वल्र्ड इनोभेसन फोरममा नेपाल सहभागी हुने

स्विट्जरल्यान्डको लुश्रेनमा हुने पहिलो वल्र्ड इनोभेसन फोरममा नेपाल सहभागी हुने भएको छ । छानिएका चार उद्यमशील नवसिर्जनाका ‘स्टार्टअप’ सोचसहित नेपालले सहभागिता जनाउन लागेको हो ।
नेपालमा नविनतम् प्रविधि र आविष्कारहरूलाई प्रबद्र्धन गर्ने मूल उद्देश्यसहित आयोजना गरिएको तीन दिने नेपाल स्वीस टेक्नोलोजी ट्रान्सफर कार्यशालाबाट स्टार्टअप सोच छानिएका हुन् । स्विट्जरल्यान्डका नेपाली डायस्पोराद्वारा स्थापित नेप्लिज साइन्टिफिक एसोसिएसन इन स्विट्जरल्यान्ड (नेप्सास) द्वारा नेपालस्थित एसडीसीको सहयोगमा काठमाडौंको गेट कलेजमा आयोजना गरिएको कार्यक्रममा नेपालभरका ५० भन्दा बढी नवआविष्कारमा संलग्न युवा सहभागी थिए ।
प्रविधिजन्य क्षेत्रमा नेपालभरकै रचनात्मक सिर्जनामा संलग्न व्यक्ति तथा समूहबाट आवेदन माग गरि परियोजनाको खाका प्रस्तुत गर्न लगाइएकोमा प्राप्त ५०० आवेदनमध्येबाट ५० जना छनोट गरिएको नेप्सासका अध्यक्ष रञ्जन मिश्रले बताए । छानिएका ५० जना सहभागीलाई विभिन्न चरणमा प्रविधि हस्तान्तरण, परियोजना विकास र सञ्चालनका तौरतरिकाबारे उद्यम, व्यवसाय, प्रविधि, वित्त, व्यवस्थापन, चिकित्सासहितका क्षेत्रका विज्ञले प्रशिक्षण दिएका थिए । नानो टेक्नोलोजी विज्ञ तथा सिंगापुर युनिभर्सिटीका पूर्व डिन श्रीराम रामकृष्णननले समेत विशेष अतिथिका रूपमा सहभागीहरूलाई प्रशिक्षित गरेका थिए । प्रतियोगिताबाट छानिएका चार ‘स्टार्टअप’हरूले स्विट्जरल्यान्डमा आयोजना हुने पहिलो वल्र्ड इनोभेसन फोरममा सहभागिता जनाउने मिश्रले जानकारी दिए ।
“विश्वव्यापी आविष्कारहरूमा नेपाल १२९ औं स्थानमा छ भने स्वीट्जरल्यान्ड नवसिर्जनाहरूमा विश्वकै पहिलो स्थानमा छ, जुन देशमा यस्ता आविष्कार, विज्ञान तथा प्रविधिको बढी विकास र उपयोग भएको हुन्छ, त्यसले आर्थिक रूपमा पनि उन्नति गरेको अध्ययनले देखाएको छ,” वल्र्ड इनोभेसन फोरमका नेपालका लागि राजदूत खेम लकाईंले भने, “विश्वमा आविष्कार तथा नवसिर्जनाका क्षेत्रमा भइरहेका नयाँ–नयाँ अभ्यास नेपाल भिœयाउन यस्ता कार्यक्रमले योगदान दिनेछन् ।”
आगामी वर्षदेखि यस्तो प्रतियोगितालाई अझ देशव्यापी बनाएर त्यसलाई अन्तर्राष्ट्रिय इनोभेसन फोरमसँग आवद्ध तुल्याउने प्रतिबद्धता लकाइले व्यक्त गरे । आगामी जुन २०१८ मा स्वीट्जरल्यान्डकै लुश्रेनमा हुने पहिलो वल्र्ड इनोभेसन फोरमलाई विश्व आर्थिक मञ्चकै समकक्षी अन्तर्राष्ट्रिय आविष्कार तथा नवसिर्जना मञ्चका रूपमा विकास गरिएको छ ।