चितवनमा चक्लाबन्दी सुरु «

चितवनमा चक्लाबन्दी सुरु

भरतपुर-चितवनमा चक्लाबन्दीका कार्यक्रम सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा कार्यान्वयन इकाई चितवनले मंगलबार माडीबाट चक्लाबन्दीका कार्यक्रम सुरुवात गरेको हो । चक्लाबन्दी खेतीको प्रर्वद्धन र उत्पादन लागत घटाउन चक्लाबन्दीका कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जानकारी दिएको छ ।
चक्लाबन्दी शुभारम्भ गर्दै माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले माडीमा सुरुवात भएको चक्लाबन्दीले कृषि क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । “चक्लाबन्दी कार्यक्रमबाट हामी आशाबादी छौँ,” उनले भने, “जनभावना अनुसार कार्यक्रम अगाडी बढ्छ ।” माडी नगरपालिकाले क्षमताको कदर गर्दै कृषिका नीति तथा कार्यक्रमहरु अगाडी बढाउने प्रतिबद्धता समेत व्यक्त गरे । उनले राज्यका तर्फबाट भएका लगानी र अनुदानलाई किसानले सही सदुपयोग गर्नुपर्ने बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई चितवनका प्रमुख मेघनाथ तिमिल्सिनाले यस कार्यक्रम नमुनाको रुपमा अगाडी बढाउने भन्दै आगामी वर्ष पनि निरन्तरता दिने बताए । “व्यवस्थित किसिमको विशिष्टिकृत कृषिका लागि चक्लाबन्दी आवश्यक छ,” उनले भने, “यस्ता किसिमका कार्यक्रम सञ्चालन गर्न चाहने युवालाई सरकारी स्तरबाट सहयोग हुन्छ ।” कृषि क्षेत्रको विकासबाट नै नेपाललाई समृद्ध नेपाल बनाउने सकिने उनले बताए ।
कृषि ज्ञान केन्द्र चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत राजन ढकालले नाफामुलक कृषिका लागि चक्लाबन्दी आवश्यक रहेको बताए । “नाफामूलक कृषि गर्न यान्त्रिकरणमा जानुपर्छ” उनले भने, यसबाट ५० देखि ६० प्रतिशत लागत घटाउन सकिन्छ ।” माडीमा चक्लाबन्दी गरिएको जमिनमा प्राङ्गारिक खेती हुन लागेकोमा खुशी व्यक्त गर्दै ढकालले प्राङ्गारिक खेती दिगो विकाससँग जोडिएको बताए ।
स–साना जमिनलाई एकीकृत गर्दै सामूहिक तरिकाबाट खेती प्रणाली अगाडी बढाउन चितवनमा चक्लाबन्दीको कार्यक्रम सुरुवात भएको हो । यस आर्थिक वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई चितवनले ८ वटा चक्लाबन्दीका कार्यक्रम सञ्चालन गर्दैछ । त्यसका लागि ८० लाख रुपैयाँ बजेट रहेको कार्यालयका कृषि अधिकृत माधव पौडेलले जानकारी दिए । एउटा कृषि सहकारी, समूह तथा फर्मले चक्लाबन्दी कार्यक्रम सञ्चालन गर्न १० लाख रुपैयाँ अनुदान प्राप्त गर्नेछन् ।
चक्लाबन्दीका लागि सहकारीका लागि २२ विघा, कृषक उद्यमीको १५ विघा जमिन आवश्यक पर्ने कृषि अधिकृत पौडेलले जानकारी दिए । जमिनको लालपूर्जा र किसानको सहमतिमा खेती गर्ने योजना लिएर आएमा किसानहरु यस कार्यक्रममा सहभागि हुन सक्छन् । यस कार्यक्रममा सहभागिता हुन निवेदन समेत आह्वान गरिएको छ ।
कार्यालयले माडी प्राङ्गारिक कृषि फर्म तथा अनुसन्धान केन्द्रलाई १५ विघा जमिन चक्लाबन्दीका लागि १० लाख अनुदान दिएको हो । त्यस फर्मबाट प्राङगारि कृषि उपजको उत्पादन र अनुसन्धान गरिने फर्मका निर्देशक भानेश्वर ढकालले जानकारी दिए । उनका अनुसार १५ जनाको जमिनमा चक्लाबन्दी गरिएको छ । अब चार महिनाभित्र चक्लाबन्दीको कार्यक्रम सकेर खेती लगाइने उनले बताए । चितवनमा यसअघि पनि माडी ८ कान्तिपुर र भरतपुर–२६ मा सामुदायिक खेती हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्