व्यावसायिक एकता तथा साझा संस्था आजको माग «

व्यावसायिक एकता तथा साझा संस्था आजको माग

मंसिर ११ बाट काठमाडौँमा सुरु भएको नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभामा शनिबार निर्वाचन सम्पन्न भएको छ । आइतबार बिहानसम्ममा निर्वाचनको सम्पूर्ण परिणाम आउनेछ । महासंघको साधारणसभाभन्दा पनि यसपटक निर्वाचनमा रौनक बढेका तथा निर्वाचन संस्थाले भन्दा पनि उम्मेदवारका कारण भड्किलो बन्दै गएको, व्यवसायीका समस्याहरू, मुद्दाहरू उठान हुने नगरेको, सामान्य र साना व्यवसायीको पहुँच केन्द्र महासंघसम्म पुग्न नसकेको जस्ता समस्या जिल्लामा रहेका छन् । व्यवसायीहरू गुट–उपगुटमा विभक्त भएर अहिले निर्वाचनमा लागेका कारण व्यवसायीको मन फाटेको पनि यसपटक देखियो । महासंघको साधारणसभा, निर्वाचन तथा व्यावसायिक एकताका विषयमा कारोबारकर्मी मनोरञ्जन शर्माले सरोकारवाला व्यवसायीहरूसँग गरेको कुराकानीको सार :

महासंघमा उद्योग–व्यवसाय बुझेको व्यक्ति हुनुपर्छ
प्रेमराज शर्मा
सञ्चालक, सिद्धार्थ रेफ्रिजेरेसन, भैरहवा

अहिले उद्योगी–व्यवसायीहरूको आँखा काठमाडौंमा केन्द्रित छ । कसको समूहले निर्वाचनमा जित हासिल गर्छ भनेर अड्कलबाजी सुरु भएको धेरै भइसक्यो । साधारणसभा र निर्वाचनका लागि मतदान पनि शनिबार सम्पन्न भइसकेको छ । पछिल्लो समय महासंघको कुनै पनि पदमा निर्वाचित हुनुलाई सबैले प्रतिष्ठाको विषय बनाउने गरेका छन् । तर, आम उद्योगी–व्यवसायीको हकहितका लागि एकजुट भएर लाग्नुपर्नेमा मन नै फाटेजस्तो अनुभूति अहिले देखिएको छ । व्यवसायीहरू दुई कित्तामा बाँडिएका छन् । राजनीतिक पार्टीको जस्तो देखिएको छ महासंघको साधारणसभा र निर्वाचन । सुनिन्छ, मतदाताहरू खरिद–बिक्री पनि भए रे । साना, दुर्गम र आर्थिक अवस्था दुर्बल भएका जिल्ला–नगर उद्योग वाणिज्य संघहरूलाई आर्थिक प्रलोभनमा पारेर मतलाई प्रभावित पारिएको खबर मोफसलमा छ । यसले गर्दा जसले आर्थिक प्रलोभन दिएर मतदाताहरूलाई प्रभावित गरेको छ, त्यस्ता व्यवसायी उम्मेदवारले जितपछि व्यवसायी, उद्योगीको भन्दा पनि आफ्नो हकहित र आफू निकटहरूको मात्र काम गर्ने जस्तो देखिन्छ । त्यसैले उद्योगी–व्यापारीहरूको छाता संगठनका रूपमा रहेको उद्योग वाणिज्य महासंघमा राजनीतिक र पैसाको चलखेल हुनु हुँदैन । निजी क्षेत्रका तर्फबाट सरकारलाई आर्थिक क्षेत्रका बारेमा जानकारी गराउने मार्गदर्शन गर्ने संस्था हो– उद्योग वाणिज्य महासंघ भनेको । त्यसैले त्यहाँ पैसा खर्च गरेर निर्वाचन जित्नेभन्दा पनि नीति र दृष्टिकोण बुझेको, जिल्लाका ग्रामीण तहका साना–साना व्यवसायीदेखि ठूला–ठूला उद्योगी–व्यवसायीहरूको समस्यालाई सम्बोधन गरी समाधानतर्फ पहल गर्न सक्ने व्यवसायी नै नेतृत्वमा हुनुपर्ने हो । तर पैसाको चलखेल गर्ने, निर्वाचन जित्न भोजभतेर गर्ने, जिल्ला संघ, व्यवसायीलाई प्रभावित गर्ने जुन परम्परा, संस्कार अहिले पनि देखियो, यसले पक्कै पनि राम्रो सन्देश दिँदैन । मतदातालाई प्रभावित गर्ने काम हुनु हँुदैन । अर्कातर्फ यस प्रकार पैसाको रवाफ बढ्दै गयो भने पैसा खर्च गर्न नसक्ने निष्ठावान् व्यक्ति कहिले पनि नेतृत्वमा पुग्न सक्दैन, इमानदार व्यवसायीको पहुँच त्यहाँ हुन सक्दैन, इमानदारको आवाज पैसाले थिचिन्छ । उद्योग वाणिज्य महासंघ भनेको व्यावसायिक हकहितका लागि खुलेको संस्था हो । साना–ठूला सबै खाले व्यवसायीको हकहित हुने काम गर्नुपर्छ । अहिले कोरोना भाइरस संक्रमणका कारणले साना–ठूला सबै व्यवसायी धेरै मर्कामा छन् । राहत भन्ने कहींबाट छैन । बैंकको ब्याज, कर सबै तिनुपर्ने बाध्यता छ, कुनै एउटा समयसीमा तोकिनुपर्ने र त्यसका लागि पहल हुनुपर्ने थियो, सरकारबाट आश्वासन आयो तर त्यसमा निरन्तर फलोअप नहुँदा व्यवसायी अहिले दोहोरो मारमा छन् । अब आउने नेतृत्वले यस्ता कुरामा ध्यान देओस् । महासंघमा पैसावालको मात्र पहुँच होइन, इमानदार निष्ठावान् र उद्योग–व्यवसाय बुझेको व्यक्तिको पनि उपस्थिति हुनुपर्छ, अनि मात्र व्यवसायीहरू एकजुट हुन सक्छन् । नत्र जहिले पनि मन फाटेको फाट्यै हुन्छ ।

महासंघ सबैको साझा संस्था बन्न सक्नुपर्छ
भुवनप्रसाद नेपाल
मेटल व्यवसायी, भक्तपुर

उद्योगी–व्यवसायी भनेको देशका लागि आर्थिक मेरुदण्ड हुन् । उद्योगी–व्यवसायीको साझा संस्थाका रूपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको काठमाडौंमा जारी साधारणसभाको निर्वाचनले नयाँ नेतृत्व चयन गर्ने भएपछि अहिले ७७ जिल्लाकै सानाठूला सबै उद्योगी–व्यवसायीहरूको ध्यान काठमाडौंमा केन्द्रित छ । अझ निर्वाचनअघि गुट–उपगुट तथा व्यक्तिगत रूपमा मत माग्दै देशैभर हिँडेका र ठाउँठाउँमा कार्यक्रम गर्दै हिँडेकाले पनि व्यवसायीहरूको ध्यान केन्द्रित हुनु स्वाभाविकै हो । तर पछिल्लो केही वर्षदेखि उद्योग वाणिज्य महासंघको निर्वाचन साधारणसभा भड्किलो बन्दै गइरहेको छ । आफ्ना पक्ष, लबिका जिल्ला–नगरका पदाधिकारी सदस्यलाई नै काठमाडौं बोलाएर होटलमा मेजमान बनाइराख्ने, दिनहुँ भोजभतेर गराई मत तान्ने प्रयास, आर्थिक अवस्था कम भएका जिल्ला–नगरहरूलाई मत दिएमा भवन बनाइदिन्छु, सहयोग जुटाउँछु, केन्द्रमा मनोनीत गर्छ, विभिन्न उपसमितिमा राख्छु, वैदेशिक भ्रमणमा समावेश गराउँछु, विभिन्न कम्पनीको डिलर दिलाउँछु जस्ता आश्वासनले मत तान्ने प्रयास यो पटक पनि भयो, महासंघ भनेको उद्योगी–व्यवसायीको हकहितका लागि खुलेको संस्था हो । तर, अहिले पैसा, पहुँच हुनेहरूको महासंघ भएजस्तै छ । हामीजस्ता साना व्यवसायीहरूको पहुँच पुग्न सक्दैन । जबसम्म रुपैयाँ–पैसा निष्ठा, नीति र आदर्शमाथि हाबी रहन्छ त्यहाँ स्वच्छता आउन सक्दैन, अहिले महासंघ त्यस्तै भएको छ । व्यावसायिक एकता, समस्याको निराकरण, हल, समस्या खाली कागजी रूपमा मात्र हुने गरेको छ । अहिलेको आवश्यकता भनेको एकता हो । एक भएर लागेको भएर अहिले कोरोनाले खत्तम बनाएको व्यवसायलाई विभिन्न माध्यमबाट राहत दिलाउन महासंघले सक्थ्यो, तर हुन सकेन । सरकारले चारा फ्याँकेर एकाध रूपमा राहत दिएजस्तो ग-यो भने अर्कातिरबाट करलगायतका असुली समयमै गर्न बाध्य बनाई निचोर्नसम्म निचो-यो । अब बन्ने महासंघको नयाँ समितिले यस्ता कुरामा ध्यान देओस् । धेरै समस्यामा छौं हामी साना व्यवसायीहरू । बैंकले पनि ठूलाभन्दा साना व्यवसायीलाई बढी च्याप्छ । यस्तो बेलामा महासंघको आवश्यकता हुन्छ । तर, महासंघले खासै गरेजस्तो देखिएन । महासंघ आफैंमा गुट–उपगुटमा विभाजित छ । आफैंमा राजनीतिक भुमरीमा फसेको छ । एकले अर्काको अस्तित्व स्वीकार्दैनन् । साधारणसभा भड्किलो भइसकेको छ । पैसामा मतदाता खरिद हुने परम्परा अझै पनि छ । यो राम्रो कुरा होइन । पैसा खर्च गरेर निर्वाचन जित्नेले भविष्यमा विपक्षी जिल्ला–नगर संघ र उद्योगी–व्यवसायी वा फरक गुटका सदस्य प्रतिष्ठानमा समस्या आए के पहल गर्ला र ? त्यसैले यस्तो भड्किलो पैसा खर्च गरेर साधारणसभा गरिनु हुँदैन । एकदम तडकभडक बढिरहेको पाइयो । यसले व्यवसायीमाझ राम्रो सन्देश जाँदैन । अब आउने नयाँ नेतृत्वले यस्ता कुरामा ध्यान दिनुपर्छ । साधारणसभा सामान्य बनाउनुपर्छ, राम्रो सन्देश दिन सक्नुपर्छ र राष्ट्रलाई सल्लाह–सुझाव दिने, नीति बनाएर भिजन प्रस्ट भएकाहरूलाई निर्वाचित गर्नुपर्छ । राजनीति गर्ने स्थानका रूपमा विकसित गर्नु हुँदैन, जुन अहिले भएको छ । महासंघ सबैको साझा संस्था बन्न सक्नुपर्छ, नयाँ नेतृत्वले ध्यान देओस ।

निष्ठावान्, इमानदारलाई पाखा लगाउने काम भइरहेको छ
गोपाल ज्ञवाली
अध्यक्ष, रोडा–ढुंगा व्यवसायी संघ, बुटवल, रुपन्देही

अहिले उद्योग वाणिज्य महासंघ मात्र होइन, धेरै संस्थाहरू संस्थागतभन्दा पनि व्यक्तिगत हितमा लागेको पाइएको छ । संस्थामा पुग्नेहरू व्यक्तिगत हितमा लागेका छन् । सबै स्वार्थी भइसके । यो समस्याबाट उद्योग वाणिज्य महासंघ पनि अछुतो रहन सकेन । अहिले पैसा खर्च गरेर हुन्छ या कसको चाकडी गरेर हुन्छ, कसरी पदमा पुग्ने भन्ने मात्रै ध्याउन्न छ । उद्योगी–व्यवसायीहरूको समस्या समाधानका लागि पहल र मुद्दा उठान हुनै छोड्यो । हाम्रै रोडा–ढुंगा व्यवसाय बिजोग अवस्थामा छ, सडकमा आएको अवस्था छ, व्यवस्थितका लागि कहीं पहल हुँदैन । खालि कसरी पदमा पुग्ने, कुन नेताको चाकडी गर्ने, नेतामुखी हुने मात्रै ध्याउन्न भयो । कसरी उद्योगी–व्यवसायीको हकहितमा काम गर्ने भन्ने ध्याउन्न भएन । सबै नेतामुखी र पदका लोभी भए । कुन नेताको नजिक हुने र कसरी माथिल्लो पद या राजनीतिक फाइदा पाउने भन्नेतर्फ मात्रै ध्यान केन्द्रित हुँदा आमव्यवसायी अहिले निराश छन् । जसको कुनै उद्योग–व्यवसाय छैन, त्यस्ताले संस्था कब्जा गर्ने, अरूलाई नजिक पर्न नदिने, निष्ठावान्, इमानदारलाई पाखा लगाउने जस्ता काम भइरहेको छ र यसले निश्चय पनि राम्रो गर्दैन । एउटा गुट समाएर हिँडनुपर्ने बाध्यता छ । उद्योग–व्यवसायमा धेरै समस्या छन् । त्यो समस्याको पहलका लागि पनि एउटा गुटमा लाग्नु आवश्यक जस्तै भइसकेको छ, तर साना व्यवसायीहरू निराशावादी भइसकेका छन् ।
यस्तो कोरोनो संक्रमणका बेलामा महासंघको निर्वाचनमा सहमति जुटाइनुपथ्र्यो । तर हुन सकेन । महासंघको निर्वाचन भड्किलो भइरहेको छ । करोडौं खर्च उम्मेदवारबाटै हुन्छ । जसले भोट हाल्नुपर्ने हो ऊ मात्रै अहिलेको विषम परिस्थितिमा केन्द्रमा गएको भए राम्रो हुन्थ्यो, हूलै बाँधेर भीडभाड गराएर किन जानुपर्छ काठमाडौं । अर्को कुरा महासंघको सातवटै प्रदेशमा प्रादेशिक महासंघ छ । त्यहीं भोटिङको व्यवस्था गराएर उदाहरण प्रस्तुत गर्न सक्नुपथ्र्यो, तर त्यस्तो गरिएन । शक्ति प्रदर्शन गर्न खोजेजस्तै भयो । अहिलेको समयमा भड्किलोभन्दा पनि सामान्य रूपमा गरिनुगथ्र्यो । यसले राम्रो सन्देश गएन । व्यावसायिक हकहितभन्दा पनि अन्य मुद्दामा र कसरी पदमा पुग्ने भन्ने मात्रै देखियो । यस्तो प्रचलनको अन्त्य हुनुपर्छ र साना व्यवसायीको पनि महासंघको केन्द्रीय समितिमा उपस्थिति हुने, सामान्य व्यवसायीको समस्या पनि सुनिने वातावरण अब निर्वाचित नयाँ समितिले गरोस् । हाम्रा मुद्दाहरूको उठान होस् । महासंघले बाटो नबिराओस् । साझा संस्था बन्नुप¥यो । व्यावसायिक एकता अब हुनुप-यो । पूर्वअध्यक्षहरू एक भएर व्यावसायिक हकहितका लागि एक रहेको सन्देश काठमाडौंले दिनुप-यो । पूर्वअध्यक्षहरू उम्मेदवार बोकेर हिँडने नभई सहमति र सहकार्य गर्नमा जोड जहिले पनि दिनुपर्छ ।

अहिलेको आवश्यकता भनेको व्यावसायिक एकता हो
राम थापा
प्रबन्ध निर्देशक, बागमती खाडसारी चिनी मिल, पश्चिम नवलपरासी

अहिले देशैभरका उद्योगी–व्यवसायी चाहे त्यो सानो होस् या ठूलो होस्, सबैको ध्यान उद्योग वाणिज्य महासंघको काठमाडौंमा भइरहेको निर्वाचनमा केन्द्रित छ । शनिबार निर्वाचन पनि भएको छ । धेरै अघिदेखि नै गुट–उपगुट बनाई भोट माग्ने काम भइरहेको छ । प्रजातान्त्रिक पद्धतिमा निर्वाचनमा गुट–उपगुट, पक्ष–विपक्षलाई सामान्य रूपमा लिनुपर्छ । मैले व्यवसायीहरू गुट–उपगुटमा विभाजित हुनुलाई सामान्य रूपमा लिएको छु र विगतमा पनि यो हुँदै आएको थियो । तर, गुट–उपगुट भएर निर्वाचनसम्मै सीमित हुनुपर्छ । निर्वाचित भइसकेपछि पनि गुटबन्दी गर्नु भने कदापि राम्रो होइन । गुटबन्दी हुँदा मन विभाजन हुन्छ । यसले व्यावसायिक एकतामा अवरोध हुन्छ । अहिलेको आवश्यकता भनेको व्यावसायिक एकता हो । व्यावसायिक एकता हुन सकेन भने जताततै समस्यै समस्या आउछ, एउटाको समस्या अर्कोले नहेर्ने हुन्छ । आफैंमा एकजुट हुन सकिएन भने सरकारले हेर्ने दृष्टिकोण पनि फरक हुन्छ । त्यसैले उद्योग–व्यवसायको क्षेत्रमा राम्रो सन्देश दिनका लागि पनि व्यावसायिक एकता अहिलेको आवश्यकता हो । यो गुट–उपगुटको कथालाई निर्वाचनको परिणामपछि सबैले बिर्सनुपर्छ र निर्वाचितले पराजितको राय–सल्लाहलाई पनि अनुसरण गरी अघि बढ्नुपर्छ ।
झन् पछिल्लो समय महासंघको साधारणसभा भड्किलो भन्ने आरोप सर्वसाधारणले लगाउँदै आएका छन् । त्यस्ता भ्रमहरू चिर्नका लागि पनि अब महासंघ यो निर्वाचनपछि सबै तिक्तताहरू बिर्सेर एकजुट भई अघि बढ्नुपर्छ । उद्योग वाणिज्य महासंघ भनेको उद्योगी–व्यवसायीको हकहितका लागि खोलिएको संस्था हो । सिंगो काठमाडौं उपत्यकाको मात्रै महासंघ जस्तो भन्ने भान जुन बाहिर जिल्लामा हुन्छ त्यस्तो कुराबाट बाहिर आई देशैभरका व्यवसायीहरूको साझा संस्था र छाता संगठन बनाउनतर्फ लाग्नुपर्छ । मेरो गुटको व्यवसायी, मेरो गुटको पूर्वअध्यक्ष भन्ने जस्ता भावनाबाट बाहिर निस्केर इमानदारीपूर्वक अघि बढ्नुपर्छ । निष्ठावान, इमानदारीपूर्वक लामो समयदेखि व्यवसाय गर्दै आएकाहरूको पनि केन्द्रसम्म पहुँच पुग्ने र केन्द्रमा भूमिका हुने वा मनोनीत गर्दा त्यस्तालाई पनि स्थान दिइनुपर्छ । संघ भनेको रुपन्देहीको मर्चवार, नवलपरासीको सुस्तादेखि काठमाडौंको न्यूरोडसम्मका सबै खाले व्यवसायीको साझा संस्था बन्न सक्नुपर्छ । अब आउने नेतृत्वले यसमा ध्यान देओस ।

प्रतिक्रिया दिनुहोस्