भक्तपुर औद्योगिक क्षेत्र व्यवस्थापन गर्न मन्त्रालयको चासो «

भक्तपुर औद्योगिक क्षेत्र व्यवस्थापन गर्न मन्त्रालयको चासो

भक्तपुर-उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भक्तपुर नगरपालिका– २ स्थित भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालित ध्वनी र धुवाँ प्रदुषण गर्ने उद्योग स्थानान्तरणबारे छलफल सुरु गरेको छ । मन्त्रालयका सहसचिव डा. नारायणप्रसाद रेग्मी नेतृत्वको टोलीले उद्योग स्थानान्तरण गर्नेबारे भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग छलफल गरेको छ ।
भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालित ध्वनी, धुवाँ र रसायन प्रदुषण गर्ने उद्योगहरु बन्द गर्न स्थानीयको मागपछि मन्त्रालयले गठन गरेको कार्यदलसँग नगर प्रमुख प्रजापतिले भक्तपुर औद्योगिक क्षेत्रलाई घरेलु तथा साना उद्योग वा हस्तकला ग्रामको रुपमा सञ्चालन गर्नुपर्ने बताए । उनले उद्योग क्षेत्रभित्र सञ्चालित धुवाँ, धुलो फाल्ने डाइङ, टेक्सटाइल र रङ उद्योगहरूलाई तत्काल उपयुक्त ठाउँमा स्थानानान्तरण गर्नुपर्ने बताए ।
स्थानीय किसानको जग्गा सस्तोमा अधिग्रहण गरी भक्तपुर साना उद्योग क्षेत्र स्थापना गरिएकोमा स्थापनाको उद्देश्यविपरीत ध्वनि, धुवाँ, रसायन प्रदुषण फाल्ने टेक्सटाइल, डाइङ, रङरोगन, प्लास्टिकलगायतका उद्योगहरू सञ्चालनप्रति स्थानीयले विरोध गर्दै आएकाले सरकारकै नीतिअनुरुप ती उद्योगहरू उपत्यका बाहिर स्थानान्तरण गर्नुपर्ने उनले बताए ।
उनले भक्तपुर नपालाई उद्योग क्षेत्रमा स्थापित कतिपय उद्योगीहरूले नगरपालिकाको निर्देशन पालना नगरेको र करसमेत नतिरी सञ्चालन गरिरहेकोतर्फ ध्यानाकर्षण गराउँदै उनले विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको मानव स्वास्थ्यलाई हानी पु-याउने खालका प्रदूषण फाल्ने उद्योगहरूलाई पहिलो चरणमा स्थानान्तरणको लागि आवश्यक पहल गरिदिन आग्रह गरे ।
मन्त्रालयका सहसचिव डा. रेग्मीले भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगबारे स्थानीयको गुनासो सम्बोधन हुने ढंगले उद्योगहरू स्थानान्तरण गरी समस्या समाधानका लागि मन्त्रालय तयार रहेको बताए । साना उद्योगको रुपमा स्थापित उद्योगहरूमा हाल जथाभावी जनचाहना विपरीत मानव स्वास्थ्यलाई हानी पु-याउने ढंगले उद्योग सञ्चालन भइरहेकोमा मन्त्रालय नै अनभिज्ञ रहेको टोलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्