लमजुङमा विपद् राहतमा ३३ लाख बढी खर्च «

लमजुङमा विपद् राहतमा ३३ लाख बढी खर्च


लमजुङमा वैशाखयता विभिन्न समयमा भएको प्राकृतिक प्रकोपबाट प्रभावित भएका व्यक्ति तथा परिवारका लागि ३३ लाख बढी राहत रकम वितरण भएको छ । जिल्लाको विभिन्न स्थानीय तहमा चट्याङ, बाढी र पहिरोबाट प्रभावित भएका घर परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिले नगद राहात वितरण गरेको जनाएको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार चट्याङ, बाढी र पहिरोबाट धनजनको क्षति भएका सयभन्दा बढी घर परिवारलाई ३३ लाख २ हजार रुपैयाँ राहात वितरण भएको हो । नेपाल सरकार र गण्डकी प्रदेश सरकारबाट प्राप्त रकम विपद व्यवस्थापन समितिमार्फत पीडितहरूलाई प्रदान गरिएको समितिले जनाएको छ ।
विपद्को घटनाबाट वैशाखयता ज्यान गुमाएका जिल्लाका चार जना व्यक्तिको परिवारलाई संघीय सरकारको विपद कोषबाट पाँच लाख र प्रदेश सरकारको विपद कोषबाट २ लाख गरी ७ लाख रुपैयाँ वितरण भएको छ । योसँगै विपदबाट क्षति भएका विषयमा स्थलगत अनुगमनपश्चात २ सय २० घरपरिवारलाई संघिय सरकारको विपद् कोषबाट ३० लाख ८९ हजार पाँचसय र प्रदेश विपद् कोषबाट ३२ परिवारलाई २ लाख १२ हजार पाँचसय रुपैया नगद राहत वितरण भएको विपद् व्यवस्थापन समितिले जनाएको छ ।
समितिले सोही समयमा बाढी पहिरोका कारण विस्थापित २ सय ५३ परिवारलाई खाद्यान्न तथा ६९ परिवारलाई गैर खाद्यान्न सामाग्री पनि वितरण गरेको जनाएको छ । समितिको तथ्याँकअनुसार जिल्लामा वैशाखयता विपदबाट चारजनाको ज्यान गएको छ भने १७ जना घाइते भएको पाइएको छ ।
तथ्याँक अनुसार सोहि अवधीमा विपदबाट जिल्लाका विभिन्न स्थानिय तहमा गरी २ सय ६२ पशु चौपाय मरेका छन् भने ७५ घाइते र ७२ बेपत्ता भएको पाइएको छ । यसैगरी जिल्लामा २ सय १० निजी घरमा क्षती पुगेको पाईएको छ, एकसय ४१ घर परिवार विस्थापित भएका छन भने तिनसय ३६ घर जोखिमयुक्त रहेको तथ्यांकले देखाएको छ ।
त्यस्तैगरी जिल्लामा ६४ वटा निजी गोठमा क्षती, ३८ गोठ विस्थापित र १ सय ६ गोठ जोखिममा रहेको तथ्यांकमा उल्लेख गरिएको छ । विपदको कारण जिल्लाका दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने ११ जनाको खेतबारी मा क्षति पुगेको तथ्याँकमा उल्लेख गरिएको छ ।
प्राकृतिक प्रकोपबाट फरक फरक समयमा क्षति पुगेका घर परिवारलाई तत्कालै राहात वितरण गरिएपनि वितरण गरिएको राहातका विषयमा सोमबार बसेको जिल्ला विपद व्यवस्थापन समितिले अनुमोदन गरेको हो । विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले वितरण भएको राहात अनुमोदन सँगै जोखिममा रहेका घर स्थानान्तरण तथा पुनर्निर्माणका लागि नेपाल सरकार र गण्डकी प्रदेश सरकार समक्ष सिफारिससमेत गरेको छ ।
जिल्लामा विपद्का कारणले क्षति भएका तथा जोखिममा परेका विभिन्न स्थानित तहका २ सय ६८ घर परिवारको स्थानान्तरण एवं पुनर्निर्माणको लागि नेपाल सरकार र गण्डकी प्रदेश सरकारमा सिफारिस गरिएको छ । समितिका अनुसार मध्यनेपाल नगरपालिका अन्तर्गत सवैभन्दा धेरै ७४ घर स्थानान्तरण एवं पुनर्निर्माणका लागि सिफारिस भएका छन् ।
सो बाहेक मस्र्याङ्दी गाउँपालिकाका ७१, राइनास नगरपालिकाका ४८, दोर्दी गाउँपालिकाका ४५, सुन्दरवजार नगरपालिकाका २९, क्होलासोँथार गाउँपालिकाका १२, दुधपोखरी गाउँपालिकाको ६ र बेसीशहर नगरपालिकाको एक घर स्थानान्तरण एवं पुनर्निर्माणका लागि सिफारिस भएका छन् ।
जिल्लाका साँसद एवं स्थानिय तहका प्रमूखहरूको उपस्थितिमा भएको बैठकले मस्र्याङदी–३ अर्खले, मस्र्याङदी–४ कालाघिरिङ, मस्र्याङ्दी–५ उपल्लो चिप्ला, मस्र्याङ्दी–८ भंगेरी, मस्र्याङ्दी–२ को घनपोखरा भाँचेमा मानव बस्तीहरूमा पहिरोको कारण बाट क्षती पुगेकोमा सो ठाउँमा मानवीय बस्ती बस्न उचित हुने नहुने विषयमा भौगर्भिक अध्ययनका लागि सम्बन्धित निकायमा सिफारिस पठाउनेसमेत निर्णय गरेको छ ।
जिल्लामा वैशाखयता बाढी र पहिरोका कारण ठूलो संख्यामा मानविय क्षति नभए पनि अत्याधिक भौतिक क्षति भएको छ । बाढी र पहिरोका कारण क्षती भएका घर परिवारलाई स्थानीय तह र प्रहरी प्रतिवेदनको आधारमा राहात उपलब्ध गराइएको समितिले जनाएको छ । समितिले विपदबाट पूर्ण क्षति भएका घर परिवारलाई नगद २० हजार र आँशीक क्षती भएकाहरूलाई क्षतिको आधारमा सोभन्दा कम रकम उपलब्ध गराएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्