शरणार्थी शिविरका किशोरी असुरक्षित «

शरणार्थी शिविरका किशोरी असुरक्षित

झापा-बुधबारबाट विश्वव्यापी रुपमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । अभियान मार्फत् हिंसा न्यूनीकरणका लागि विश्वव्यापी रुपमा सचेतनामूलक कार्यक्रम शुरु भएका हुन् ।
अभियानमा लैंगिक हिंसा अन्त्य गर्न, हिंसा भइहाले कानुनी उपचारको विषयमा जनचेतना जगाउन नेपालमा पनि विभिन्न माध्यमबाट जानकारी मुलक कार्यक्रम शुरु भएका छन् । यसरी विशेष गरी १६ दिने अभियान मार्फत् र वर्षभरी लैंगिक हिंसा र महिला तथा बालबालिका विरुद्ध हुने अपराध अन्त्यका लागि विभिन्न प्रयास हुँदाहुँदै पनि अपराधका घटनामा कमि आउन सकेको छैन ।
झापामा गत आर्थिक वर्ष २०७६-०७७मा ८८ वटा बलात्कारका घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चालू आर्थिक वर्ष २०७७-०७८ को चार महिनामा झापामा ४३ वटा बलात्कारका घटना भएको प्रहरीको तथ्यांकले देखाउँछ । त्यसमा पनि दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर पछिल्लो समय असुरक्षित बन्दै गएको छ । गत साउनमा शरणार्थी शिविरमा ८ बर्षिया बालिका शिविर भित्रकै ७४ बर्षिय वृद्धबाट बलात्कृत भइन् । छिमेकी वृद्धबाट बलात्कृत बालिकाका परिवारले कानुनी ढोका भने ढक्ढकाए । बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा गत आर्थिक वर्षको कात्तिकदेखि साउनको पहिलो हप्तासम्ममा ३ जना बालिकासहित एक जना महिला बलात्कृत भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
गत आवको कात्तिक पहिलो साता शिविर भित्रकी ९ बर्षिया बालिका २६ बर्षिय छिमेकी पुरुषबाट बलात्कृत भइन् । त्यस्तै, जेठमा ६१ बर्षिय पुरुषले १२ बर्षिया झड्केली छोरीलाई बलात्कार गरे । शिविर भित्र बालिका मात्र असुरक्षित छैनन् । शिविरकै ५५ बर्षिया महिला पनि गत असारमा ४९ बर्षिय छिमेकी पुरुषबाट बलात्कृत भइन् ।
शिविर भित्रका किशोरी आफूहरुलाई असुरक्षित महसुस हुँदै गएको बताउँछन् । शिविरकी १९ वर्षिया रिता मगर शिविरभित्रकै मानिसहरुबाट यहाँका बालबालिकादेखि महिलासम्म असुरक्षित रहेको बताउँछिन् । “हिजोआज शिविरमा बलात्कार, कुटपिटलगायत हिंसाका घटना बढ्दै गइरहेका छन्,” मगरले भनिन्, “आफन्त र छरछिमेकीहरुबाट नै बलात्कृत हुनेहरु धेरै छन् ।” दमक बहुमुखी क्याम्पसमा कक्षा १२मा अध्ययनरत उनी कतिपय घटनाहरु भने बाहिर नआउने गरेको बताउँछिन् । “जति घटना प्रहरीसम्म पुग्छन् त्यो भन्दा धेरै शिविर भित्रै गुमनाम हुने गर्छन्,” मगर भन्छिन् । शिविर भित्रकै १५ बर्षिया बालिका पनि शिविरमा बस्न असुरक्षित महसुस हुने बताउँछिन् । कक्षा ९ मा अध्ययनरत् देविका मगरले हिंसामा परेको कुरा अरुलाई सुनाए घरपरिवार र छरछिमेकीबाट बदनाम हुने डरले पनि यहाँका पीडित कानुनी कारवाहीसम्म नपुग्ने गरेको सुनाइन् ।
शिविरमा हुने अधिकांश घटनाको कारक तत्व लागुऔषध तथा मादकपदार्थ सेवन नै रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए । “कम जनसंख्या रहेको ठाउँमा ६ महिनाको अवधिमा ४ वटा बलात्कारका घटना घटेका छन्,” पण्डितले भने, “लागुऔषध र मादकपदार्थ सेवन कर्ता बढेकाले शिविर भित्र अपराधजन्य घटना बढ्दै गएका हुन् । जति घटना घटेका छन् त्यसमा अधिकांश पीडकले मादकपदार्थ सेवन गरेको पाइएको छ।” बेरोजगारी र अशिक्षाले पनि अपराधजन्य घटना बढाएको पण्डित बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्