धानको समर्थन मूल्य तोक्न ढिलाइ «

धानको समर्थन मूल्य तोक्न ढिलाइ

दाङ-जिल्लामा हालसम्म पनि सरकारीस्तरबाट धानको समर्थन मूल्य तोकिएको छैन । कृषकहरुले धान बिक्री गर्ने सुरु गरिसकेका छन्, तर पनि मूल्य निर्धारण हुन सकेको छैन । सरकारी निकायबाट मूल्य निर्धारण नभए पनि कृषक तथा व्यवसायीहरुको सहमतिमा मूल्य निर्धारण गरेर खरिद बिक्री सुरु गरेका छन् ।
संघीय सरकारले किसानको सहुलियतका लागि सरकारले रोपाइँ गर्ने बेलामै धानको समर्थन मूल्य तोकेको थियो । तर जिल्लामा हालसम्म पनि धानको मूल्य तोकिएको छैन । संघीय सरकारले तोकेको मूल्य नै जिल्लामा अनुमोदन हुने भएपनि हालसम्म निर्णय हुन सकेको छैन ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको समितिको बैठकले मूल्य निर्धारण गर्ने गरेको छ । मूल्य निर्धारण हुँदा कृषकहरुले सरकारले तोकेको धानको मूल्य पाउन सकेका छैनन् । जसले गर्दा कृषकहरु समस्यामा परेको बताउँछन् । अहिले कृषकहरुले घरबाटै २ हजार २ सयदेखि २ हजार ३ सय रुपैयाँसम्ममा धान बिक्री गर्ने गरेका घोराहीका कृषक गेहेन्द्र डाँगीले बताए ।
घर घरमा आउने व्यवसायीहरुलाई धान बिक्री गर्ने गरेको उनको भनाइ छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले धान खरिद सुरु नगरेले सस्तोमा धान बिक्री गर्नु परेको कृषकहरुको गुनासो छ । कृषकहरुले छिटो धानको मूल्य निर्धारण गरेर खरिद गर्ने समेत आग्रह गरेका छन् । किसानले बिक्री गरेको धान अहिले व्यापारीले किनेर भण्डारण गर्न थालेका छन् । धान खरिदका लागि व्यवसायीहरु गाउँगाउँसम्म पुग्ने गरेका छन् ।
सरकारले मध्यम धानको समर्थन मूल्य प्रति क्वीन्टल २ हजार ८ सय ८५ र मोटा धानको समर्थन मूल्य २ हजार ७ सय ३५ मूल्य निर्धारण गरेको थियो । मुख्य मुख्य बालीका समर्थन मूल्य तोक्ने परिपाटी भए पनि यस वर्ष सरकारले बाली लगाउनुपूर्व पहिलो पटक मूल्य तोकेको थियो ।
गत आर्थिक आर्थिक वर्षमा सरकारले ढिला गरी मोटा धान प्रति क्वीन्टल २ हजार ५ सय ३१ रुपैयाँ २२ पैसा र मध्यम धानको मूल्य प्रति क्वीन्टल २ हजार ६ सय ७३ रुपैयाँ १६ पैसा तोकेको थियो ।
यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय तुलसीपुरले धान खरिद गर्ने सुरु गरेको छैन । कम्पनीले केही दिनमा मूल्य तोकेर धान खरिद गर्ने कम्पनीका निमित्त प्रमुख नहकुल चौधरीले जानकारी दिए । यसका लागि तयारी थालिएको बताए । बैठकमा मूल्यसँगै कहिले र कुन स्थानबाट धान खरिद गर्ने लगायतका विषयमा पनि निर्णय हुने उनको भनाइ छ ।
जिल्लामा पहिलो पटक धान खरिद गर्ने थालेकाले व्यवस्थापन गर्दा समय लागेको उनको भनाइ छ । “नयाँ काम सुरु गर्ने थालेकाले पनि केही समय लागेको हो” उनले भने ।

प्रतिक्रिया दिनुहोस्