ब्यारेक हटेपछि स्थानीय असुरक्षित

सन्तोष महतारा
गुल्मीको इस्मा गाउँपालिकामा रहेको आर्मी ब्यारेक हटेपछि स्थानीयले आफूहरू असुरक्षित भएको गुनासो गरेका छन् । वि.सं ०६२÷६३ को जनआन्दोलनमा आएर बसेको आर्मी ब्यारेक १६ वर्षपछि त्यहाँबाट हट्दा स्थानीयले आफूहरू असुरक्षित रहेको गुनासो गरेका हुन् ।
बाढीपहिरो, आगलागी, सवारी दुर्घटनाजस्ता आपतकालीन अवस्थामा पुग्ने नेपाल आर्मीको सिंगो समूह नै अहिले त्यहाँबाट सरिसकेको छ । इस्मा गाउँपालिका–४ का रामबहादुर खत्रीले आफूहरू असुरक्षित रहेको बताए । “बाढीपहिरो, आगलागी र सवारी दुर्घटना हुँदा आर्मी आइपुग्थे,” स्थानीय खत्रीले भने, “आर्मी रहँदा असुरक्षित महसुस कहिल्यै भएन ।” इस्मा गाउँपालिकाको ऐतिहासिक ठाउँ इस्मा कोटमा बस्ने आर्मीले इस्मामा पानीको सुविधा पनि पु-याएका थिए ।
इस्मा गाउँपालिकाका धेरै स्थानमा पानीको चरम अभाव छ । अर्खबाङ्को मदाने लेकबाट इस्मामा खानेपानी आएको छ । केही समस्याले खानेपानीमा गडबडी भए आर्मी पुगिहाल्थे । तर, आर्मी हटेपछि खानेपानीमा समेत समस्या देखिएको स्थानीयले बताए ।
वि.सं ०६२÷६३ मा आन्दोलनरत माओवादीसँग नेपाल सरकारको तर्फबाट नेपाल आर्मीसहित विभिन्न सुरक्षा निकाय खटिने क्रममा इस्मामा नेपाल आर्मीसँगै जनपथ र सशस्त्र प्रहरी बल पनि खटिएको थियो । पछि नेपालमा शान्ति सम्झौता भएपछि सशस्त्र प्रहरी बल र जनपथ फर्किपछि इस्मा कोटमा त्यहाँका समुदायको आग्रहलाई स्वीकार गरी नेपाल आर्मी बस्यो । सुरुमा १ सय ५० जनाभन्दा बढीको समूहमा रहेको सुरक्षा निकाय अहिले १५ जनाको मात्रै समूह रहेको स्थानीयले बताए ।
इस्मा गाउँपालिका–५ का जमानसिंह खत्रीले इस्माबाट आर्मी ब्यारेक नै हट्नु दुःखद रहेको बताए । जनआन्दोलनको समयबाट सुरक्षा दिइरहेको नेपाल आर्मी एक्कासि कोरोनाको बहानामा हट्नुले स्थानीय धेरै चिन्तित बनेको उनको भनाइ छ । वडा नं. ५ कै दलबहादुर कुवँरले अब समुदायमा आगलागी र पहिरोजस्ता जोखिम आउँदा कसैको सहयोग नहुने भन्दै आर्मी सर्नु स्थानीय निकायले राख्न नसकेको बताउँछन् । स्थानीय सरकारले समन्वय गरेर आर्मी त्यहाँबाट हट्नै नदिनुपर्ने उनले बताए ।
इस्मा पृथ्वीनारायण शाहले एकीकरण गरेको २४ मध्ये एक राज्य हो । इस्मा राज्यमा २८ गाविस रहेका थिए । यस राज्य अन्तिम राजा गोविन्दराज राठौरलाई पाल्पाको सहयोगमा अमरसिंह थापा नेतृत्वको समूहले इस्मा राज्य एकीकरण गरेको थियो । इस्मा कोटलाई विभिन्न कारणले ऐतिहासिक मन्दिर मानिएको छ । तर, आर्मी ब्यारेक हटेपछि मन्दिर पनि जीर्ण बन्दै गएको छ ।
इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण विष्टले इस्मा कोटको संरक्षण गर्न लागिरहेको बताए । “कोटको संरक्षणका लागि त्यहाँ बाटो निर्माण तथा सिँडि बनाएर सौन्र्दय बनाएका छौ,” अध्यक्ष बिष्टले भने, “यस वर्ष कोटको संरक्षणका लागि ४० लाख बजेट विनियोजन भएको छ ।” आर्मी हटेपछि कोटको संरक्षण नभएको उनले स्वीकार गरे ।
वीरभद्र जंग गुल्म गुल्मीका गुल्मपति मेजर भुपेन्द्र गुरुङले नेपाल आर्मीको पछिल्लो प्रक्रियाले इस्माबाट आर्मी हटेको बताए । “आर्मीको पछिल्लो प्रक्रिया नै ब्यारेक मर्ज गर्ने हो,” मेजर गुरुङले भने, “इस्मामा हुँदाभन्दा बढी सदरमुकाम तम्घासबाट नै स्थानीयलाई सुरक्षाको महसुस गराउने छौं ।” बाढीपहिरो, आगलागी, सवारी दुर्घटनाजस्ता आपतकालीन अवस्थामा नेपाल आर्मी जिल्लाबाटै छोटो समयमा नै राहत पु¥याई इस्मा कोटको संरक्षणमा समन्वय गरिने मेजर गुरुङले बताए ।