श्रमजीविको सुविधा सरकारसँगै हातेमालो गर्ने, निजी क्षेत्रको समेत चिन्ता : प्रधानमन्त्री «

श्रमजीविको सुविधा सरकारसँगै हातेमालो गर्ने, निजी क्षेत्रको समेत चिन्ता : प्रधानमन्त्री

तेस्रो सामाजिक सुरक्षा दिवसको उद्धघाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा कार्यक्रम सरकारले प्राप्त गर्न खोजेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न सुरु गरिएको कार्यक्रम रहको बताए ।
“जनताको अप्ठेरो अवस्थामा राज्य छ, राज्यका निकायहरु छन् र तिनले राज्यले निर्वाह गर्नुपर्ने अभिभारा वहन गर्दछन् भन्ने विश्वास आम नागरिकमा जगाउन अवश्य सहयोग पुग्ने छ ।” प्रधानमन्त्री ओलीले भने, “यसको सफल अभ्यासबाट नागरिक कल्याणलाई सुनिश्चित गर्दै देशलाई कल्याणकारी लोकतन्तन्त्रको पथमा अगाडि बढाउन सकिन्छ भन्ने कुरामा सरकार स्पष्ट छ ।”
उनले यस कार्यक्रमले आर्थिक तथा सामाजिक रुपमा जोखिममा रहेका नागरिकलाई सरक्षण प्रदान गर्दै सुदृढ सामाजिक सुरक्षा प्रणालीले औद्योगिक शान्ति र स्थायित्व कायम गरी उत्पादकत्व बढाउने र थप रोजगारीसमेत सिर्जना गर्ने राज्यको नीतिलाई आत्मसात गरेको बताए । उनले कोषका योगदानकर्ता लक्षित औषधी उपचार, स्वास्थ्य र मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्धवस्था सुरक्षा योजनाहरू एकैसाथ सञ्चालन गरेकोमा खुशी व्यक्त गरेको प्रतिक्रिया दिए ।
उनले आम नागरिक विषेशगरी श्रमजजिवी वर्गको सुविधा सरकारको मात्र नभइ सरकारसँगै हातेमालो गर्ने निजी क्षेत्रकोसमेत चिन्ताको विषय रहेको बताए । असल श्रम अभ्यासमार्फत् श्रमिकको उत्पादकत्वमा समेत वृद्धि गर्दै आर्थिक प्रगतिको मार्गप्रशस्त गर्न सामाजिक सुरक्षालाई सिद्धान्त मात्र नभइ, व्यवहारको रुपमा अवलम्बन गर्नु आवश्यक रहेको उनको भनाइ थियो । “तसर्थ सरकारले सुरु गरेको कार्यक्रमलाई समर्थन जनाउँदै सहकार्य गरिरहेका निजी क्षेत्र आगामी दिनमा झन जिम्मेवारी बोधका साथ अगाडि बढ्नेछन् भन्ने सरकारले विश्वास गरेको छ” उनले भने, “आउने दिनमा सामाजिक सुरक्षा कोषलाई सबैले अपनत्व बोध गर्ने कोषको रुपमा विकास गराउन तथा सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकमम्म पु-याउन गर्नुपर्ने समन्वय तथा सहयोग गर्ने कुरा सरकारको तर्फबाट विश्वास दिलाउन चाहन्छु ।”

प्रतिक्रिया दिनुहोस्