व्यावसायिक रुपमा जिपलाइन सञ्चालनको तयारी «

व्यावसायिक रुपमा जिपलाइन सञ्चालनको तयारी

लमजुङ-उत्तरी लमजुङको मस्र्याङदी गाउँपालिका अन्तर्गत स्याँगेमा निर्माण भएको पर्यटक लक्षित साहासिक जिपलाइन व्यावसायिक सञ्चालनको तयारी भएको छ । कोरोना भाइरस संक्रमण जोखिमसँगै सञ्चालन हुन नसकेको जिपलाइन लकडाउन सहज भएसँगै परीक्षण सञ्चालन भएपछि अब व्यावसायिक सञ्चालनको तयारी भएको हो ।
जिपलाइन व्यावसायिक सञ्चालनको लागि स्थानीय रामप्रसाद गुरुङको अध्यक्षतामा ११ सदस्यीय व्यवस्थापन तथा सञ्चालन समिति गठन भएको छ । समितिको उपाध्यक्षमा प्रदीप गुरुङ, सचिवमा कमल गुरुङ, सहसचिवमा मदन गुरुङ र कोषाध्यक्षमा बिनिता गुरुङ रहेका छन् । यस्तै समिति सदस्यहरुमा युकाशी गुरुङ, पदमबहादुर गुरुङ, सूर्य गुरुङ, सिद्धिजंग गुरुङ, खुशीमाया गुरुङ र खुशीराम परियार रहेका छन् ।
स्थानीयको भेलाले जिपलाइनको थप प्रचार प्रसार र प्रवद्र्धन गर्नका लागि व्यवस्थापन समितिका उपाध्यक्ष प्रदीप गुरुङको संयोजकत्वमा चार सदस्यीय प्रचार प्रसार उपसमिति पनि गठन गरेको छ ।
जिपलाइनलाई थप व्यवस्थित गर्न स्थानीय समुदायका अग्रजहरुको सहभागितामा सल्लाहकार समिति पनि गठन भएको छ । अघिल्लो आर्थिक वर्षमै निर्माण सम्पन्न भएको उक्त जिपलाइन कोभिड–१९को प्रभावसँगै सरकारले जारी गरेको लकडाउनका कारण आन्तरिक तथा बाह्य पर्यटक नआएपछि व्यावसायिक प्रयोगमै आउन सकेको थिएन । हाल संक्रमणकालिन अवस्था सामान्य भएसँगै परीक्षण सञ्चालन गरिएको र प्रशासनसँग समन्वय गरी व्यावसायिक सञ्चालनको तयारी भएको मस्र्याङदी–४ वडा अध्यक्ष सुमन गुरुङले बताए ।
अन्नपूर्ण पदमार्ग अन्तर्गत मस्र्याङदी–४, साविक ताघ्रिङको स्याँगेमा साहासिक पर्यटकहरुका लागि आकर्षण गर्ने उद्देश्यसहित जिपलाइन निर्माण भएको हो । आकर्षक स्याँगे झरनामा पर्यटकहरुका लागि क्यानोइङ स्पोर्ट समेत रहेको र उक्त गन्तव्यलाई साहासिक पर्यटकको हव बनाउने उद्देश्य राखिएको वडा अध्यक्ष गुरुङको भनाइ छ ।
विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गसँगै रहेको सो जिपलाइनमा आन्तरिक तथा बाह्य पर्यटकहरुले मनोरञ्जन लिन सक्नेछन् । सडक सञ्जालले मनाङ जोडिएर यातायात सञ्चालनसँगै ओझेल पर्दै गएको पदमार्गमा थप पर्यटकीय सम्पदा बनेपछि अन्नपूर्ण पदमार्गको साख समेत जोगाउने पर्यटन व्यवसायी नरबहादुर गुरुङले विश्वास व्यक्त गरे ।
स्थानीय तहको समन्वयमा सम्बन्धित वडाले करिव पाँच लाख रुपैयाँ लगानीमा जिपलाइन निर्माण गरेको हो । ग्रामिण पर्यटनमा प्रसिद्धि पाएको लमजुङमा पछिल्लो समय क्यानोइङ, राफ्टिङ, प्याराग्लाईडिङ, जिपलाइन जस्ता साहासिक खेलको सम्भाव्यता बढेपछि साहासिक गन्तव्यका लागि समग्र जिल्लानै उत्कृष्ट बन्ने समेत अपेक्षा गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्