सेयर बजारमा पुनः ऐतिहासिक कीर्तिमान «

सेयर बजारमा पुनः ऐतिहासिक कीर्तिमान

नेप्से परिसूचक ७५ अंकले बढ्दा कारोबार रकम ९ अर्ब रुपैयाँभन्दा माथि


सेयर बजारले पुनः ऐतिहासिक कीर्तिमान कायम गरेको छ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से र खरिद बिक्री रकम दुवैमा अहिलेसम्मकै नयाँ रेकर्ड कायम भएको हो । गत बिहीबार १८९३.२४ अंकमा पुगेर बन्द भएको बजार आइतबार ७५.०२ अंकले बढेर १९६८.२७ अंकमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सूचक सेन्सेटिभ परिसूचक पनि १८.७६ अंकले बढेर ३८३.९३ अंकमा बन्द भएको छ । साथै, कारोबार रकमले पनि अहिले सम्मकै नयाँ कीर्तिमान कायम गरेको छ । दिनभर २ सय कम्पनीको ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार रुपैयाँको २ करोड ५९ लाख ४५ हजार ८० कित्ता सेयर खरिद बिक्री भएको छ ।
पछिल्लो समय सेयर बजारमा लगानीका लागि उपयुक्त माहोल बनेपछि लगानीकर्ताले लगानी बढाउँदै गएका छन् । त्यसैले बजारमा सेयरको माग बढेको छ भने परिसूचक र कारोबार रकमले नयाँ उचाई चुम्दै गएका छन् । नेप्से परिसूचकसँगै कारोबार रकम, कारोबार संख्या (पटक), अनलाइनबाट कारोबार प्रतिशत र बजार पुँजीकरणमा समेत आइतबार नयाँ रेकर्ड कायम भएको छ । आइतबार कारोबारमा आएका समूहमध्ये व्यापार, होटल, निर्जीवन बिमा र उत्पादन तथा प्रशोधन समूह भने घटेका छन् । त्यस बाहेकका सबै समूह बढेका छन् ।
आइतबार लगानीकर्ताहरू बैंकिङ समूहमा सबैभन्दा धेरै आकर्षित भएका छन् । बैंकहरूको सेयरमा खरिद चाप बढ्दा २७ वटा वाणिज्य बैंकमध्ये अधिकांश बैंकको सेयरमा सकारात्मक सर्किट लागेको छ । विकास बैंकहरूको सेयरमा पनि लगानीकर्ताको आकर्षण बढी देखिएको छ । आइतबार सबैभन्दा धेरै सेयर कारोबार हुनेमा नेपाल पुनर्बिमा कम्पनी रहेको छ । यो कम्पनीको मात्रै ५१ करोड ७९ लाख ९१ हजार रुपैयाँ बढीको सेयर खरिदबिक्री भएको छ । यस्तै, कुमारी बैंकको सेयर कारोबार पनि ४० करोड ८० लाख ६२ हजार रुपैयाँ बढीको भएको छ ।

प्रतिक्रिया दिनुहोस्