महासंघमा मिश्रित परिणाम «

महासंघमा मिश्रित परिणाम

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा उम्मेदवारहरू प्यानल बनाएर प्रतिस्पर्धा गरे पनि नतिजा भने मिश्रित आएको छ ।
आइतबार बिहान तीन बजेसम्मको मत परिणामअनुसार उद्योग वाणिज्य (जिल्ला–नगर) समूह उपाध्यक्षमा दिनेश श्रेष्ठ र वस्तुगत समूहको उपाध्यक्षमा अञ्जन श्रेष्ठ विजयी भएका छन् । यस्तै, एशोसिएटतर्फ उपाध्यक्षमा रामचन्द्र संघई विजयी भएका छन् । श्रेष्ठद्वय वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान प्यानलका हुन् भने संघई चन्द्र ढकाल प्यानलका हुन् ।
महासंघमा उद्योग वाणिज्य उपाध्यक्षमा निर्वाचित श्रेष्ठले प्रतिस्पर्धी गुणनिधि तिवारीभन्दा ११ मत बढी ल्याएर विजयी भएका छन् । श्रेष्ठले ५८ मत पाए भने तिवारीले ४७ मतमात्र पाए । महासंघको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ भारी मतान्तरले विजयी भएका छन् । श्रेष्ठले प्रतिस्पर्धी उमेशलाल श्रेष्ठभन्दा २५ मत बढी ल्याए । अञ्जन श्रेष्ठले ६२ मत प्राप्त गर्दा उमेशलाल भने ३७ मतमा खुम्चिए ।
एशोसिएट उपाध्यक्ष संघई प्रतिस्पर्धी सौरभ ज्योतिभन्दा २० मत बढी ल्याएर विजयी भएका छन् । कुल ८९० मत खसेकोमा संघईले ४५५ मत ल्याए भने ज्योतिले ४३४ मत पाएका छन् ।
कार्यकारिणी समितिमा भने दुवै प्यानलबाट मिश्रित परिणाम देखिएको छ । वस्तुगतका १४ सदस्यमध्ये दुवै प्यानलमा आधा–आधा सदस्य निर्वाचित भए भने जिल्लानगरमा प्रधान समूहको वर्चश्व रह्यो ।एशोसिएटतर्फ सदस्यको मतगणना भने बिहान ३ बजेसम्म जारी छ ।

निर्वाचनमा शतप्रतिशत मतदान
नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनमा शतप्रतिशत मतदान भएको थियो । कोरोना संकटका कारण महासंघको साधारणसभा भर्चुअल माध्यमबाट गरिए पनि निर्वाचनमा भने व्यवसायीहरूको शतप्रतिशत सहभागिता रह्यो । शनिबार विहान ८ बजेबाट सुरु भएको मतदान चार बजे सकिँदा उद्योग–वाणिज्य (जिल्लानगर), वस्तुगत तथा एशोसिएट तीनवटै क्षेत्रमा शतप्रतिशत मतदाताले सहभागिता जनाएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रकेशरी न्यौपानले जानकारी दिए ।
महासंघको निर्वाचनमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघबाट १०५, एशोसिएट सदस्यहरू ९०४ तथा वस्तुगत संघका १०१ प्रतिनिधिले मताधिकार प्रयोग गरेका हुन् । जिल्ला तथा नगर उद्योग वाणिज्य संघका प्रतिनिधिका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, एशोसिएट प्रतिनिधिलाई कार्की ब्यांक्वेट बबरमहल तथा वस्तुगत संघका सदस्यहरूका निमित्त महासंघ सचिवालय टेकुमा मतदान गर्ने व्यवस्था मिलाइएको थियो । मतदान सकिएलगत्तै सम्बन्धित निर्वाचन अधिकृत र उम्मेदवारको रोहवरमा मतपेटिका शिलबन्दी गरी नेपाल प्रज्ञा प्रतिष्ठानमा कमलादी लगिएको थियो । मतगणना पनि प्रज्ञा प्रतिष्ठानमै भएको छ ।
महासंघमा निर्वाचनअगावै प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल कार्यकारिणी समितिमा निर्विरोध निर्वाचित भइसकेका छन् । यस्तै, निर्वाचनको पहिलो परिणामअनुसार संस्थापक सदस्यहरू मध्येबाट पोखरा उद्योग वाणिज्य संघका दामु अधिकारी निर्वाचित भए । राउत, अग्रवाल तथा अधिकारी वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहका हुन् ।
दिनभर भएको निर्वाचनमा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता तान्न व्यस्त देखिन्थे । कोभिडको परवाह नगरी निर्वाचनस्थलमा उम्मेदवार, मतदाता तथा समर्थक र प्रचारकहरू जम्मा भएका थिए । महासंघ अध्यक्ष भवानी राणाले जटिल परिस्थितीमा आफ्नो टिमले साथ दिएकोले निजी क्षेत्रलाई एकढिक्का बनाएर अगाडी बढाउन सकेको बताइन । उनले महासंघको अब आउने नेतृत्वले पनि सफल रुपमा काम गर्ने अपेक्षा गरेकी छिन् । उनले तीनवटै बुथमा पुगेर निर्वाचनको अवलोकन गरेकी थिइन् भने वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा पनि विभिन्न वुथमा पुगेका थिए । राणा र गोल्छाले एशोसिएटतर्फ मतदान गरे भने वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले पनि एशोसिएटतर्फ मतदान गरे । निवर्तमान अध्यक्ष पशुपति मुरारका पनि एशोसिएट निर्वाचनमा सक्रिय रहेका थिए ।
वस्तुगत उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठले पनि एशोसिएटतर्फ नै मतदान गरे भने एशोसिएट उपाध्यक्षका उम्मेदवारद्वय सौरभ ज्योति र रामचन्द्र संघईले पनि एशोसिएटबाटै मतदान गरे । वस्तुगत उपाध्यक्षका दुवै उम्मेदवार अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठले मतदान अधिकार नभएका कारण आफैंलाई मतदान गर्न पाएनन् भने जिल्लानगर उपाध्यक्षका उम्मेदवारमध्ये दिनेश श्रेष्ठ उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्षसमेत भएकाले मताधिकारको प्रयोग गरेका छन् ।
महासंघमा जिल्लानगरको मतभार ५० प्रतिशत रहेको छ भने एशोसिएट समूहको ३० प्रतिशत तथा वस्तुगत समूहको २० प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्