आर्थिक विकास नै नेपाल–भारत सम्बन्धको मुख्य आधार «

आर्थिक विकास नै नेपाल–भारत सम्बन्धको मुख्य आधार


नेपाल र भारत आर्थिक रूपमा एकअर्कासँग निर्भर रहेको र यसलाई अझै सुदृढ गराउँदै लैजानुपर्ने पक्षमा भारत रहेको पाइएको छ । भारतले विकास सहायता, थप मजबुत कनेक्टिभिटी, वृहत पूर्वाधार तथा आर्थिक परियोजनाहरुलाई नेपाल–भारत सम्बन्धको प्रमुख चार खम्बाका रूपमा ब्याख्या गरेको छ । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाका अनुसार नेपाल र भारतबीचको सम्बन्धका चारवटा खम्बाको रूपमा रहेका निश्चित क्षेत्रहरुलाई विशेष प्राथमिकता दिनुपर्दछ ।
काठमाडौंमा ‘द एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसन अफेयर्स (आईडीआईए)द्वारा शुक्रबार आयोजित प्रवचनमा भारतीय विदेश सचिवले विकास सहायता, अझ मजबुत कनेक्टिभिटी, वृहत पूर्वाधार तथा आर्थिक परियोजनाहरु नेपाल भारत सम्बन्धका प्रमुख खम्बाका रूपमा ब्याख्या गरेका हुन् । उनले उल्लेख गरेका चारवटै खम्बा नेपालको आर्थिक विकाससँग जोडिएको छ । उनले नेपालको युवापुस्तालाई भारतमा उपलब्ध शिक्षाका अवसरमा सहज र थप पहुँच पनि नेपाल भारत सम्बन्धको आधार रहेको बताए । उनले भारतले नेपालमा आफ्ना कार्यक्रमहरु चयन गर्दा नेपालको प्राथमिकताका आधारमा काम गर्ने पनि स्पष्ट पारे ।
विदेश सचिव भएपछि नेपालको पहिलो दुई दिने भ्रमणमा बिहीबार काठमाडौं आएका उनले नेपाल र भारत दुवै देशका नयाँ पुस्ताको आकांक्षा अनुसार डिजिटल टेक्नोलोजीमा पछिल्ला वर्षमा विकासलाई आत्मसात गर्दै दुईपक्षीय सहकार्यलाई विकास गर्दै लैजानुपर्ने धारणा राखे । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ६ वर्षपहिले प्रधानमन्त्रीको रूपमा गरेको पहिलो नेपाल भ्रमणपछि नेपाल भारतबीच बिभिन्न तहका बैठक र संयन्त्रहरु नियमित र थप क्रियाशिल भएको बताउँदै उनले नेपाल र भारतबीच रहेको जनस्तरको सम्बन्ध र आपसी हितलाई मध्यनजर गरेर द्विपक्षीय सहायता तथा सहकार्यलाई अघि बढाइने बताए । भारतीय विदेश सचिव श्रृंगलाले नेपाल–भारत सम्बन्ध दुवै देशका जनताको हितमा रहेको भन्दै दुवै देश आफ्ना भावी पुस्ताप्रति जवाफदेही हुनुपर्ने पनि बताए । “हामीले हाम्रा युवाहरूको आकांक्षालाई पूरा गर्न आवश्यक छ,” उनले भने । भारत नेपालको हरेक सुख दुखमा पहिलो सहयात्री भन्दै उनले २०१५को गोर्खा महाभूकम्पपछि नेपाललाइृ सहयोग घाषणा गर्ने पहिलो राष्ट्र भारत भएको तथा भारतका विभिन्न कम्पनी कोरोनाको खोप उत्पादनमा लागिरहेको र श्रृंगलाले खोप बजारमा आउने अवस्थामा पनि नेपाल प्राथमिकतामा पने बताए । “नेपालमा भूकम्प जाँदा होस् या कोरोना संक्रमणका बेला, भारतले नेपाललाई सक्दो सहयोग गरेको छ,” उनले भने ।
बिहीबार नै एक छुट्टै समारोहमा भारतीय विदेश सचिव श्रृंगलाले परराष्ट्रमन्त्री ज्ञवालीलाई कोरोना संक्रमित बिरामीको उपचारका लागि २००० थान रेम्डेसिभिर इन्जेक्सन हस्तान्तरण गरेका थिए । भारत सरकारले गत अप्रिल महिनादेखि नै कोभिड—१९ विरुद्व लड्न आवश्यक औषधी, उपकरण तथा क्षमता विकासमा नेपाललाई सहयोग पु-याइरहेको छ । अहिलेको सहयोग पनि त्यसकै निरन्तरता हो । कोभिड—१९ सम्बन्धी हर सहयोग पु-याउन नेपाललाई भारतको निरन्तर साथ रहने कुराको आश्वासन पनि उनले दिए ।
यस्तै, नेपालको जलविद्युत् दक्षिण एसियामै क्लिन इनर्जीका लागि गेम चेन्जर हुने भन्दै भारतीय विदेस सचिवले यसले नेपालको अर्थतन्त्रलाई बलियो बनाउने पनि प्रवचनका क्रममा बताए । बिहीबार उनले काठमाडौ आएका श्रृंगलाले दुई दिने भ्रमणमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शिष्टाचार भेट गर्नुका साथै आफ्ना समकक्षी परराष्ट्रसचिव भरतराज पौड्यालसँग द्विपक्षीय वार्ता गरेका थिए । बैठकमा दुई परराष्ट्र सचिवले दुई देशबीचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षका बारेमा छलफल एवम् समीक्षा गरेका थिए । साथै, उनीहरुले महामारीले निम्त्याएको विषम परिस्थितिको बाबजुद सहकार्यको विविध क्षेत्रमा भएका उल्लेखनीय प्रगतिमा सन्तुष्टि व्यक्त गरेका थिए । यस अवधिमा सीमामा व्यापार र वाणिज्यको सहज र निर्बाध गतिविधि तथा विकास परियोजनाहरूको सक्रिय कार्यान्वयन सुनिश्चित गर्न भारत सरकारले खेलेको भूमिकाको नेपाली पक्षले सराहना ग-यो ।

प्रतिक्रिया दिनुहोस्