सेयर बजारमा तीन कीर्तिमान «

सेयर बजारमा तीन कीर्तिमान


सेयर बजारमा मापन गर्ने नेपाल स्टक एक्स्चेन्ज(नेप्से) परिसूचक बिहीबार हालसम्मकै उच्च अंकमा पुगेको छ । बिहीबार नेप्से परिसूचक १८ अंकले बढेर हालसम्मकै उच्च विन्दु १,८९३.२४ अंकमा बन्द भयो । तर, बुधबारदेखि नै उचाइ नाप्ने प्रयासमा रहेको सेयर बजार परिसूचक एकपटक त १९२६ तिरसम्म पुगेर फेरि फर्किएर बजार बन्द हुँदा १९०० भन्दा कममै बसेको हो ।
नेप्से परिसूचकले २०७३ साउन १२ गतेको १,८८१.४५ अंकको रकर्ड तोडेर कारोबार हुँदा बिहीबार कारोबार रकम पनि ७ अर्ब नाघेको छ भने सेयर बजार पुँजीकरण पनि हालसम्मकै उच्च रहेका छ । बिहीबार नेप्सेको कुल बजार पुँजीकरण पनि २५ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । सैद्धान्तिक रूपमा सेयर बजारलाई अर्थतन्त्रर्को ऐना मानिए पनि नेपाली सेयर बजार भने वित्तीय मध्यस्थकर्ता बैंक तथा वित्तीय संस्थाको पकडमा रहेको हुनाले बैक तथा वित्तीय संस्थाको सेयर परिसूचक बढ्दा नेप्सेले ऐतिहासिक रेकर्ड बनाएको हो । साथै, सस्तो ब्याजदर तथा लगानीका अन्य विकल्प नहुँदा पनि सेयर बजारले छलाङ मारेको हो । साथै, बजारप्रति सारै नकारात्मक अर्थमन्त्रीको बहिर्गमन तथा बजारप्रति सकारात्मक अर्थमन्त्रीको आगमनले पनि बजारमा उत्साह थपेको विश्लेषकहरुको दावी छ ।
बिहीबार नेप्सेमा कारोबार भएका समुहगत परिसूचकमध्ये बैंकिङ ३७.७६, जलविद्युत् ६.८२, उत्पादनमूलक ०.०९, अन्य १५.३६, र सामूहिक लगानी कोष ०.०७ अंकले वढेको छ । तर, व्यापार १३०.६६, होटल ४३.६५, विकास बैंक ८.३५, वित्त ५.८७, निर्जिवन बिमा १६५.०१, जीवन बिमा १३४.३२ र लघुवित्त समूह १६.६५ अंकले घटेका छन् । बिहीबार नेप्सेमा २०१ कम्पनीको ७ अर्ब ६१ करोड ३० लाख बराबरको सेयर खरिद बिक्री भएको छ । नेप्से सूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि करिब ३ अंकले बढेको छ । बिहीबार ७० हजार ३ कारोबारमा ७ अर्ब ६१ करोड ३० लाख ३० हजार रुपैयाँ बराबरका १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर किनबेच भएका छन् ।

प्रतिक्रिया दिनुहोस्