सार्कको गतिशीलता र नेपालको अध्यक्षता «

सार्कको गतिशीलता र नेपालको अध्यक्षता

saarc

वर्तमान सरकारले जतिसुकै कूटनीतिक कौशलको बखान गरे पनि क्षेत्रीय तथा उपक्षेत्रीय स्तरमा आफ्नो भूमिका बढाउन सकेको देखिँदैन ।

पछिल्लो समय सार्क अत्यन्तै सुस्त हुँदै गएको सन्दर्भलाई मनन गर्दै यस्तो असहज परिस्थितिमा संगठित रूपमा समस्याको समाधान गर्नु सबैका लागि हितकर हुन्छ ।

हरेक समस्याको सामूहिक हिसाबले समाधान गर्ने उद्देश्यका साथ स्थापना भएको सार्क पछिल्लो समय निकै सुस्त र निष्काम भएको थियो । आज विश्व नै कोरोनाले त्रसित भएको बेलामा सार्कमा सहभागी सबै देश मिलेर यो समस्याको समाधान गर्ने वाचा मोदीले भिडियो कन्फरेन्सबाट गरे । सन् १९८५ डिसेम्बरमा विधिवत् स्थापना गरिएको यस संगठनलाई पुनः गतिशील बनाई मिलेर कार्य गर्ने खबरले आमजनमानसमा खुसी छाएको थियो । विगतका तीतामीठा घटनालाई भुलेर एक भई अगाडि बढ्ने काम एकदमै उत्तम हो ।
तर, कोरोनाविरुद्ध लड्न एक आर्थिक कोस निर्माण गरी अगाडि बढ्नका लागि १ करोड अमेरिकी डलरबराबरको रकम राख्ने घोषणा गरेका मोदी पुनः मौन रहेका छन् । वर्तमान समयमा कोरोनासँग जुध्न ठूलो आर्थिक अभावको सामना गर्नुपर्ने अवस्था छ । दूरदर्शी राजनेताले संकटको समयमा आमनागरिकको मन जित्ने गरी कार्य गर्नुपर्छ । त्यसमा पनि दक्षिण एसियाली सहयोग संगठन बढी महत्वपूर्ण भएको छ । मूलतः भारतसँग हामो ऐतिहासिक सम्बन्ध, धर्म, चालचलन, रहनसहन आदि धेरै मिल्ने भएकाले पनि धेरै निकटको सम्बन्ध रहेको छ । खासगरी भारत र पाकिस्तानबीचको सम्बन्धका कारणले समयमा नै नियमित सम्मेलन हुन नसकिरहेको अवस्थामा अब पुनः सार्कलाई गतिशील बनाउने जुन पहल भएको थियो, त्यो अत्यन्तै सकारात्मक कदम पनि निश्चय नै थियो । नेपालले यसमा सार्कको अध्यक्षको नाताले महत्वपूर्ण भूमिका खेल्न आवश्यक छ । वर्तमान सरकारले आफ्नो कूटनीतिक कौशल देखाउने बेला पनि यही नै हो । नेपालले विगतमा विश्वका विभिन्न मञ्च तथा क्षेत्रीय तथा उपक्षेत्रीय तहमा पनि आफ्नो उपस्थिति देखाएको थियो । तर, वर्तमान सरकारले जतिसुकै कूटनीतिक कौशलको बखान गरे पनि क्षेत्रीय तथा उपक्षेत्रीय स्तरमा आफ्नो भूमिका बढाउन सकेको देखिँदैन ।
भारतीय र भुटानीबीच पनि त्यस्तै सम्बन्ध रहेको छ । देश–देशबीच जस्तो सम्बन्ध रहे पनि सार्कमा क्षेत्रीय विषयमा कुराकानी हुने हुनाले महामारीको समयमा क्षेत्रीय संगठनको आवश्यकता तथा अपरिहार्यता पुष्टि भएको छ । यसलाई चलायमान बनाउन तथा आपसी सम्बन्ध र सद्भावको विस्तार गर्दै मिलेर कुनै पनि समस्याको समाधान गर्ने जुन उद्देश्यका साथ सार्क गठन भएको हो, त्यसलाई अगाडि बढाउन नेपालको भूमिका छ, यसमा नेपाल सरकार क्रियाशील नभएको गुनासा पनि छन् । सार्कका सिद्धान्तहरू पनि महत्वपूर्ण रहेका छन् । क्षेत्रीय संगठनबाटै एकताको विकास गरी अगाडि बढ्ने उद्देश्यलाई व्यवहारमा उतार्नका लागि सबै सदस्य एक हुनु जरुरी हुन्छ । अहिलेको जटिल अवस्थामा मिलेर कोरोनासँग लड्न सक्दा सार्कजस्ता क्षेत्रीय संगठनको उपादेयता एउटा गतिलो उदाहरणसमेत हुने थियो, जुन समस्त विश्वलाई नवीन पाठ पनि बन्ने थियो । देश–देशबीचका ससाना विवादमा अलमलिएर महत्वपूर्ण संगठनलाई गतिहीन बनाइराख्नु उचित हुँदैन । आठवटै देश आपसमा मिलेर भाइचाराको सम्बन्धको विकास गर्दै एकताबद्ध हुनु आजको आवश्यकता पनि हो । पछिल्लो समय सार्क अत्यन्तै सुस्त हुँदै गएको सन्दर्भलाई मनन गर्दै यस्तो असहज परिस्थितिमा संगठित रूपमा समस्याको समाधान गर्नु सबैका लागि हितकर हुन्छ । सार्कको सिद्धान्तअनुसार सार्वभौम समानताको आदर प्रादेशिक अखण्डता र राजनीतिक स्वतन्त्रता तथा अन्य देशहरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र पारस्परिक लाभको सिद्धान्तमा आधारित हुने जस्ता सवालहरू समेटिएका छन् । जुन सहयोग दुईपक्षीय वा बहुपक्षीय सहयोगको विकल्पका रूपमा होइन, त्यसको पूरकका रूपमा हुनेछ । दक्षिण एसियाका जनताको हितलाई अभिबृद्धि गर्नु र तिनीहरूको जीवनस्तरमा सुधार ल्याउनुका साथै यस क्षेत्रमा आर्थिक विकास, सामाजिक उन्नति र सांस्कृतिक विकासलाई वृद्धि गर्नु तथा सबैलाई सम्मानका साथ बाँच्ने अवसर आपसमा दिनुपर्छ भन्ने देखिन्छ । आपसी समझदारी कायम गरी एकअर्काको समस्यालाई बुझेर पारस्परिक विश्वास बढाउँदै लैजानुपर्छ । त्यसैगरी आर्थिक, सामाजिक, सांस्कृतिक, वैज्ञानिक विकासमा जोड दिँदै सहयोग अभिवुद्धि गर्नु आजको आवश्यकता पनि हो । समान हितका विषयमा अन्य देशसँग मिलेर आपसी सहयोगलाई मजबुत बनाउँदै बहुपक्षीय चासोका विषयलाई जोडदार रूपमा उठाउँदै अगाडि बढ्नुपर्ने आवश्यकता देखिन्छ ।
सार्कको बडापत्रअनुसार यो संगठन राजनीतिक विवादवाट टाढा रहनुपर्छ । तर, व्यबहारमा भने आन्तरिक विवादकै कारणले पटक–पटक बैठक स्थगित भएका धेरै उदाहरण पाइन्छन् । कतिपय सन्दर्भमा राजनीति हाबी भएरै सम्बन्ध–विच्छेद भएको देखिन्छ । मूलतः भारत र पाकिस्तानबीचको आपसी सम्बन्ध नमीठो भइरहने समस्याले गर्दा नै पटक–पटक सार्कका विविध कार्यक्रमको निरन्तरतामा सुस्ती आएको देखिन्छ । यस्तै, हाल नेपाल र भारतबीच सीमा विवाद पुनः चर्चामा रहेको छ । हरेक हिसाबले भारत र नेपालको सम्बन्धलाई सुमधुर राख्नका लागि वार्ताबाटै पहल गर्नुपर्छ । यी दुई देशको सम्बन्ध छिमेकीको मात्र नभई विविध र बहुआयामिक रहेकाले पनि थप गम्भीर भएर सौहार्दपूर्ण वातावरण निर्माण गर्नुपर्ने देखिन्छ । यसै सन्दर्भमा नेपाल हाल सार्कको अध्यक्ष भएको नाताले तथा भारत तथा पाकिस्तान दुवैसँग राम्रो सम्बन्ध पनि भएकाले यसमा पहल गर्दै सार्कलाई चलायमान बनाउन लाग्नुपर्छ । साथै, सार्क सचिवालय काठमाडौंमा भएका कारण पनि नेपालको सक्रियता अत्यन्त आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्