दुर्गमका सात स्थानमा बर्थिङ सेन्टर «

दुर्गमका सात स्थानमा बर्थिङ सेन्टर

त्रिलोचन रिजाल
बागलुङ
-जिल्लाको दुर्गम मानिने क्षेत्रका गर्भवती महिलाको स्वास्थ्य सुरक्षालाई लक्षित गरेर विभिन्न सात स्थानमा बर्थिङ सेन्टर स्थापना गरिएको छ । सहज स्वास्थ्य सेवाको पहुच अभावमा गर्भवती महिला र नवजात शिशुले कष्ठ ब्यहोर्न नपरोस भनेर बर्थिङ सेन्टरको स्थापना गरिएका हो ।
परम्परागत रुपमा घरमै सुत्केरी हुँदा आइपर्ने समस्याबाट जोगाई आमा र शिशुको स्वास्थ्य सुरक्षाको आभाष दिलाउन बर्थिङ सेन्टर स्थापना गरेको बताईएको छ । बर्थिङ सेन्टरको अभाव झेलिरहेका स्थानिय तह संगको समन्वयमा स्वास्थ्य क्षेत्रमा क्रियासिल फेयरमेड र बिवाईसी बागलुङले साझेदारी गरेका हुन । ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सामुदायिक स्वास्थ्य इकाई ढोरपाटन, ढोरपाटन नगरपालिका–४ खुंगा लुकुरवन सामुदायिक स्वास्थ्य इकाई, निसीखोला गाउँपालिका–५ स्थित निसी सामुदायिक स्वास्थ्य इकाई, तमानखोला गाउँपालिका–५ स्थित खुङ्खानी स्वास्थ्य चौकी, तमानखोला गाउँपालिका–७ स्थित नर्जाखानी सामुदायिक स्वास्थ्य इकाई, बडिगाड गाउँपालिका–१० सिसाखानी स्वास्थ्य चौकी र बरेङ गाउँपालिका–१ धुल्लुबाँस्कोट स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना गरिएको छ । जसमध्ये बरेङको धुल्लुबाँस्कोट र बडिगाडको शिसाखानीमा बर्थिङ सेन्टरको औपचारिक शुरुवात हुन बाँकी छ ।
बागलुङमा साढे दुई वर्ष अघिदेखि ग्रामिण स्वास्थ्य सुधार परियोजना सञ्चालित छ । जसअन्तर्गत ७ वटा बर्थिङ सेन्टर स्थापना, आवश्यक उपकरण सहयोग गरिएको जना व्यवस्थापक गणेश बरुवालले बताए । ‘परियोजना संचालन पश्चात गर्भवती महिला र नवजात शिशुको स्वास्थ्य सेवामा सहज पहुँच पुगेको छ’ बरुवालले भने, ‘सेवालाई भरपर्दाे र अन्याधुनिक बनाउने दिसामा लागी परेका छौं ।’ दुर्गम गाउँमाहरूमा गुणस्तरिय स्वास्थ्य सेवाको पहँुच नहुँदा घरमै सुत्केरी हुनुपर्ने अवस्था थियो । कतिपय महिलाहरू सुत्केरी सुरक्षित रुपमा सुत्केरी हुन अस्पताल पुग्दै गर्दा दुर्घटनासमेत हुन गरेको बरुवालले बताए । पालिकाले सञ्चालन गर्ने गरी परियोजनामार्फत बर्थिङ सेन्टर स्थापना तथा उपकरण सहयोग गर्ने गरेको उनले बताए ।
गुणस्तरिय स्वस्थ्य सेवा अभावक कारण पिरोलिइरहेका स्थानिय तहहरूले परियोजना सञ्चालनपश्चात् राहत महसुर गरेका छन् । ‘समस्या विकराल थिए, पालिका एक्लैले गर्नसक्ने अवस्था थिएन’ तमानखोला गाउपालीका अध्यक्ष जोकलाल बूढाले भने, ‘परियोजना सञ्चालन पश्चात् हाम्रो उद्देश्य र अभियानमा धेरै सहयोग मिलेको छ ।’ सीमित स्रोत साधनमन विच स्थानीयका चौतर्फी माग सम्बोधन गर्नुपर्ने बाध्यता स्थानीय तहलाई छ । परियोजनाअन्तर्गत स्वास्थ्य संस्थामा उपकरण, पूर्वाधार, बर्थिङ सेन्टर स्थापना तथा प्रयोगशाला स्थापनादेखि नागरिकलाई स्वास्थ्य सचेतना फैलाउने काम भइरहेको छ ।
गर्भवतीलाई सुरक्षित प्रसूति सेवा दिनका लागि परियोजनाले बर्थिङ सेन्टर स्थापना, स्तरवृद्धि तथा उपकरण सहयोग गर्दै आएको छ भने स्थानीय तहले आवश्यक भौतिक संरचना निर्माण स्तरोन्नति र तालिम प्राप्त स्वास्थ्यकर्मी राख्दै आएको छ । परियोजनाको सहयोगमा बर्थिङ सेन्टर स्थापनापछि निकै सहज भएको स्थानीय बताउँछन् । परियोजनाले प्रत्येक बर्थिङ सेन्टरमा झण्डै दुई लाख ५० हजार बराबरको डेलिभरी बेडसहित ६७ प्रकारका उपकरण सहयोग गरेको आएको परियोजना व्यवस्थापक बरुवालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्