राजधानीको एकीकृत विकासका लागि प्रदेश सरकारको योजना «

राजधानीको एकीकृत विकासका लागि प्रदेश सरकारको योजना

सुर्खेत-कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका सुर्खेतको विकासका लागि विशेष योजनाकासहित काम गर्ने भएको छ ।
प्रदेश राजधानीको व्यवस्थित विकासका लागि प्रदेश सरकारले एक समिति निर्माण गरी काम थालेको हो । चालु आर्थिक वर्षबाट काम सुरु गर्नेगरी आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला संयोजक रहेको प्रदेश राजधानी वीरेन्द्रनगरको एकीकृत विकास समिति गठन गरिएको छ । समितिले वीरेन्द्रनगरको तत्कालिन र दीर्घकालिन महत्वको विकासका लागि नीतिगत निर्णय गरेको छ । समितिको बैठकले राजधानी भित्रका खानेपानी, सडक, हरियाली प्रवद्र्धन, पर्यटन विकास र विमानस्थल विस्तारका योजनालाई पहिलो प्राथमिकतामा राखेको छ । यहीँ मंसिर ३ र ८ गते बसेको बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री ज्वालाले राजधानी भित्रका सडकलाई यथाशिघ्र निर्माण सम्पन्न गर्ने, वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या समाधान गर्न भेरी नदीको पानी लिफ्टिङ्ग गर्ने, सडकमा सोलार बत्तीको व्यवस्था गर्दै सीसीटिभी क्यामरासहितको सुरक्षित र हरियाली राजधानी बनाउनेगरी तत्काल काम सुरु गर्ने निर्णय गरिएको बताए ।
प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा एक अर्ब एक करोड बजेट प्रदेश राजधानीको विकासका लागि विनियोजन गरेको छ । जसमा ५० करोड विमानस्थल विस्तारका लागि हो भने ५१ करोड राजधानीको एकीकृत विकासका लागि खर्च गरिने छ । समितिले राजधानी केन्द्रीत पहिलो योजना खानेपानीलाई प्राथमिकता दिएको छ ।
उत्पत्यकाको खानेपानी समस्या समाधान गर्न भेरी र झुप्रा दोभानबाट पानी लिफ्टिङ गरेर सुब्बाकुनाको अमृत डाँडामा झार्न संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयको योजनालाई तत्कालै कार्यन्वयनमा लैजाने समितिले निर्णय गरेको छ । तत्काल आयोजनाको ठेक्का प्रक्रिया सुरु गर्न कार्यालयलाई अनुरोध गरिएको र ढिला गरेमा प्रदेश सरकार आफैंले ठेक्का प्रक्रिया गर्ने मन्त्री ज्वालाले जानकारी दिए । “उपत्यकामा भेरीको पानी ल्याउनेगरी संघीय सरकारको योजना ठेक्काको अन्तिम चरणमा छ” मन्त्री ज्वालाले भने, “अब तत्काल ठेक्कामा जानुप¥यो भनेका छौँ नभए प्रदेश सरकारलाई त्यसको रिपोर्ट दिनुप¥यो अहिले खानेपानीमा ८ करोड छुट्याएका छौँ । यसलाई बहुवर्षिय आयोजनामा लिएर ५०–६० करोडसम्मको टेण्डर गर्न सकिन्छ । यदि १३ गतेसम्म केन्द्र सरकारले टेण्डर नगरे हामी गर्छाैँ ।”
संघ र प्रदेश सरकारको सह–लगानीमा निर्माण भइरहेका वीरेन्द्रनगरका सडक कालोपत्रे गर्ने कार्यलाई तीव्रता दिई एक महिनामा सक्ने लक्ष्य सरकारको छ । मुख्यगरी नेताचौक–आँखा अस्पताल, मंगलगढी–क्याम्पस, भ्याली भ्यू होटल–उत्तर पीपल चौतारा सडकको कालोपत्रे, नाला र फुटपाथ निर्माणको बाँकी कार्य नगरपालिकालाई शीघ्र अघि बढाएर सम्पन्न गर्ने निर्णय गरेको छ । नगर क्षेत्रमा हाल २५ करोड लागतमा सडक निर्माण भइरहेकाले थप १५ करोडको टेण्डर आह्वान गरिने मन्त्री ज्वालाले बताए । यस्तै, वीरेन्द्रनगरको मुख्य बजार गणेश चोक–काठको पुलसम्मको सडक कालोपत्रे गर्ने कार्यको टेण्डर नगरपालिकालाई तत्काल अघि बढाउन निर्देशन दिइएको छ ।
मुख्य पर्यटकीय स्थल काँक्रेविहार जाने मंगलगढी–लाटीकोइली सडक निर्माणमा कार्यलाई तत्काल सक्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिइएको छ । यरिचौक–पतेनी–जैपुर, देउती–बज्यै चौखेढुंगा–काँक्रेविहार सडक र लाटीकोइली शिव मन्दिर–तल्लो पर्सेनी सडक स्तरोन्नती एवम् कालोपत्रेका लागि प्रदेश र वीरेन्द्रनगरको साझेदारीमा निर्माण गर्न छलफल गरिनेछ । धुलियाविट–बाँगेशीमल खण्ड, मुख्य बजार क्षेत्रमा सीसी क्यामरा जडान, सोलार बत्ती र हरियाली बनाउन प्रदेश र वीरेन्द्रनगर नगरपालिकाको सह–लगानीमा काम अघि बढाइने निर्णय समितिले गरेको छ ।
योजना बनाउने मात्र नभइ राजधानीको विकासका लागि विभिन्न क्षेत्रको काम अघि बढिसकेको मन्त्री ज्वालाले बताए । प्रदेश राजधानीलाई व्यवस्थित बनाउनका लागि संघीय सरकार र स्थानीय सरकारसँगको समन्वयमा प्रदेश सरकारले विशेष भूमिका खेल्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्