदे बाली उधारोमा कारोबार गर्ने गरिएको छ । जसको प्रतिफल उत्पादन गर्ने किसानले वर्षौं वर्षसम्म प्राप्त गर्न सक्दैनन् । तर, बिचौलिया र व्यापारीले भने त्यही नगदे बालीलाई उधारोमा खरिद गरेर दिनमा दुई गुना रातमा चौगुना कमाउने गरेका छन् । तिनै उधारो नगदे बालीको भुक्तानी पाउनका लागि किसानले भने आन्दोलन गर्नुपर्छ, अनशन बस्नुपर्छ । के यही नै सही हो त ? आफ्नो उत्पादनको मूल्य पाउन के आन्दोलन नै गर्नुपर्ने हो त ?
पहिला कुरा गरौं, उखु उत्पादक किसानहरूको उधारो कारोबारीसम्बन्धी प्रसंगबाट । रौतहटका उखु किसानले नगदे बाली, जुन आफ्नो जीवन चलाउनका निमित्त एक नगदे बाली उखुलाई आफ्नो व्यवसाय अँगालेर उत्पादन गरे, उनीहरूले उत्पादन गरेको उखुमा बिचौलियाले रजाइँ त मच्चाए, उनीहरूले उखु काट्ने समयमा उखु खरिद गर्न अस्वीकार मात्र गरेनन् कि मूल्य पनि तिर्न तयार भएनन् । बरु स्वदेशी उत्पादनलाई निरुत्साहन गर्ने भारतलगायत तेस्रो मुलुकबाट उखु भिœयाउन सुरु गरेर किसानको मेहनतको धज्जी उठाए । के स्वदेशमा नै आत्मनिर्भर भई देशलाई चाहिने कच्चा पदार्थ उत्पादन गर्नु बेठीक थियो ?
व्यावसायिक कारोबार गर्न भनी कम्पनी रजिस्टार कार्यालयमा दर्ता भएका चिनी मिलको रबैयाले गर्दा आज किसानलाई चिन्ता र दुःखकष्ट दिनबाहेक ती कम्पनीले केही गरेका देखिँदैनन् । साथै, ती नियमनकारी निकाय, सरकार र सरकारमातहतका कार्यालयले पनि किसानको हितका लागि आश्वासनबाहेक अन्य केही पनि सहुलियत दिएका छैनन् । के किसानको रगत र पसिनाले राज्यको उच्च व्यवस्थापनलाई सोच्न बाध्य पारेको छैन त ?
उखुका बारेमा भएका विविध समस्यालाई राष्ट्रिय मुद्दा बनाएर त्यस स्थानबाट कति जना सांसद, मन्त्री, प्रधानमन्त्रीसम्म भए होलान्, तर ती उखु किसानका पीडा कसैले बुझ्न सकेका छैनन् । धिक्कार छ ती राजनीतिक दल र ती नेता–कार्यकर्तालाई ।
नेपाल एक भौगोलिक विविधताले युक्त मुलुक भएकाले अन्न बाली, दलहन बाली र नगदे बालीमा आत्मनिर्भर बन्नका लागि सबै पक्षले सही तरिका र योजना अनि प्रभावकारी कार्यविधिहरू व्यावहारिक र अक्षरशः पालना गर्ने हो भने देशले समृद्धि हासिल गर्न कत्ति पनि समय कुर्नै पर्दैन ।
उखु किसान उधारो कारोबारी गर्ने एक प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उहाँहरूले गर्नुभएको खेतीबालीप्रति हाम्रो उच्च सम्मान छ । यस्ता नगदे बाली उधारोमा कारोबार गर्ने अन्य किसानहरू पनि उहाँहरूजति नै पीडित हुनुहुन्छ । साथै चिया, कफी तथा दुग्धजन्य पदार्थ उत्पादन गर्ने किसानहरूका समस्या पनि उहाँहरूका जत्तिकै छन् । त्यस्तै कच्चा पदार्थ उत्पादन गर्ने किसानहरूलाई पनि राज्यले उच्च सम्मान गर्न जरुरी छ । ताकि बिदेसिने वातावरण सरकारले नै प्रोत्साहन गरिरहेको आभास यी उखु किसानको संघर्ष र बलिदानबाट प्रस्ट थाहा पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्