अध्यक्ष गोल्छाको पदवहाली «

अध्यक्ष गोल्छाको पदवहाली

वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन् । ढकाल ५४.२६ प्रतिशत मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी किशोरकुमार प्रधानले ४५.७४ प्रतिशत मत पाएका छन् । जीतसँगै ढकाल २०७९ चैतमा हुने साधारणसभाबाट महासंघको २० औं अध्यक्ष स्वतः निर्वाचित हुनेछन् ।
यता, महासंघका १९ औं अध्यक्ष शेखर गोल्छाले आइतबार नै पदवहाली गरे । २०७३ चैतमा भएको साधारणसभाबाट प्रतिस्पर्धी किशोर प्रधानलाई पराजीत गर्दै वरिष्ठ उपाध्यक्षमा निर्वाचित गोल्छाले आइतबार अध्यक्ष भवानी राणाबाट पद तथा गोपनियताको सपथ लिइ विधिवत पदवहाली गरे । राणाले सपथपछि महासंघको पिन गोल्छालाई हस्तान्तरण गरेकी थिइन् भने गोल्छाले त्यसलगत्तै नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहित उपाध्यक्षत्रय दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघई तथा कार्यकारिणी समिति सदस्यहरुलाई सपथ ग्रहण गराए । सपथसँगै कार्यकारिणी समिति बैठक राखी गोल्छाले आफ्नो भिजन प्रस्तुत गरेका छन् ।
गत चैत २८ मा हुनुपर्ने नेतृत्व परिवर्तन कोभिडका कारण आइतबार मात्रै भएको थियो । निर्वाचनको नतिजा सार्वजनिकपछि कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत उपेन्द्रकेशरी न्यौपानले सबै पदमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गोल्छाले व्यावसायिक जवाफदेहिता र पारदर्शितामा आफ्नो जोड रहने बताएका छन् । उनले व्यावसायिक जवाफदेहिता र पारदर्शिता भएमा मात्रै निजी क्षेत्रले अपेक्षाअनुसारको गति लिनसक्ने बताए । उनले आफ्नो कार्यकालमा अल्पकालिन, मध्यकालिन तथा दीर्घकालिन कार्य योजना बनाएको बताए ।
कोभिडको राहतदेखि सचिवालय सुधारसम्मको योजना राखेका छन् । आफ्नो परिवार विगतदेखि नै उद्यम व्यवसायका लागि मात्रै नभइ समग्र निजी क्षेत्रको हक हितमा लडेको उल्लेख गर्द उनलेै नेतृत्व तहसम्म आउने बुवा र दाजुको सपना पूरा नभएको स्मरण गरे । आफ्नो अभिभावकको इच्छा आफूले पूरा गर्न पाएकोमा भने आफूलाई धन्य ठानेको उनले बताएका छन् । उनले आफू वरिष्ठ उपाध्यक्ष हुँदा नेतृत्वमा रहेकी राणा नेतृत्वको खुलेर प्रसंशा गरे । निर्वाचनसम्म प्यानल र गुट भएपनि अबदेखी एक भएर हिड्नुको विकल्पन भएको उनको भनाइ थियो । “एकताको महत्व हामी सबैले बुझेका छौँ, निजी क्षेत्रका हकहितमा एकजुट हुनेमा विश्वास छm” उनले भने । दिगो आर्थिक वृद्धि, राजस्वमा टेवा दिने निजी क्षेत्र नै भएको भन्दै उनले त्यसका लागि कार्यसमिती एकजुट हुनुपर्ने बताए । जति स्वच्छ र पारदर्शी व्यवसाय हुन्छ त्यति नै निजी क्षेत्रको गरिमा बढ्ने उनको भनाइ थियो ।
साढे तीन वर्ष नेतृत्वमा रहेर आइतबार निवर्तमान अध्यक्ष भएकी भवानी राणाले ५० वर्षको इतिहासमा आफू पहिलो पटक महिला अध्यक्ष भई जिम्मेवारी सम्हालेको बताइन् । पुरुषका तुलनामा आफ्नो नेतृत्व कमजोर नभएको भन्दै उनले कठिन परिस्थितीमा पनि सबै सरोकारवाला पक्षसंग मिलेर काम गरेको बताइन् । सरकारले दिएको स्वीकृतिअनुसार नै निर्वाचन गर्न सफल भएको उल्लेख गर्दै राणाले अबको दिनमा मिलेर जानुपर्ने बताइन् । सफलता भनेको नेतृत्वले टीमलाई संगै लैजान सक्यो भने मात्रै सफल हुने भन्दै आउने दिनमा थुप्रै चुनौतीलाई सम्हालेर अध्यक्ष गोल्छा अगाडि बढ्नेमा उनले विश्वास व्यक्त गरिन् ।

एशोसिएटमा पनि मिश्रित नतिजा
महासंघको एशोसिएट समितिमा पनि मिश्रित नतिजा आएको छ । एशोसिएट समूह उपाध्यक्षमा ढकाल समूहका रामचन्द्र संघई निर्वाचित भए पनि सदस्यमा भने मिश्रित परिणाम प्राप्त भएको हो । जसअनुसार अम्बिकाप्रसाद पौडेल, ज्योत्सना श्रेष्ठ, गोपाल खनाल, भरतराज आचार्य तथा प्रबलजंग पाण्डे सदस्यमा निर्वाचित भए । यस्तै, सदस्यमा निर्वाचित हुने अन्य व्यवसायीमा शाहिल अग्रवाल, शैलेन्द्र गुरागाईं, विजयसिंह वैद्य, राजेशकुमार अग्रवाल, शक्तिकुमार बेगानी, हेमन्त गोल्छा, संजय गिरी, आनन्द कुमार अग्रवाल बगडिया, देशबन्धु बस्नेत (अजित), अविनाश बोहरा, सुशिल थापा, कृष्णलाल महर्जन, रञ्जितराज आचार्य रहेका छन् । मंगेशलाल श्रेष्ठ र विराट थापाको मत बराबरी भएपछि कार्यकाल आधा–आधा बाँड्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्