प्रदेश सरकारको बजेट खर्च बढ्यो «

प्रदेश सरकारको बजेट खर्च बढ्यो

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७७÷०७८ मा खर्चको दर बढाएको छ । पहिलो चौमासिक (साउनदेखि कात्तिक मसान्तसम्म) मा गत वर्षको तुलनामा १.२५ प्रतिशत चालु र २.४१ प्रतिशत पुँजीगत खर्च वृद्धि भएको जनाएको छ ।
गत वर्ष यही अवधिमा ५.४० प्रतिशत चालु खर्च भएकोमा यस वर्ष ६.६५ प्रतिशत (एक अर्ब १० करोड ४७ लाख ५० हजार रुपैयाँ) चालु खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बताए । उनले गत वर्ष ३.५२ प्रतिशत चालु खर्च भएकोमा यसवर्ष ५.९३ प्रतिशत (९९ करोड ३८ लाख ७६ हजार रुपैयाँ) पुँजीगत खर्च भएको बताए ।
मन्त्रालयले चौमासिक प्रगति सार्वजनिक गर्न बुधबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बोहराले यस वर्षको पहिलो चौमासिकमा कुल दुई अर्ब नौ करोड ८६ लाख २६ हजार रुपैयाँ (६.२९ प्रतिशत) खर्च भएको जनाए । सो अवधिमा गत वर्ष प्रदेश सरकारले कुल ४.५३ प्रतिशत खर्च गरेको थियो । यस वर्ष प्रदेश सरकारले गत वर्षको तुलनामा कुल खर्च १.७६ प्रतिशत मात्रै बढाउन सफल भएको हो । चालु वर्षका लागि प्रदेश सरकारले २२ अर्ब ३८ करोड १३ लाख ५८ हजार विनियोजन गरेको छ भने गत आर्थिक वर्षका लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजार विनियोजन गरेको थियो ।
प्रदेश सरकारले गतवर्ष कुल बजेटको ६२.८२ प्रतिशत मात्रै खर्च गर्न सफल भएको थियो । तर यस वर्ष ९० प्रतिशत भन्दा बढी बजेट खर्च गर्ने मन्त्री बोहराले दाबी गरेका छन् । उनले पहिलो चौमासिकमा प्रदेश सरकरको बजेट खर्च सन्तोषजनक रहेको बताए । “कर्मचारी प्रयाप्त नहुँदा र कोभिडका कारण पनि हामीले बजेट खर्च बढाएका छौं,” मन्त्री बोहराले भने, “अर्को चौमासिकमा ४० प्रतिशत र आर्थिक वर्ष अन्यसम्म ९० प्रतिशत भन्दा बढी बजेट खर्च हुन्छ ।”
सुदूरपश्चिमको प्रदेश सभाले १९.५१, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १.२९, आर्थिक मामिला तथा योजना मन्त्रालयले ०.८१, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ७.४५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ४.२९, आन्तरिक मामिला तथा कानुन मन्त्रालय ८.८८, भौतिक पूर्वाधार विकास मन्त्रालयले ८.२५, सामाजिक विकास मन्त्रालयले ८.०८ र स्थानीय तहलाई वित्तीय हस्तान्तरण ८.५१ प्रतिशत खर्च भएको आर्थिक मामिला मन्त्रालयले जनाएको छ ।

राजस्व संकलन लक्ष्य भन्दा बढी
चालु आर्थिक वर्षको पहिलो चौमासिकमा प्रदेश सरकारले लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा ७६ करोड ७० लाख ३० हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा पहिलो चौमासिकमै ३१ करोड नौ लाख ६६ हजार रुपैयाँ (४५.९३ प्रतिशत) राजस्व संकलन गरेको छ । सोही अवधिमा गत आर्थिक वर्षमा प्रदेश सरकारले ३२.१२ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो ।
मन्त्री बोहराले करको दर घटाएर करको दायरा फराकिलो बनाएकाले यस वर्ष राजस्व संकलन उत्साहजनक रुपमा भएको जनाए ।

प्रतिक्रिया दिनुहोस्