फल खाने समयमा सुन्तलामा रोगको प्रकोप «

फल खाने समयमा सुन्तलामा रोगको प्रकोप

बागलुङ-फल खाने समयमा सुन्तलाका बोटमा रोगको प्रकोप देखिन थालेपछि बागलुङका सुन्तला किसान चिन्तित बनेका छन् । पाक्ने समयमा बोटबाट सुन्तला धमाधम झर्न थालेपछि किसान चिन्तित बन्न थालेका हुन ।
आठ रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेका बागलुङ नगरपालिका ८ सिगानाका किसान अनन्त खड्काले अहिले बोटबाट आधा सुन्तला औंसे किराको प्रकोपले झर्न थालिसकेको बताए । “सुन्तला पाकेर फल खाने समयमा एकाएक झर्ने समस्या सुरु भएको छ” खड्काले भने, “बिक्री गर्नका लागि बजारको बन्दोबस्त मिलाउँदै गरेको अवस्थामा सुन्तला झरेपछि यो वर्ष आम्दानी थोरै हुने देखेको छु ।” खड्काले सुन्तला बिक्रीबाट वार्षिक छ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताए । दाना लाग्ने समयमा अनुकुल मौसम परेको कारण सुन्तलाका दानहरु राम्रा र ठूला भएपनि पाक्ने समयमा झर्न थालेपछि आफूहरु चिन्तामा परेको उनले बताए ।
बोटबाट एकाएक झरिरहेका सुन्तालाले खड्कालाई जस्तै सिगानाकै टोपबहादुर खड्का र रामबहादुर खड्कालाई पनि चिन्ता थपिएको छ । “बोटमा भन्दा भुइँमा धेरै सुन्तला हुन थालिसकेका छन्, अझै कति झर्ने हुन्” रामबहादुर खड्काले भने, । मुख्य आम्दानीको रूपमा रहेको सुन्तला झरे पनि नगरपालिका, सुन्तला जोन र कृषि ज्ञान केन्द्रले ध्यान नदिएको कृषकको गुनासो छ ।
बागलुङ जिल्लाको बिहुँ, सिगाना, भकुण्डे, दमेकलगायतका सुन्तलाका पकेट क्षेत्रमै सुन्तला पँहेलो भएर किरा परेर झर्न थालेको छ । यस क्षेत्रमा सुन्तलासँगै जुनार, मौसम, भोगटे, निबुवा, बिमिरो, कागती, ज्यामिरलगायतका फलफूलमा यो रोगको संक्रमण फैलिएको छ । पाक्ने समय नहुँदै पँहेलो हुने र झर्ने समस्याले सुन्तला खेतीमा गम्भीर समस्या आएको बागलुङ–८ सिगानाका वडाध्यक्ष राजन जिसीले बताए । जिसिले रोग पहिचान र रोकथाममा तत्कालै सम्बन्धित निकायले कदम नचाल्ने हो भने सुन्तला किसानले ठूलो क्षति बेहोर्नुपर्ने गुनासो गरे ।
जिल्लामा सबैभन्दा बढी सुन्तला झर्ने अवस्था बागलुङको सिगानामा देखिएको छ । अहिले पँहेलो भएर झरेको सुन्तला औंसे किराकै प्रकोपका कारण भएको कृषि ज्ञान केन्द्र पर्वतका सूचना अधिकारी विश्वास काफ्लेले बताए । अहिले झरेको सुन्तलाको फल सही व्यवस्थापन गर्न नसके अर्को वर्ष झनै समस्या हुने भएकाले किसानलाई झरेको सुन्तलाको सहीरुपमा व्यवस्थापन गर्न आवश्यक रहेको काफ्लेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्