पर्यटन क्षेत्रलाई कसरी उकास्ने ? «

पर्यटन क्षेत्रलाई कसरी उकास्ने ?

अधिकांश पर्यटकहरूको स्रोत मुलुक हाम्रो भारत र चीन नै हो । ती दुवै देशका केही प्रतिशतले मात्र नेपालको भ्रमण गरे पनि यहाँ पर्याप्त हुन्छ ।

सरकारले मिति ०७७ कात्तिक २४ को निर्णय भन्दै पर्यटन क्षेत्र खुुला गर्ने अठोट गरेको छ । जंंगल सफारी, संग्रहालय, केबुलकार, लुम्बिनीलगायत विभिन्न क्षेत्रहरू स्वास्थ्य मापदण्ड अपनाई आवतजावतमा खुला गरेसँगै यस क्षेत्रका सम्बद्धलाई केही राहतको अपेक्षा गर्न थालिएको छ । असोज ११ लाई हामीले पर्यटन दिवसका रूपमा मनाउने ग-यौँ । कोरोना त्रासले यसपालिको भ्रमण वर्षलगायत पर्यटन दिवस खल्लो त भयो नै; कीर्तिमानी आरोही, बिनाअक्सिजन १० पटकसम्म सगरमाथा आरोहण गर्दै विश्व कीर्तिमान कायम गर्ने सोलुका हिमचितुवा अर्थात् आङरिता शेर्पाको असोज ५ गते निधन र डेढ वर्षअघि पर्यटन मन्त्रीका रूपमा रहेका रवीन्द्र अधिकारीको ताप्लेजुङ हेलिकप्टर दुर्घटना भएकोे मृत्युले हाम्रो पर्यटन क्षेत्रलाई धक्का लागेको छ । त्यसो त भ्रमण वर्ष–२०२० को पूर्वसन्ध्यामै हामीलाई हलुवामा बालुवा भएको हो । सात–आठ महिनादेखि आन्तरिक र बाह्य पर्यटन लथालिङ्ग भएको अवस्थामा जसोतसो असोज १ देखि उडानहरू खुल्दा साससम्म भर्ने काम भएको छ । स्वदेशी र विदेशी दुवैलाई बेस्सरी सताएको कोरोना समस्या भने अझै हल भएको छैन । धेरै स्वदेशी–विदेशीहरू बढी प्रभावित हुनुका साथै व्यापार–व्यवसायमा समेत यसले पारेको असरले सबैलाई चिन्तित बनाएको छ । भ्रमण वर्ष मनाइरहँदा चीनबाट धेरै पर्यटकहरू यहाँ आउने अपेक्षा थियो । त्यहीँबाटै कोरोनाको मुस्लो उठ्दा र संसार घुमेको त्यो मुस्लोको लप्काले अर्को छिमेकी देश भारतलाई दोस्रो श्रेणीमा राख्दा हामीलाई हलुवामा बालुवा हुनु स्वाभाविकै भयो । हाल पानी भरेर रानीपोखरी सजिएको छ, ढिलै भए पनि धरहरा उठ्न लागेको छ, भूकम्पप्रभावित राजधानी काठमाडौं बिस्तारै उठ्न लाग्दा धेरै पर्यटक आउने चीन र भारत दुवै कोरोनाको जोखिममा छन् । २० लाखको पर्यटक संख्या आगमनको हाम्रो संख्या पुग्न मासिक डेढ लाखको आगमन हाम्रो कोरा कल्पना भयो । तथापि यसै क्षेत्रबाट आगामी ५ वर्षभित्र ९ लाख मानिसलाई रोजगारी दिने सपना देख्न सरकारले छोडेको छैन ।
आधुनिक युग पर्यटकीय युग हो । विश्वभरि यस क्षेत्रको प्रभाव अधिक छ । संसारभर पर्यटन क्षेत्रबाट हाल १० करोडले रोजगारी प्राप्त गरेका छन् । वल्र्ड टुरिज्म अर्गनाइजेसनका अनुसार संसारमा आतिथ्यता सत्कारकै लागि भनौँ पर्यटन क्षेत्रकै लागि २–२ ट्रिलियन यूएस डलरको लगानी छ । संसारभर घुमफिर गर्ने, बिदा मनाउने, मनोरन्जन गर्ने बानी प्रायः आर्थिक हैसियत भएका सबैलाई बसेको छ । नेपाल पर्यटकीय गन्तव्यको पहिचान भएको देश हो र पनि पर्यटन क्षेत्रमा संलग्न जनशक्तिको गुणस्तरीयतामा कमी छ यहाँ । यस क्षेत्रमा आवश्यक सक्षम जनशक्ति तयार गर्ने क्रममा सरकारी स्तरमा पर्र्यटन मन्त्रालय मातहत पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान छ । वि.सं. २०२९ मा स्थापना भएको यस संस्थाले विभिन्न खाले जनशक्तिको तयारी गर्छ । ४० भन्दा बढी कलेज एवं अन्य शैक्षिक संस्थाहरूले यस्तै खाले जनशक्ति निर्माण गर्दै छन् । यस क्षेत्रको जनशक्ति साविकभन्दा बढे पनि गुणस्तरमा बढोत्तरी भएको छैन । तालिम प्राप्त जनशक्ति ७० प्रतिशत त बिदेसिएका छन् । साँच्चै भन्नुपर्दा टुर गाइडकै कमी छ यहाँ । प्रतिष्ठान आफैंले तयार गरेका टुर गाइड ५ हजारजति मात्र छन् । प्रतिष्ठानले पर्यटकीय क्षेत्र पोखरा, लुम्बिनी, पाल्पा, चितवन आदि क्षेत्रमा यस्ता जनशक्ति तयार गरिरहेको छ । हामीकहाँ पर्यटन क्षेत्रमा तालिम प्राप्त जनशक्ति समग्रमा ५२ हजारभन्दा बढी रहेका र आगामी पाँच वर्षभित्र यस्तो जनशक्ति दोब्बर गराउने सरकारी अवधारणा देखिन्छ । सातै प्रदेशमा प्रतिष्ठानले टुर एवं ट्रेकिङ गाइड तयार गर्ने लक्ष्य पनि लिएको देखिन्छ । टुर एवं टे«किङ गाइडहरू औपचारिक–अनौपचारिक रूपमा झन्डै डेढ लाखले यहाँ रोजगारी पाएका थिए ।
हिजोआज सबैको मुखमा सुनिन्छ : पर्यटन, टुरिस्ट, पर्यटक, टुरिजम आदि । टुरिजम वास्तवमा फ्रेन्च शब्द हो । १९ औं शताब्दीदेखि यस शब्दले बढी प्रश्रय पाएको हो । पर्यटक भनौ वा टुरिस्ट शब्द लेटिन भाषा हो । कुनै कामले, उद्देश्यले मुलुकभित्र वा बाहिर घुम्न जाने व्यक्ति वा समूह भनेको पर्यटक हो । पर्यटक आन्तरिक र बाह्य दुई थरीका हुन्छन् । पर्यटन भन्नु र पर्यटक भन्नु पर्याय हुन् । डब्लूटीओको परिभाषाअनुसार स्वदेश वा अर्को देशमा बिदा, बिजनेस वा कुनै मिसनले भ्रमण गर्नेलाई पर्यटक भनिन्छ । समयावधि भने एक दिनदेखि सय दिनसम्मको बसाइ उद्देश्य राखी भ्रमण गर्नेलाई पर्यटक भनिन्छ ।
आएका पर्यटकलाई कुन विशेष क्षेत्रमा केन्द्रित गराउने, अधिकांशको रुचि के हो ? हाम्रो प्राथमिकता के हो ? बजार कुन हो ? यस विषयमा खासै चासो राखेको देखिँदैन । पर्यटकहरूलाई सन्तोष गराउने, उनीहरूको बसाइ अवधि लम्ब्याउने, उनीहरूबाट यहाँ बढीभन्दा बढी खर्च गराउने तरिकाहरू के हुन् ? तिनको पनि पहिचान हुन जरुरी छ । पर्यटक भित्र्याउन गरिने पूर्वाधर विकासमा पनि हामी पछाडि छौं । राम्रो सडक, खानेपानी, सरसफाइ, शौचालयको प्रबन्ध, धूवाँधूलोरहित यात्रा, दुर्घटनारहित र भरपर्दो सुरक्षा पनि न्यूनतम आवश्यकताका विषयहरू हुन् ।
नेपालमा आउने पर्यटक भौतिक सुख–सुविधाका लागि भन्दा पनि आध्यात्मिक शान्तिका लागि हो । प्राचीन समयदेखि नै देश देवभूमि, वैदिक भूमि, पवित्र भूमि हो । यो अन्तर्राष्ट्रिय स्तरमा बुझाउनका लागि एकमात्र विश्वकै नमुना पूर्वीय धर्म–संस्कृतिको धरोहर देश भन्ने पहिचान देशले गुमाउनु हुँदैनथ्यो । भैरहवा विमानस्थल निर्माण मात्रैले यो अभियान पूरा हुँदैन । विश्वको एक मात्र हिन्दू मन्दिर पशुपतिक्ष्ोत्र सुनसान छ, मन्दिर खोल्न स्थानीयको आन्दोलन चलेको छ, यो के षड्यन्त्र हो बुझिएन । हाम्रो मुलुकमा अधिकांश पर्यटकीय तीर्थ क्षेत्र हिन्दू धर्म, दर्शन, संस्कृतिमा आधारित छ । पछिल्लो समय भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा भारतका ख्यातिप्राप्त धर्मगुरुलाई सद्भावना राजदूतका रूपमा आत्मसात् गरेको यादै छ । धार्मिक मुलुक भारतका मुम्बई, चेन्नई, दिल्लीजस्ता विभिन्न सहरहरूमा यसको प्रचार–प्रसार गरिएकै हो । चीन, हङकङ, अमेरिका, युरोपसम्म अभियान भनौं नाराको पहुँच पुगेकै हो । चिनियाँ भाषामा नेपालबारे प्रवद्र्धनात्मक कार्यक्रमहरू भएकै हो । नेपाल आउने तर बसाइ अवधि कम राख्ने विगतको समस्या छ । हाल पर्यटकको औसत बसाइ एक साताभन्दा पनि कम छ । बसाइ अवधि नबढाएसम्म र उनीहरूको औसत खर्च वृद्धि नगरेसम्म यहाँको राजस्वमा बढोत्तरी हुन्न । नेपाल पर्यटन बोर्डको भनाइ छ : एक पर्यटकले सन् २०१७ मा प्रतिदिन ५४ डलर खर्च गर्ने गरेको छ । सन् २०१८ मा १२ः६ दिन पर्यटक बसाई अवधि थियो भने सन् २०१९ मा यो घटेर १२ः४ दिनमा रह्यो । यसरी समयावधि र खर्च गर्ने औसत रकम घट्नु भनेको राम्रो संकेत होइन । अधिकांश पर्यटकहरूको स्रोत मुलुक हाम्रो भारत र चीन नै हो । ती दुवै देशका केही प्रतिशतले मात्र नेपालको भ्रमण गरे पनि यहाँ पर्याप्त हुन्छ ।
प्राचीन नेपाल लिच्छविकालमा चिनियाँ यात्री फाइयानले हाम्रो कपिलवस्तुमा सन् ३९९ देखि सन् ४१४ सम्म भ्रमण गरेको इतिहास छ । पछि सन् ६२९ देखि ६४५ सम्म चिनियाँ यात्री दुःख साङले नेपाल भ्रमण गरी नेपालकै विषयमा धेरै कुराहरू लेखेको इतिहास छ । मल्लकालीन इतिहास हेर्दा भोट चीन व्यापारिक कारण विदेशीहरू नेपाल आउने गरेको पाइन्छ । नेपालीहरू पनि विदेश भ्रमण गर्ने गरेको पाइन्छ । नेपालमा अरनिको, नेपाली भृकुटीको कथा हामीले विद्यालय कक्षामै पढेका हौं । त्रेतायुगमै रामजानकी बिहे, द्वापरयुगमा श्रीकृष्णको नेपाल यात्रा धेरै छन् यस्ता युगीन इतिहासहरू ।
वि.सं. १९०६ मा आइपुग्दा श्री ३ जंगबहादुर राणाको बेलायत यात्रा, उनका टिममा ५० औं जनाको यात्रु रहेका, पछिल्लो समय भारत–नेपाल, बेलायतमा दूतहरूको आदान–प्रदान भएको पाइए पनि वि.सं. २००७ सम्म नेपालले बाह्य क्षेत्रमा ठूलो प्रगति हासिल गरेको भने देखिँदैन । वि.सं. २००८ मा नेपाल विश्व पर्यटन संघको सदस्य बनेको र वि.सं. २०१४ मा पर्यटन बोर्ड, वि.सं. २०१६ मा पर्यटन निर्देशनालय, वि.सं. २०१८ मा पर्यटन विभाग, वि.सं. २०२८ मा पर्यटन विकास समिति, वि.सं २०३३ मा पर्यटन मन्त्रालय, वि.सं. २०३५ मा पयटन ऐन, वि.सं २०५२ मा पर्यटन नीति आउनुले सांगठनिक स्वरूपको इतिहास तय हुँदै आएको देखिन्छ । सन् २०११ मा पनि पर्यटन वर्ष मनाइयो, जसबाट नेपालप्रतिको विश्वको हेराइमा बढोत्तरी भएको छ । गत वर्ष भएको दक्षिण एसियाली खेलकुद सागमा नेपालले प्राप्त गरेको स्वर्ण पदकले यसमा अझै बढोत्तरी भएको हो ।
पर्यटन बोर्डको तथ्यांकअनुसार सन् १९९७ मा ४ लाख २१ हजार ८ सय ५७ जना, सन् १९९८ मा ९ प्रतिशतले बढेर ४ लाख ६२ हजार ६ सय ८४ जना, भ्रमण वर्ष ९८ मनाउने क्रममा ५ लाखको लक्ष्य लिएकोमा लक्ष्यभन्दा बढीको उपस्थिति थियो । सन् १९९९ मा ६ प्रतिशतले बढेर यो संख्या ४ लाख ९१ हजार ५ सय ४ जना पर्यटक नेपाल आएको देखिन्छ । बीचमा देश अशान्तिको भुमरीमा फस्यो, पर्यटक आकर्षित भएनन् । सन् २०१६ देखि केही सुधार भएको छ । सन् २०१९ मा ९ लाख ७५ हजार ५ सय ७५ जनाभन्दा बढी पर्यटक नेपाल आएका देखिन्छन् । २०१८ मा ११ लाख ७२ हजार पर्यटक भित्रिएका हुन् । मुलुककोे चौधौं योजनाको अन्त्यसम्म विदेशी पर्यटक आगमनको संख्या १२ लाख पु-याउने, विदेशी पर्यटकको बसाइ अवधि सरदर १५ दिन पु-याउने, सरदर दैनिक खर्च ६० अमेरिकी डलर पु-याउने लक्ष्य थियो । हिमाली, पहाडी र तराईका भौगोलिक विविधता, समुद्र सतहदेखि ७० मी मात्रको उचाइ पनि यहीँ रहेको र विश्वका दुर्लभ पाटे बाघ, काँडे भ्याकुर, धेरै प्रजातिका चरा, जीवित देवी कुमारी र असंख्य चाडपर्व, जात्राहरूले नेपाल र नेपालीको छुट्टै चिनारीलाई प्रतिष्ठाको रूपमा प्रयोग गर्ने लक्ष्य पनि थियोे ।
पर्यटकीय गन्तव्यको विविधीकरण गर्दै नयाँ पर्यटकीय स्थलको चिनारी दिँदै पर्यटन उद्योगलाई फस्टाई देशको समृद्धिको यात्रा तय गर्ने प्रशस्त सम्भावनाहरू छन् यहाँ । पर्यटकीय पूर्वाधारको विकासबाट रोजगारीको सिर्जना, गरिबी न्यूनीकरण, राष्ट्रिय अर्थतन्त्रको विकास, जीवनस्तरमा सुधार हाम्रो आवश्यकता हो । राजनीतिक संक्रमणमा पर्यटन विकासमा गम्भीर चोट लाग्न पुग्यो विगतमा । पर्यटन पूर्वाधार विकासतिर खासै चासो भएन । विनाशकारी भूकम्पले अर्को घाटा लगायो । आर्थिक समृद्धिका लागि पर्यटन विकास भन्ने राज्यको सोच छ । यसका लागि पर्यटन क्षेत्रको विकासमार्फत आर्थिक वृद्धि र रोजगारीको अवसर सिर्जना गर्ने सरकारी लक्ष्य छ । देशलाई आकर्षक तथा थप सुरक्षित गन्तव्यका रूपमा विकास गर्दै पर्यटको आगमनलाई वृद्धि गर्ने जनताको आयस्तरमा बढोत्तरी गर्ने सरकारी लक्ष्य देखिन्छ । पर्यटकीय गन्तव्यस्थल र उपजमा विविधीकरण र विकास गर्ने नेपालमा प्रमुख पर्यटकीय उपजहरूको बजारीकरण गर्ने, प्रवद्र्धन गर्ने, सरकारी उद्देश्य देखिन्छ । यसका लागि राज्यले लिएको रणनीति हेर्दा पर्यटन विकास गर्न सार्वजनिक, निजी, सरकारी एवं सामुदायिक क्षेत्रमा साझेदारी र सहकार्य गर्नुपर्ने हुन्छ । ग्रामीण पर्यटनमार्फत यस क्षेत्रलाई जनस्तरसम्म पु-याउनुपर्छ । मुलुकका सबै मौसममा पर्यटकीय क्रियाकलाप सञ्चालनका लागि आन्तरिक पर्यटन लागि वैदेशिक लगानी आकर्षित गर्नुपर्छ । यसका लागि पूर्वाधारको विकास, संस्थागत सुधार र पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम तय हुनुपर्छ ।
यता जात्रैजात्राको देश घोडेजात्रा, इन्द्रजात्रा, कुमारी जात्रा, बिस्केट जात्रा, भोटोजात्रामा विदेशीहरूको उपस्थिति देखिनु अनि भक्तपुर, काठमाडौं पाटन क्षेत्रमा स्मारक, स्तूप, मन्दिर, चैत्यहरूमा देखिने विदेशीहरूको घुइँचोले पनि नेपालको मौलिक कला, संस्कृतितर्फ विदेशीहरू झुम्मिने गरेको तथ्य छ । तर, वातावरणीय समस्या, प्रदूषणजस्ता विषयहरूम राम्रो ध्यान दिन सकिएको छैन । स्थानीय साधनको प्रयोग गर्दै होमस्टेको अवधारणाका लागि पर्यटक स्तरीय कोठा, शौचालय, वातानुकूलित अवस्था सिर्जना गर्न सकिएको छैन । विश्वभरि नै लोकप्रिय भएको पर्यावरणीय पर्यटनमा हामीले ध्यान पु-याउन सकेका छैनौं ।
हाम्रो राजधानी काठमाडौँ लामो समयदेखि प्रदूषित छ । जाडोको समय सुरु भइसकेको छ । फोहोर, खराब वातावरण, प्रदूषणका कारण बूढाबूढी, बाल, रोगीहरूलाई थप चिन्ता लाग्नु स्वाभाविक हो । विगतदेखि हाम्रो मुलुकमा हुँदै आएको जथाभावी वनफँडानी, अव्यवस्थित बसाइँसराइ, अवैज्ञानिक एवं परम्परागत पद्धतिमा आधारित कृषि प्रणाली, अव्यवस्थित र अवैज्ञानिक सहरीकरण, सहरकेन्द्रित जनघनत्व, बाढीपहिरो र आगजनीको समस्यादेखि आधुनिक प्रविधिको अभाव, प्रकोपको सम्भावित क्षेत्रको नक्सांकन गर्न नसकिएको, हाम्रो वातावरणीय समस्याले हाम्रा लागि ठूला चुनौतीहरू थपेका छन् । यूएनडीपीको प्रतिवेदनमा मानव विकास सूचकांकमा २ अंक सुधार देखिए पनि काठमाडौँको धूवाँ, धूलो, ट्राफिक जाम, ढल निकासको समस्या, पिउने पानीको अभाव र उपत्यकालाई सरस बनाउने प्रमुख नदीहरूको अवस्था हेर्दा जो–कोहीलाई पीडा र छटपटाहट हुनु स्वाभाविक हो । केही समययतादेखि काठमाडौं कोभिडको हट स्पट बन्न जाँदा झन् थप समस्या छ हाम्रा सामु ।

प्रतिक्रिया दिनुहोस्