गोदावरीमा ड्राइगन फ्रुटको खेती «

गोदावरीमा ड्राइगन फ्रुटको खेती

धनगढी-सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा ड्राइगन फ्रुटको खेती सुरु भएको छ । प्रदेश राजधानी घोषणा गरिएको स्थान नजिकै गोदावरी नगरपालिका वडा नं. २ तेघरीमा भीमदत्त नगरपालिका वडा नं. १ महेन्द्रनगरका व्यवसायी गोकर्ण ओलीले ड्राइगन फ्रुट रोपेका हुन् । सुदूरपश्चिम प्रदेशको कृषि विकास निर्देशनालयको सहयोगमा उनले ३५०० बोट ड्राइगन फ्रुट रोपेका छन् । उनले गोदावरी ड्राइगन फ्रुट फर्ममा हालसम्म २८ लाख भन्दा बढी लगानी गरेको जनाएका छन् ।
तेघरीको आर्मी व्यारेक नजिकै डेढ विघा जमिन १० वर्षका लागि भाडामा लिएर गत साउनमा ड्राइगन फ्रुट रोपेको जनाए । “अहिले २ देखि ४ फिटको बोट भइसकेको छ,” उनले भने, “रोपेको १८ महिनादेखि २ वर्षमा फल लाग्छ । एक पटक रोपेपछि २० वर्षसम्म फल्छ । त्यसपछि उत्पादन घट्दै जान्छ ।”
ओलीले ड्राइगन फ्रुट खेतीका लागि निर्देशनालयले चार लाख ८१ हजार चार सय ५० रुपैयाँ अनुदान दिएको बताए । उनले ड्राइगन फ्रुटको बोट रौतहट, सिन्धुली र दाङबाट ल्याएको जनाए । रातो जातको प्रतिबोट ३ सय रुपैयाँका दरले २४०० र सेतो जानको प्रतिबोट २ सयका दरले ११०० बोट ल्याएर रोपेको ओलीले बताए ।
हाल ड्राइगन फ्रुट प्रतिकिलो ६ सयदेखि ८ सय रुपैयाँमा बिक्री हुने गरेको छ । दक्षिण अमेरिकाको मेक्सीकोमा उत्पत्ति भएको ड्राइगन फ्रुटको खेती नेपालमा पनि दुई दशकदेखि गरिँदै आएको छ । सुदूरपश्चिममा यसको खेती भएको यो नै पहिलो रहेको प्रदेशका कृषि निर्देशक यज्ञराज जोशीले बताए । ओलीले कञ्चनपुरको झिलमिलामा पनि केही युवाहरुको समूहले १७ हजार बोट ड्राइगन फ्रुट रोप्ने तयारी गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्