अर्थतन्त्र पुनरुत्थानका लागि सरकारको प्रयास जारी :प्रधानमन्त्री ओली «

अर्थतन्त्र पुनरुत्थानका लागि सरकारको प्रयास जारी :प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रको पुनरुत्थान गर्न सरकारले सबै खालका प्रयास जारी राखेको बताएका छन् । उनले कोरोना महामारी नियन्त्रण र रोकथाम गर्न तथा त्यसका कारण अर्थतन्त्रमा पुगेको क्षति न्यूनीकरण गर्दै अर्थतन्त्रको पुनरुत्थान गर्न सरकारले सबै प्रयत्नहरु जारी राखेको बताए ।
शनिबार भएको ‘फोनपे डिजिटल इकोनोमी कन्क्लेभ २०२०’ मा बोल्दै उनले नेपालको अर्थतन्त्रमा पनि कोरोना महामारीको प्रभाव आकलन गरिएभन्दा बढी हुने संकेतहरु देखिसकेको बताए ।
“मैले निजी क्षेत्रलाई भनिसकेको छु, सरकारको मन गरिब छैन, गच्छे अनुसारको सहयोग र समन्वय गर्न दृढ छ”, उनले भने । प्रधानमन्त्री ओलीले अहिले विश्वको ध्यान डिजिटल अर्थतन्त्रको खोज र विकासमा लागेको बताउँदै यस क्षेत्रमा लगानी बढिरहेको तथा नयाँ आविष्कार र नव प्रवर्तन भइरहेको पनि बताए ।
“कोरोनाले हरेक मानिसबीच दूरी बढाइदिएको समयमा डिजिटल कमर्श, डिजिटल पेमेन्टलगायतका पक्षहरु तपाईं हामीलाई जोड्ने माध्यम बनिरहेका छन्, उनले भने, “समग्रमा, डिजिटल क्षेत्र विश्वकै नयाँ र उच्चदरको आर्थिक वृद्धिको माध्यम हुनसक्ने सम्भावना देखेको छु ।”
उनले डिजिटल प्रविधिको उपयोगबाट सेवा प्रवाह, उत्पादन र उत्पादकत्वमा वृद्धि गरी अर्थतन्त्रको बृहत्तर आयामको रुपान्तरण गरी आधुनिकीकरण गर्ने लक्ष्यसहित सरकारले डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेको दावीसमेत गरे ।
उनले कोरोना महामारी नियन्त्रण गर्न लकडाउनले भौतिक सम्पर्कलाई निषेध गर्दा इ–कमर्श, अनलाइन सपिङ, डिजटिल बैंकिग र इ–लर्निङ लगायत डिजिटल उपचार, व्यवसाय र क्रियाकलापहरु नेपालका सहरी क्षेत्रहरूमा मात्र नभइ धेरै स्थानमा जीवनको अंग बनेको बताए ।

प्रतिक्रिया दिनुहोस्