सामाजिक सुरक्षा कोषमा दुई वर्षमै ३ अर्ब «

सामाजिक सुरक्षा कोषमा दुई वर्षमै ३ अर्ब


योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यन्वयनमा आएको २ वर्षमा ३ अर्ब १० करोड रुपैया श्रमिकको योगदान रकम संकलन भएको छ । यो रकम योजनामा सूचीकृत भएका लगभग १३ हजार रोजगार प्रतिष्ठानमध्येबाट ७२ हजार श्रमिकले जम्मा रहेको रकम हो ।
योजनामा करिब १ लाख ८० हजार श्रमिक सूचीकृत भए पनि ७२ हजारको मात्र रकम जम्मा भएको हो । सामाजिक सुरक्षा योजनामा सूचीकृत भएका रोजगारदाताले २० र श्रमिकको तर्फ बाट ११ प्रतिशत गरी ३१ प्रतिशत मासिक रुपमा जम्मा गर्नुपर्छ । सामाजिक सुरक्षा दिवसको अवसरमा बिहीबार आयोजित भर्चुअल कार्यक्रममा बोल्दै कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले पछिल्लो समय सूचीकरणका साथै नियमित योगदान गर्ने योगदानकर्ताहरूको संख्यामा समेत उल्लेख्य सुधार भई कात्तिक मसान्तसम्ममा योगदानकर्ता ७२ हजार पुगेको जानकारी दिए ।
२०७६ मंसिरमा कोषमा सूचीकृत प्रतिष्ठानहरूको संख्या १० हजार २ सय ३५ रहेकोमा २०७७ मंसिर १० गतेसम्म यो संख्या १२ हजार ९१५ पुगेको छ ।
त्यसैगरी कोषमा सूचीकृत योगदानकर्ताहरूको संख्या २०७६ को सोही अवधीमा १ लाख २३ हजार ५ सयबाट बढेर १ लाख ७९ हजार ७ सय ९१ पुगेको थियो । कार्यकारी निर्देशक ज्ञवालीले कोषले सञ्चालन गरिरहेका सुरक्षा योजना अन्तर्गत लाभग्राही योगदानकर्तालाई सुविधा दिने कार्य निरन्तर बढिरहेको बताए ।
कोषले सञ्चालन गरेको औषधोपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा हालसम्म ६ सय ५२ वटा दाबीवापत १ करोड १३ लाख कोषबाट विभिन्न योगदानकर्तालाई भुक्तानी भएको छ ।” कार्यकारी निर्देशक ज्ञवालीले भने “दुर्घटना तथा असक्तता सुरक्षा योजनामा हालसम्ममा ४७ ओटा दावीवापत १० लाख ५८ हजार, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत २८ वटा दावीअन्तर्गत १३ लाख ७९ हजार र वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत ३८ ओटा दावीवापत ३५ लाख ६२ हजार गरी जम्मा १ करोड ७३ लाख भन्दा बढी दाबी भुक्तानी भएको छ ।”
लकडाउन अवधिमा कोषमा आबद्ध योगदानकर्ता तथा रोजगारदाताबाट कोषमा जम्मा गर्नुपर्ने चैतदेखि असारसम्मको १ अर्ब ३ करोड योगदान रकम सरकारले अनुदान दिएको थियो । कोषले सम्बन्धित योगदानकर्ताको नाममा रहेको सामाजिक सुरक्षा कोष खातामा सो रकम जम्मा गरिदिने काम सम्पन्न गरेको जनाएको छ ।
कोषले रोजगारदाता र श्रमिकको आर्कषण बढाउन आय कर विनियमावलीको संशोधनमार्फत विगतमा ३ लाख रुपैयाँमात्र रहेको कर छुटको सीमालाई वृद्धि गरी प्रतिवर्ष कोषमा जम्मा गरेको ५ लाखसम्मको रकममा कर नलाग्ने व्यवस्था गरेको छ । त्यसैगरी आव. २०७७-०७८ को बजेट बक्तब्य मार्फत २०७७ चैत्र मसान्तसम्ममा अन्य अवकास कोषहरूमा रहेको रकम कोषमा ल्याउँदा कर नलाग्ने व्यवस्था समेत गरेको छ । यसबाट अन्य कोषमा रहेको रकम सामाजिक सुरक्षा कोषमा ल्याउने कुरा सहज भएको कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्