दुई महिनामै ७० लाख बढी राजश्व संकलन «

दुई महिनामै ७० लाख बढी राजश्व संकलन

लमजुङमा यातायात सेवा सुरु भएको दुई महिनामै ७० लाख बढि रुपैयाँ राजश्व संकलन भएको छ । गत असोजको पहिलो सातादेखि सुरु भएको यातायात सेवा प्रवाहबाट दुई महिनाको अवधीमा ७१ लाख ८८ हजार ३ सय ५० रुपैयाँ राजश्व संकलन भएको हो ।
जिल्लास्थित पूर्वाधार विकास कार्यालयमार्फत असोजको ४ गतेबाट यातायात सम्वन्धी सेवा प्रवाह सुरु भएको हो । विलबुक नविकरण, यातायात रुट परमिट, नविकरण तथा पटके सँकलन सेवाबाट सो रकम राजश्व संकलन भएको पूर्वाधार विकास कार्यालय यातायात शाखाका कर्मचारी सशिन्द्र न्यौपानेले बताए ।
कार्यालयका अनुसार दुई महिनाको अवधीमा ६ सय ५९ वटा सवारी नवीकरण भएको पाईएको छ । असोज महिनामा मात्रै ४ सय १९ र कार्तिक महिनामा २ सय ४० सवारी साधन नविकरण भएको पाईएको छ । असोज महिनामा मात्रै ४४ लाख ८५ हजार ६ सय १७ रुपैयाँ राजश्व संकलन भएको थियो भने कात्तिक महिनामा २७ लाख २ हजार ७ सय ३३ रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
नविकरण भएका सवारीहरुमा सवैभन्दा धेरै मोटरसाइकल छन् । कार्यालयका अनुसार दुई महिनाको अवधीमा पाँचसय १५ मोटरसाईकल तथा स्कुटर नविकरण भएको पाइएको छ । सो बाहेक दुई महिनाको अवधीमा ३९ ट्याँक्टर, ७३ वटा जिप तथा कार, २१ वटा बस, ६ वटा ट्रक तथा ट्रिपर, एउटा एक्साभेटर र एक÷एक वटा सरकारी जिप र एम्वुलेन्स नविकरण भएको पाइएको छ । यस्तैगरी कार्यालयबाट दुई महिनाको अवधीमा ३३ वटा जाँचपास र ३० वटा रुट प्रमिट सेवा दिएको पनि पाइएको छ ।
कार्यालयमा मसिर लागेसँगै पछिल्लो बुधबार सम्मको अवधीमा छुट्टै १५ लाख ३७ हजार ९२ रुपैयाँ राजश्व संकलन भएको छ । मंसिर महिनाको ११ दिनको अवधीमा ९० सवारी नवीकरण गर्दा ७० वटा मोटरसाइकल तथा स्कुटर नविकरण भएका छन् । मंसिरको पहिलो साताभित्र कार्यालयबाट तीनवटा जाँचपास र एउटा रुट परमिट सम्वन्धी सेवा प्रवाह भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
गण्डकी प्रदेश सरकारले यातायात कार्यालयबाट हुने सेवा प्रवाहका लागि लमजुङसहित तिन जिल्लामा सेवा विस्तार गरेसँगै जिल्लाबाटै सेवा प्रवाह शुरु भएको हो । सेवा विस्तार भएसँगै जिल्लाबासीले विलबुक नवीकरणसहित रुट परमिट, नविकरण, सवारी करलगायतका काम जिल्लाबाट नै गर्न पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्