दूतावासहरूले मागपत्र स्वीकृत नगर्दा रोजगारीको अवसर गुम्दै «

दूतावासहरूले मागपत्र स्वीकृत नगर्दा रोजगारीको अवसर गुम्दै

खाडी मुलुकमा करिब ७० हजार कामदार माग


वैदेशिक रोजगार व्यवसायीहरूले खाडी मुलुकमा रहेका नेपाली दूतावासहरूले मागपत्र प्रमाणीकरण नगर्दा वैदेशिक रोजगारीको अवसर गुम्दै गएको गुनासो गरेका छन् ।
व्यवसायीहरूले पछिल्लो समय साउदी अरव, दुबई, बराइन, कतारलगायतका विभिन्न मुलुकबाट आएका मागपत्र सम्बन्धित देशका दूतावासबाट स्वीकृत नभएको गुनासो गरेका हुन् । मंगलबार प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा व्यवसायीहरुले खाडी मुलुकबाट करिब ७० हजारको संख्यामा कामदार माग हुने गरी मागपत्र आउने क्रममा रहेपनि कोभिड–१९ लाई कारण देखाउँदै दूतावासहरूले स्वीकृत नगर्दा वैदेशिक रोजगारीको माग गुम्ने स्थिति आउन लागेको बताएका छन् । बैठकमा नेपाल वैदेशिक रोजगार व्यावसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले मन्त्रिपरिषद्को गत भदौ १४ गतेको बैठकले वैदेशिक रोजागरीलाई खुल्ला गर्ने निर्णय गरेपनि दूतावासहरूले मागपत्र प्रमाणिकरण नगरिदिँदा वैदेशिक रोजगारका लागि नयाँ कामदार पठाउन नसकिएको बताए । उनले वैदेशिक रोजगारी विभागले समेत अन्तिम स्वीकृति र पूर्व स्वीकृति खुल्ला गरेको अवस्थामा राजदूतावासले मागपत्र प्रमाणीकरण नगर्नुलाई गम्भिरता पूर्वक लिएको भन्दै यसबाट मन्त्रिपरिषद्को निर्णयलाई समेत दूतावासले अवहेलना गरेको महसुस भएको पनि बताए ।
महासचिव श्रेष्ठले दूतावासहरूले मागपत्र स्वीकृत नगरिदिँदा भिजिट भिसामा खाडी मुलुक पुग्ने गरेको समेत बताए । उनले हालसालै मात्र ५ देखि ६ हजार नागारिक पर्यटन भिसाबाट दुबई प्रस्तान गरेको बताए । बैठकमा लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले समेत मागपत्र स्वीकृत नहुँदा भिजिट भिसामा रोजगारीका लागि जानेहरूको संख्या बढेको भन्दै विमानस्थलमा करोडौंको चलखेल हुने गरेको दावी समेत गरे ।
नेपाल सरकारले कोभिड संक्रमणको जोखिम कम भएका मुलुकहरूमा वैदेशिक रोजगारका लागि कामदार पठाउन खुला गरेको छ । तर सम्बन्धीत मुलुकमा रहेका दूतावासबाट मागपत्र प्रमाणिकरण नभएपछि नयाँ कामदार पठाउन नसकिएको व्यवसायीहरूको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्