उपप्रमुख कोसेली कार्यक्रमबाट सयजना प्रसूति महिलाले कोसेली पाए «

उपप्रमुख कोसेली कार्यक्रमबाट सयजना प्रसूति महिलाले कोसेली पाए

जीवन कैला
बाजुरा-
बाजुराको बुढीनन्दा नगरपालिकाले यस वर्षका लागि तय गरेको उपप्रमुख कोसेली कार्यक्रमबाट १ सय जना प्रसूति महिलालाई कोसेली वितरण गरेको छ । बुढीनन्दा नगरपालिकाका उपप्रमुख श्रृष्टि रेग्मीको आयोजनामा सुरुवता भएको उपप्रमुख कोसेली कार्यक्रमबाट नगरपालिकाका गर्भवती तथा सुत्केरी महिलाहरूले सो कोसेली पाएका हुन । बुढीनन्दा नगरपालिका भित्रका सुत्केरी तथा गर्भवति महिलाहरूको सरसफाइ तथा पोषणमा सुधार ल्याउने उद्देश्यले लागू गरिएको कार्यक्रमबाट नगरपालिका भित्रका दशवटै वडाका सुत्केरी महिलाहरूले स्वास्थ्य संस्थामा सुत्केरी गराए वापत उपप्रमुख कोसेली दिने गरेको नगरपालिकाका सूचना अधिकारी गोकर्णराज रेग्मीले जानकारी दिए ।
स्वास्थ्य संस्थामा सुत्केरी तथा गर्भवती महिलाहरूको पहँच पुर्याउने उद्देश्यले नगरपालिकाकाले यस वर्षका लागि सो कार्यक्रम तय गरेको नगरपालिकाका उपप्रमुख श्रृष्टि रेग्मीले बताए । बाजुरामा कतिपय महिलाहरू स्वास्थ्य संस्थामा पुग्न नसकि सोडेनीमार्फत घरमै सुत्केरी गराउँदा अकालमा ज्यान जाने प्रवृत्ति नहोस् र महिलाहरू सहज ढगंले स्वास्थ्य संस्थामा पुगुन भन्ने उद्देश्यले आफूले जिल्लामा पहिलो पटक सो कार्यक्रम सञ्चालन गरेको बताइन् । नगरकार्यपालिकाको निर्णयअनुसार पहिलोपल्ट आफ्नो नगरपालिकाबाट सो कार्य सुरुवात भएको बताउँदै उनले बाजुराका सवै स्थानीय तहले यस्ता कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गरिन् ।
यसले गर्दा स्वास्थ्य संस्थामा प्रसूति हुन आउने आमा र बच्चा दुवैको ज्यान जोखिम हुनबाट बच्ने र सरक्षित गर्भपतनले शिशु मृत्युदरमा पनि कमि आउने विश्वास गरिएको उनले जनाइन् । गत असोज १ गते नगरपालिकाका नगरउपप्रमुख सृष्ट्रि रेग्मीले वडा नं ३ की शीतलपुरा विकका आफन्तलाई उपप्रमुखका तर्फबाट प्रदान गरिएको कोेसेली हस्तान्तरण गरे संगै सो कार्यक्रमको सुरुवात भएको हो । यो कार्यक्रम गत आर्थिक वर्षमा तय भएको भए पनि विभिन्न कारणले सुचारु गर्न नसकेको र यो बर्ष विभिन्न चुनौतीका बाबजुत यो कार्यक्रमको सुरुवात गरिएको नगरउपप्रमुख रेग्मीले बताइन् ।
बाजुराका ग्रामीण क्षेत्रका गर्भवती महिलाहरूलाई बढी समस्या हुने गरेको, हवाई उद्धार गर्नुपर्ने परिस्थिति पनि आउने भएकाले यस नगरपालिकाका प्राथमिक स्वास्थ्य केन्द्रसहित स्वास्थ्य चौकीहरूले रिफर गरेका गर्भवती महिलाहरूलाई कोसेली कार्यक्रमबाट भाडा खर्च स्वरूप २० हजार रुपैयाँ पनि उपलब्ध गराउने निर्णय भएको जानकारी दिइन् । नरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा प्रसूति हुन आएका महिलालाई उप्रमुख कोसेलीअन्तर्गत २५० ग्राम ज्वानो, १ पाकेट आयोडि युक्त नुन, २ चक्की लुगा धुने साबुन, एक चक्की नुहाउने सावुन र १ क्यारेट अन्डा प्रदान गर्ने गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले कोसेलीअन्तर्गत पोसिलोका लागि ज्वानोको झोल, सरसफाइका लागि साबुन र पोषणका लागि अण्डा वितरण गर्ने गरेको छ ।
गत असोज १ गतेदेखि सञ्चालन भएको सो कार्यक्रमबाट अहिले सम्म नगरपालिकाका सय महिलाले सो कोसेली पाएका उपप्रमुख कोसेली कार्यक्रमको जिम्मा पाएको प्रतिक्षा सप्लायर्स कोल्टीले जनाएको छ । करिब अढाई महिनाको अवधिमा प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीको पीयसीबाट ९३ जना, पाण्डुसैन स्वास्थ्य चौकिबाट १४ जना गरी सो संख्यामा महिलाहरूले कोसेली प्रदान गरेको सञ्चालक प्रदिपराज जोशीले जानकारी दिए ।
कुन स्वास्थ्य चौकिमा डेलिभरी भएका हुन स्वास्थ्य चौकिको माग अनुसार कोसेली पुर्याइदिने ब्यवस्था गरेको पनि उनले थपे । उपप्रमुख कोसेली कार्यक्रमबाट भने बुढीनन्दा नगरपालिका भित्रका महिलाहरू मात्र लाभान्वित हुने भएका छन् । अन्य जुनसुकै ठाउँबाट स्वास्थ्य संस्थामा सुत्केरी हुन आएका महिलाहरूका लागि भने सो कोसेली वितरण नगरिने जनाइएको छ । अहिले नगरपालिकाले बुढीनन्दा नगरपालिका भित्र बसोवास गरिरहेका अर्थात विभिन्न पेशा ब्यवसायमा संलग्न भएका महिलाका लागि मात्र उपप्रमुख कोसेली प्रदान गर्ने गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्