सिनियरहरूकै भूमिकाले महासंघको साख र गरिमा संकटमा प-यो «

सिनियरहरूकै भूमिकाले महासंघको साख र गरिमा संकटमा प-यो

नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष चन्द्रप्रसाद ढकाल शनिबार हुने महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार हुन् । ढकालको परिचय मुलुकको चेम्बर आन्दोलनमा सर्वाधिक लोकप्रिय व्यक्तिमा मात्र सीमित छैन, उनी नेपालको रेमिट्यान्स क्षेत्रसहित थुप्रै व्यवसायका निमित्त पायोनियर नै मानिन्छन् । सरकारबाट प्रदान गरिने सीआईपी, उत्कृष्ट करदाता कम्पनीलगायतका पुरस्कारमा पनि सधैँ परिरहन्छन् ढकाल । महासंघमा कार्यकारिणी समिति सदस्य र उपाध्यक्षमा निर्विरोध निर्वाचित ढकालले एसोसिएटतर्फ सदस्यमा पनि लोकप्रिय मत ल्याएर कहिल्यै दोस्रो नहुने रेकर्ड राखेका छन् । आईएमई ग्रुपका अध्यक्ष रहेका ढकाल ग्लोबल आईएमई बैंकका अध्यक्ष पनि हुन् । जीवन तथा निर्जीवन बिमा, इन्भेस्टमेन्ट कम्पनी, को–अपरेटिभलगायतका वित्तीय क्षेत्रसहित चन्द्रागिरि हिल्स, आईएमई अटोमोटिभ्स, हिमालय पावर पार्टनर्स, माउन्टेन इनर्जी, शंकर अक्सिजनलगायतका डेढ दर्जनभन्दा बढी व्यावसायिक संस्थामा उनको लगानी छ । ढकालसँग उनको चुनावी अभियान, एजेन्डा तथा अर्थतन्त्रका विविध पक्षबारे कारोबारकर्मी सरस्वती ढकालले गरेको कुराकानीको सार :

मुलुक कोरोना संकटमा छ, अर्थतन्त्र पुनरुत्थानको कार्ययोजना सरकारसँग देखिँदैन । यस्तो बेला अग्रसरता लिनुपर्ने निजी क्षेत्रको नेतृत्व भने निर्वाचनका नाउँमा आन्तरिक द्वन्द्वमात्र बढाइरहेको छ, किन ?
नेपाल उद्योग वाणिज्य महासंघ निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था हो । सरकारपछिको सबैभन्दा ठूलो नेटवर्क भएको महासंघ मुलुकभरका करिब १० लाख व्यवसायीको आवाज मुखरित गर्ने एकमात्र संस्था भएकाले यो संस्था विधिसम्मत ढंगले चल्नुपर्छ । विधिसम्मत भनेको के हो भने हामी अहिले महासंघ कार्यकारिणी समितिमा रहेका पदाधिकारी तथा सदस्यहरूको कार्यकाल गत चैत मसान्तसम्म मात्र थियो । चैतमै साधारणसभा र निर्वाचन गर्न लकडाउनका कारण सम्भव नभएपछि हाम्रो कार्यकाल आफैं थप्दै अगाडि बढ्नुपर्ने अवस्था आयो । यसरी कार्यकाल थप्दै जाँदा भोलिका दिनमा वैधानिक संकट आउन सक्छ र कतिपय अवस्थामा नैतिक संकट पनि आउन सक्ने भएकाले महासंघको साधारणसभा र निर्वाचन अपरिहार्य थियो । यसैले हामी मंसिर ११ गतेदेखि १३ गतेसम्म साधारणसभा र निर्वाचन गर्दैैछौं ।
निश्चय पनि अहिले मुलुक कोभिडको महासंकटमा छ र यो बेला सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्र पुनरुत्थान र जागरणका कार्यक्रमहरू ल्याउनुपर्ने बेला हो । तर, यसका लागि पनि निजी क्षेत्रमा विश्वसनीय र वैधानिक नेतृत्व पनि उत्तिकै आवश्यक छ र त्यो वैधानिक नेतृत्व निर्वाचनले मात्र प्राप्त हुन सक्ने अवस्था रहेकाले हामी निर्वाचनमा जानैपर्ने बाध्यता रह्यो । अहिले त पुरानो नेतृत्वले जिम्मेवारी लिन नचाहने र नयाँले पनि पदबहाली नगरी किन जिम्मेवारी लिने भन्ने ढंगले अगाडि बढ्न खोज्दा समग्रमा निजी क्षेत्रको प्रभावकारिता देखिन सकेन । यसलाई हामीले स्वीकार्नैपर्छ र निर्वाचनपछि अर्थतन्त्र पुनरुत्थानका पक्षमा महासंघ सशक्त ढंगले अगाडि बढ्नेछ । यसैले निर्वाचनलाई द्वन्द्व बढाउने भन्दा पनि समस्याको सम्बोधन गर्ने प्रस्थान बिन्दुका रूपमा लिनु उचित हुनेछ ।

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा तपाईं वरिष्ठ उपाध्यक्षको उम्मेदवार हुनुहुन्छ । तर, नेतृत्वमा पुग्न तपाईंले अलि हतार गर्नुभयो अथवा सहमतिका लागि तत्परता देखाउन सक्नुभएन भन्ने पनि आरोप छ नि ?
मैले नेतृत्वका लागि स्वाभाविक दाबी गरेको हो । महासंघमा दुई कार्यकाल सदस्य भएर उपाध्यक्षको कार्यकाल पनि पूरा गरिसकेको व्यक्तिको चाहना स्वाभाविक रूपमा त्योभन्दा माथिल्लो पदमा जाने नै हुन्छ । विधानले नै पदाधिकारीमा एक कार्यकाल पूरा गरिसकेपछि वरिष्ठ उपाध्यक्षका लागि योग्य ठहर गरेको अवस्था छ । सहमतिका लागि म तयार नरहेको भन्ने कुरा त झन् सरासर झूटो हो । मैले गत वर्षदेखि नै सहमतिका लागि तयार छु भन्दै आएको थिएँ र आज पनि म तयार नै छु । तर, बेला बितेपछि गरिएको सहमतिको प्रयास केवल औपचारिकताका लागि मात्र हो भन्ने मेरो बुझाइ रह्यो । म व्यवसायमा पनि र महासंघमा पनि शून्यबाटै माथि उठेको व्यक्ति हो र हरेक चुनौती र प्रतिस्पर्धासँग जुधेरै यहाँसम्म आइपुगेको छु भने जस्तोसुकै अवस्थाको पनि सामना गर्न तयार छु । सहमतिका नाउँमा पद बाँडफाँड गरेर योग्य साथीहरूलाई नेतृत्वमा आउने बाटो छेक्नु हुँदैन भन्ने मेरो मान्यतालाई सहमतिविरोधी भनेर प्रचार गरिन्छ भने पनि म त्यो आरोप सहन तयार छु ।

तपाईंप्रति धेरै पूर्वअध्यक्षदेखि वरिष्ठ उपाध्यक्षसम्मको सद्भाव नै देखिन्छ । तर, तपाईंले पूर्वअध्यक्ष चण्डीराज ढकाललाई छाड्न नसक्दा उहाँहरूले समर्थन गर्न सक्नुभएन भन्ने साँचो हो ?
मलाई जसले यो आरोप लगाइरहनुभएको छ उहाँहरूको अभियान हेर्नुस् । मलाई मेरो प्रतिस्पर्धीसँग कुनै गुनासो छैन तर उहाँलाई ओझेलमा पार्ने गरी शेखर गोल्छाजी र पशुपति मुरारकाजी जसरी हिँडिरहनुभएको छ, त्यसले के संकेत गर्छ ? मलाई चण्डीराज ढकालको साथ छाड्नुस् भन्नेले किन आफैं यही प्रवृत्तिको पुनरावृत्ति गरिरहनुभएको छ ? उहाँहरूका अभिव्यक्ति तथा गतिविधिले महासंघको प्रतिष्ठा कहाँ पु¥याइरहेको छ भन्ने हेक्का राख्न सक्नुभएन । निवर्तमान अध्यक्ष भइसकेको व्यक्ति अँध्यारो कोठामा बसेर एक–एक भोट केलाइरहनुभएको छ, भोट माग्दै हिँडिरहनुभएको छ भने यसले महासंघमा कसको स्वार्थ कति रहेछ भन्ने देखिँदैन र ? उहाँहरूले जसको विरोध गरिरहनुभएको छ तर आफैंले त्यही बाटो पछ्याउँदा कम्तीमा विरोध गर्ने नैतिकता त नरहनुपर्ने हो । देशभरका आमव्यवसायी साथीहरू के भन्छन्, उनीहरूको चाहना के छ भन्ने हेक्का छैन; तर चुनावी जोडघटाउमा दिलोज्यान दिएर लाग्नेहरूको स्वार्थ सबैले बुझ्नु जरुरी छ ।

महासंघमा वरिष्ठ उपाध्यक्ष भनेको भूमिकाविहीन पद हो । अहिले यति सक्रिय हुुनुहुन्छ, तीन वर्षसम्म कसरी निष्क्रिय भूमिकामा रहन सक्नुहुन्छ ?
महासंघको विधानले वरिष्ठ उपाध्यक्षलाई सक्रिय हुन रोकेको छैन । महासंघजस्तो संस्थामा कुनै पनि पदभन्दा जिम्मेवारी महसुस गर्ने कुरा हो । म अहिले नै पनि एसोसिएट उपाध्यक्ष हुँ भनेर काठमाडौंमै खुम्चेर बसिनँ र देशका सबैजसो जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूको कार्यक्रममा जाने गर्थें । जिल्लाका साथीहरूले आफ्नो उपाध्यक्षभन्दा मलाई गुनासो सुनाउन सहज मान्ने गर्थे र म पनि समाधानका लागि निःस्वार्थ भावले पहल गर्थें । यसरी महासंघमा मलाई विधानले यतिमात्र गर् भनेको छ भन्दै आफैंभित्र खुम्चिएर बस्ने नभई आफ्नो दायरा आफैं फराकिलो बनाउने हो । त्यसैले म निष्क्रिय हुनेछैन । म देशैभरका साथीभाइको सुख–दुःखमा साथै रहन्छु । उहाँहरूका समस्या लिएर राज्यका ढोका ढकढक्याउनेछु भने लगानीमैत्री वातावरण निर्माणमा हमेसा फ्रन्टलाइनमा रहेर काम गर्नेछु ।

तपाईंले महासंघ नेतृत्वमा गएर के गर्ने भन्ने बृहत् एजेण्डा अघि सार्नुभएको छ, तर तपाईं नेतृत्वमा पुग्ने बेलासम्म यी एजेन्डा असान्दर्भिक भइसक्दैनन् र ?
हामीले अघि सारेको एजेन्डा ‘एफएनसीसीआई भिजन–२०२५’ भनेकै मैले नेतृत्व लिने बेलामा महासंघलाई कसरी अघि बढाउने भन्ने आँखीझ्याल हो । त्यो बेलासम्म निजी क्षेत्रको भूमिका कसरी प्रभावकारी बनाउने तथा अहिलेको कोरोना संकट समाधानदेखि मुलुकको समग्र आर्थिक विकासका खाका त्यसमा समेटिएका छन् । हामीले अघि सारेका एजेन्डामा त्यो बेलाको स्थितिको प्रक्षेपण पनि गरिएको छ भने यसबीचमा आइपर्ने समस्या तथा चुनौतीका आधारमा त्यसमा पुनरावलोकन पनि हुनसक्छ । हामीले थिंक ट्यांकको गठन गर्ने भनेको पनि यसैका लागि हो कि बदलिँदो परिवेशअनुसार निजी क्षेत्रको भूमिका पनि रूपान्तरण हुँदै जानुपर्छ र त्यसका लागि विज्ञहरूको समूहले इनपुट दिनेछ ।

मंसिर १३ गतेको साँझबाटै महासंघभित्रको गुट विघटन गर्नुपर्छ भन्ने यहाँको प्रस्ताव सकारात्मक भए पनि विगतको अभ्यास हेर्दा के त्यो सम्भव छ र ?
महासंघमा म प्रवेश गरेको एक दशकभन्दा बढी समय भइसक्यो । म आफैं चौथो निर्वाचनको तयारीमा छु । यो अवधिमा मैले यसभित्रका अभ्यासहरूलाई नजिकबाट केलाउने अवसर पाएको छु । महासंघको बाहिर जुन छवि छ, त्यसअनुसार नतिजा आउन सकेको छैन । यसको कारण हाम्रो आन्तरिक समस्या नै हो । निजी क्षेत्रका एजेन्डाका विषयमा हामीबीच कुनै समस्या छैनन्, तर हामी आन्तरिक रूपमा एक हुन नसक्दा हाम्रा इस्यु र एजेन्डाहरू कमजोर भइरहेका छन् । हामीले त महासंघभित्र नभई बाहिर रहेका निजी क्षेत्रका सबै संघ–संगठनलाई मिलाएर साँच्चै निजी क्षेत्रको एपेक्स बडी महासंघलाई बनाउनु छ भने अब पनि आन्तरिक झगडा र गुटबन्दीमै अलमलिएर बस्यौं भने त्यो निजी क्षेत्रका लागि मात्र नभएर सिंगो मुलुककै लागि दुर्भाग्यपूर्ण हुनेछ । यसैले मैले भनेको हो कि अहिले हामी प्यानल बनाएर निर्वाचनमा गए पनि मंसिर १३ गते राति जे परिणाम आउँछ त्यसलाई स्वीकारौं र भोलिपल्टबाटै एकढिक्का भएर अगाडि बढौं । हामी समग्र निजी क्षेत्रको संरक्षण र संवद्र्धनकै लागि महासंघमा आएका हौं भने यति त गर्नैपर्छ । म यसका लागि तयार छु, मेरो टिम पनि तयार छ भने अब विगतमा असम्भव देखिएको अवस्थालाई पनि सम्भव तुल्याउनुपर्छ ।

तपाईं र तपाईंको समूह निर्वाचित भएमा सम्पूर्ण निजी क्षेत्र नै तीन वर्षपछि पछुताउनुपर्छ भन्नेसम्मका अभिव्यक्ति जिम्मेवार व्यक्तिबाटै आउन थालेको छ, यसलाई कसरी लिनुभएको छ ?
यसलाई मैले दुर्भाग्यपूर्ण भनेको छु र जसजसले यो भनिरहनुभएको छ उहाँहरूलाई आफ्नै विगत फर्केर हेर्न पनि विनम्रतापूर्वक आग्रह गर्छु । आफ्नो यो अभिव्यक्तिको भोलिका दिनमा पर्न सक्ने दुष्प्रभावका विषयमा पनि उहाँहरूले हेक्का राख्न सक्नुभएन र यसबाट उत्पन्न हुनसक्ने परिस्थितिको जिम्मेवार उहाँ नै हुनुपर्छ । अर्कातर्फ उहाँहरूले छातीमा हात राखेर भन्न सक्नुपर्छ कि महासंघको पछिल्लो एक दशकभन्दा लामो अवधिमा चन्द्र ढकालले महासंघको र सिंगो निजी क्षेत्रको शिर झुकाउने काम कति गरेको छ भनेर । यसैले उहाँहरूले दुनियाँलाई बेवकुफ बनाउन सक्नुहोला तर आफ्नै अन्तरआत्मासँग भूmट बोल्न सक्नुहुन्न भन्ने मलाई विश्वास छ । यद्यपि म संयमित छु, उहाँहरूका व्यक्तिगत कुरामा म जान चाहन्नँ, किनकि म स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्छु । म अरूको कमजोरीमा प्रहार गरेर नभई आफ्नो स्ट्रेन्थमा विजयी हुन चाहन्छु ।

महासंघमा तपाईंले नेतृव गर्ने अर्को निर्वाचनपछि मात्र हो । त्यो बेला यो टिम नरहन पनि सक्छ भने अहिले प्यानल नै बनाउनुपर्ने बाध्यता किन रह्यो ?
महासंघ सामूहिक नेतृत्वमा चल्ने संस्था हो । वरिष्ठ उपाध्यक्ष भनेको मूर्ति होइन, उसको पनि त्यहाँ नेतृत्वदायी भूमिका नै रहन्छ । यहाँ अध्यक्ष सुनिश्चित भइसकेको व्यक्तिले त यहाँ मेरो प्यानल भन्दै एउटा समूहलाई बोकेर हिँडिरहनुभएको छ भने म त निर्वाचनमा भोट चाहिने उम्मेदवारले टिम बनाउनैप¥यो नि ! फेरि निर्वाचन भनेको अलि प्राविधिक विषय पनि हो, मेरो एकल प्रयासभन्दा संयुक्त प्रयास नै सफल र सार्थक हुने भएकाले पनि यो आवश्यक रह्यो । अहिले त हाम्रा वरिष्ठ उपाध्यक्ष, अध्यक्ष, निवर्तमान अध्यक्ष जसरी हामीविरुद्ध लागिरहनुभएको छ, यसले त हाम्रो टिम जरुरी रहेछ भन्ने झनै देखाउँछ ।

तपाईंले एफएनसीसीआई भिजन–२०२५ भनेर अवधारणा वा एजेन्डा अगाडि सार्नुभएको छ । मुलुकको राजनीतिक, प्रशासनिक संयन्त्र हेर्दा वा हाम्रो आर्थिक–सामाजिक अवस्थाले त्यो कार्यान्वयन सम्भव देखिन्छ र ?
इच्छाशक्ति भए सम्भव छ । मुलुकमा समृद्धिको बहस भइरहेको छ, विगतमा भन्दा धेरै हदसम्म सरकार र राजनीतिक दलहरूले पनि आर्थिक एजेन्डालाई प्राथमिकता दिन थालेका छन् । यसमा निजी क्षेत्रले सघाउने हो, बाटो देखाउने हो । आर्थिक विकासका समस्या र चुनौतीबारे जानकार निजी क्षेत्र जत्तिको अरू को होला र ! यसैले हाम्रो अनुभवका आधारमा सरकारको नीतिले नै अबको बाटो तय गर्न सकिन्छ । यसका लागि हाम्रो एफएनसीसीआई भिजन–२०२५ ले पनि बाटो देखाउन सक्छ र महासंघमा गठन हुने थिंक ट्यांकको सुझावका आधारमा हाम्रो दायरा अझै फराकिलो ढंगले अगाडि बढाउन सकिन्छ । राजनीतिक दल, प्रशासनिक नेतृत्वलाई अहिलेको अवस्थासम्म थोरै भए पनि आर्थिक क्षेत्रमैत्री बनाउन सकियो भने भोलि यसलाई अझै स्पिडअप गरेर अगाडि बढाउन नसक्ने भन्ने हुँदैन ।

महासंघको यो निर्वाचनमा तपाईंले उद्योग–वाणिज्य, वस्तुगत तथा एसोसिएटमध्ये कुन क्षेत्रमा कति प्रतिशत मत पाउने आकलन गर्नुभएको छ ?
हामी उत्साहित छौं । हामी तीनवटै समूहमा लिड गर्दैछौं । यसैले हामी मंसिर १३ को पर्खाइमा छौं । अहिलेसम्म जिल्ला–नगरका साथीहरूले ८० देखि ८५ प्रतिशत मतको आकलन गर्नुभएको छ भने वस्तुगत र एसोसिएटमा पनि हामी ८० प्रतिशतभन्दा माथि नै छौं । हाम्रो समूहको जित सुनिश्चित छ र निर्वाचन परिणामको पर्खाइमा छौं ।

तपाईंको समूहले जित हासिल ग-यो भने भोलिका अध्यक्ष शेखर गोल्छालाई काम गर्न अप्ठ्यारो पार्नुहुन्छ कि भन्ने आशंका पनि गरिँदै छ नि ?
यो बिलकुलै गलत हो । उहाँ हाम्रो अध्यक्ष हो र उहाँको सफलतासँग सिंगो निजी क्षेत्रको पनि सफलता जोडिएकाले हामी एकजुट भएर अगाडि बढ्नुपर्छ । बरु उहाँलाई आफूले समर्थन गरेको टिम आउन सकेन भनेर मनमा ग्लानि हुन सक्ला, तर त्यो पनि नगर्नुस् भनेर हामी भन्न चाहन्छौं । चुनावको परिणामलाई स्पोट्र्सम्यानसिपको भावनामा स्वीकारेर अगाडि बढ्नुको कुनै विकल्प छैन ।

अन्त्यमा, साधारणसभामा भाग लिन आएका आमव्यवसायी तथा मतदातालाई के भन्न चाहनुहुन्छ ?
सबैभन्दा पहिले त म यहाँहरू सबैलाई धन्यवाद भन्न चाहन्छु कि कोभिडको त्रासदीबीच पनि महासंघको साख र गरिमा वृद्धिका लागि साधारणसभा र निर्वाचनमा सहभागी भइदिनुभएको छ । महासंघ तपाईं–हामी सबैको साझा प्रयासले अगाडि बढ्ने संस्था हो । यसको नेतृत्वको कार्यशैलीसँग सिंगो निजी क्षेत्रको प्रतिष्ठामात्र जोडिएको छैन कि नेपाली अर्थतन्त्रको भविष्य पनि गाँसिएकाले तपाईंहरूले मतदानमा विवेक पु-याउनुपर्छ । महासंघलाई निजी उद्यम व्यवसायको हितरक्षा, औद्योगीकरणको प्रवद्र्धन र अर्थतन्त्रलाई उल्लेख्य योगदान पु-याउन सक्ने र त्यस कार्यका लागि सरकार एवं सबै सरोकारवालाबीच सहज समन्वय गर्न सक्षम एक गतिशील नेतृत्वको आवश्यकता छ । वरिष्ठ उपाध्यक्षका रूपमा मैले आपूmलाई त्यो जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्ने विश्वास दिलाउन चाहन्छु । महासंघको नेतृत्वमा रहेर थप योगदान गर्नका लागि मलाई यहाँहरूबाटै प्रेरणा प्राप्त भएको हो । मेरो उम्मेदवारीको मूल आधार पनि यही हो । मुलुकभर उद्यम व्यवसाय प्रवद्र्धन तथा प्रोत्साहित गर्न र स्थापित उद्यम व्यवसायहरूको उन्नति एवं व्यवसाय विस्तारका लागि सघाउन महासंघको नेतृत्व प्रत्यक्ष रूपले क्रियाशील हुनुपर्छ । यो हाम्रो राष्ट्रिय जिम्मेवारी वहन गर्न म हरतरहले तत्पर छु र सबै उद्यमी–व्यवसायी साथीहरूको अमूल्य मत पाउने कुरामा विश्वस्त छु ।


प्रतिक्रिया दिनुहोस्