लक्ष्य भन्दा ३५% बढी राजस्व संकलन «

लक्ष्य भन्दा ३५% बढी राजस्व संकलन

धनगढी– जिल्ला भन्सार कार्यालय कैलालीले लक्ष्य भन्दा ३५ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।
आर्थिक वर्ष २०७७-०७८ को पहिलो चौमासिकमा १३५ प्रतिशत राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ । सो चौमासिकमा दुई अर्ब लाख ४९ करोड ४५ लाख ८१ हजार रुपैयाँ लक्ष्य निर्धारण भएकोमा दुई अर्ब ७६ करोड ७७ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गरेको जिल्ला भन्सार कार्यालय कैलालीका अधिकृत यज्ञराज जोशीले बताए ।
यस वर्ष साउनमा लक्ष्य भन्दा १९ प्रतिशत बढी राजस्व संकलन भएको कार्यालयले जनाएको छ । भदौमा लक्ष्य भन्दा ११ प्रतिशत बढी, असोजमा लक्ष्य भन्दा ७ प्रतिशत बढी र कात्तिकमा लक्ष्य भन्दा ८ प्रतिशत बढी राजस्व संकलन भएको भन्सार अधिकृत जोशीले बताए ।
असारमा लकडाउन खुलेपछि भारतबाट मालसामानको आयात बढेकाले लक्ष्य भन्दा बढी राजस्व पनि संकलन भएको हो । भन्सार अधिकृत जोशीले लकडाउनपछि पेट्रोलियम पदार्थ, खाद्य वस्तु, मेसिनरीलगायतका मालसामानहरूको आयात बढेको जनाए । उनले यही हाराहारीमा राजस्व संकलन भएमा वार्षिक लक्ष्य भन्दा बढी राजस्व संकलन हुने जनाए ।
चालू आर्थिक वर्षका लागि जिल्ला भन्सार कार्यालय कैलालीले सात अर्ब ८७ करोड दुई लाख ३७ हजार रुपैयाँ वार्षिक लक्ष्य निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्