उपत्यकामा तीव्र जनसंख्या वृद्धिले खेतीयोग्य जमिनको ह्रास «

उपत्यकामा तीव्र जनसंख्या वृद्धिले खेतीयोग्य जमिनको ह्रास

नेपाल एक यस्तो देश हो, जहाँ अत्यधिक मात्रामा खोलानाला, मठमन्दिर, हिमाल, पहाड तथा प्राकृतिक सम्पदाले भरिपूर्ण छ । जताततै हरियाली र स्वच्छ वातावरण छ । हाम्रो देश नेपाल, जहाँ पर्यटकहरू आफ्नो अमूल्य समय र पैसा दुवै खर्च गरेर यहाँको प्राकृतिक सौन्दर्यता हेर्न, यहाँको संस्कृति, भाषा, जीवनशैली तथा मूल्य–मान्यताका बारेमा बुझ्न भनेर आउने गर्छन् । तर, विगत केही वर्षयता नेपालमा बढ्दो जनघनत्वका कारणले गर्दा यस्तो सौन्दर्यताले भरिपूर्ण हाम्रो देशमा धूलो, धूवाँ र प्रदूषणको मात्रा बढी देख्न सकिन्छ । अझै भन्नुपर्दा त जनसंख्याको चाप यति बढिराखेको छ कि खेतीयोग्य जमिन देख्न मुस्किल छ ।
उपत्यकाकै कुरा गरौं, केही दशकअघि यहाँ मानिसहरूको संख्या कम थियो, जताततै खाली जमिनहरू देखिन्थ्यो, मानिसहरू उक्त जग्गामा मौसमअनुसारको धान, गहुँ, तरकारीहरू लगाउने गर्थे । फोहोर र प्रदूषण पनि कमै देखिन्थ्यो । सानासाना बच्चाहरूलाई खेल्नका लागि चौरहरू थिए । कलकारखानाहरू प्रायः बस्तीबाट टाढा देखिन्थ्यो । खोलानालाहरू सफा र सानासाना बच्चाहरू त्यहाँ पौडी खेल्ने गरेको दृश्यसमेत देख्न सकिन्थ्यो । त्यतिबेलाको कुवाको पानी पिएको स्मरण गर्दा मनमा अर्कै आनन्दको अनुभूति हुन्छ । त्यस्तै विषादीमुक्त तरकारीहरू खान पाइन्थ्यो । तर अहिले जनसंख्याको चाप यति धेरै छ कि खाली जमिन देख्न मुस्किल भइसक्यो । जताततै घरै घर, कलकारखाना तथा बस्ती देख्न सकिन्छ । खोलानालासमेत यो बढ्दो जनसंख्याको चपेटामा परेर प्रदूषित भइसकेका छन् । कुवाको पानी त अब सम्झनामा मात्र सीमित भइसक्यो । खेतीयोग्य जमिन मासेर सबैले ठूला–ठूला घर, होटल, भवन तथा कलकारखानामा परिणत गरिसकेका छन् । अझै भन्नुपर्दा अहिलेको यस्तो विषम परिस्थिति, विश्वभर कोरोनाले महामारीको रूप लिएको अवस्थामा समेत मानिसहरू यहाँ जग्गा किनबेच र घर बनाउन तथा बेच्नमा व्यस्त देखिन्छन् । कोरोनाको कहरमा समेत यहाँ मजदुरहरू घर बनाउने ठाउँमा काम गर्न आएको प्रत्यक्ष देख्न सकिन्छ ।
अहिले त यस्तो जमाना आयो कि सानोभन्दा सानो जग्गा बेचेर पनि लाखौं कमाइन्छ भन्ने प्रलोभनले पनि जमिन बेच्न थालियो । खेतीयोग्य जमिन मासेर सानो टहरो नै बनाइयो भने पनि घरभाडा आउँछ भन्ने प्रलोभनले पनि खेतीयोग्य जमिन देख्न मुस्किल छ हिजोआज । यसैसँग सम्बन्धित एउटा प्रसङ्ग हेरौं । केही वर्षअघि काठमाडांैको बालकुमारी–नरेफाँट क्षेत्रमा यति सुनसान र खेतीयोग्य जमिन देख्न सकिन्थ्यो । साँझबिहान एक्लै हिँड्न डर हुन्थ्यो । तर, आजकाल यति धेरै सहरीकरण र बस्तीका कारणले गर्दा हामी महिलाहरूलाई समेत साँझबिहान हिँड्न कुनै डर छैन । त्यस्तै, ललितपुरको टीकाथली, जहाँ छ–सात वर्षअघि मात्र पुराना पुराना घरहरू थिए, खासै पसलहरू थिएनन्, केही सामान किन्नुपरेमा कोटेश्वर जानुपदथ्र्यो । तर, अहिले सहरीकरण र बजारीकरणका कारणले गर्दा घरबाट बाहिर निस्कनासाथ जे चाहियो, त्यो सब कुरा खरिद गर्न सक्छौं । झनै त्यहाँको गोदावरी खोला, जहाँ मानिसहरू नुहाउन, लुगा धुन, बिहान पूजा गर्नसमेत जल लिन भनेर आउने गर्थे, त्यस्तो पवित्र खोलालाई समेत प्रदूषणरहित रहन दिएनन् ।
मानिसहरूको चाप बढेसँगै खेतीयोग्य जमिनमा ह्रास त आयो नै; तर मानिसहरूको खराब आचरणले गर्दा यस्तो प्राकृतिक सम्पदा, मठमन्दिर र खोलानालासमेतमा ह्रास आयो । पर्यटकहरू लाखौं खर्च गरेर यहीं सबथोक हेर्न भनेर आउने गर्छन्, तर हाम्रो देशको जनतालाई आफूसँग भएको स्रोतसाधनको सदुपयोग गर्नु त कता हो कता, उल्टै दुरुपयोग गर्नमा लागिपरेका छन । यसको मुख्य कारण तीव्र जनसंख्या वृद्धि नै हो । जसको कारण हामी आफैं अनुभूति गर्न सक्छौं ।
—रन्जिता गिरी पोख्रेल

प्रतिक्रिया दिनुहोस्