द्रुतमार्गमा खर्च बढी, उपलब्धि कम «

द्रुतमार्गमा खर्च बढी, उपलब्धि कम

काठमाडौंलाई तराई (मधेश)सँग जोड्ने सबैभन्दा छोटो सडक अर्थात द्रुतमार्ग निर्माणमा हालसम्म १६ अर्ब ६६ करोड रुपैयाँ खर्च भए पनि प्रगति भने १६.२१ प्रतिशतमा सीमित छ । काठमाडौं–तराई (मधेश)द्रुतमार्ग सडक खण्डको कुल लम्बाई ७२.५ किलोमिटरमध्ये हालसम्म ११ प्रतिशत भौतिक प्रगति भएको र वित्तीयतर्फ ९.५२ प्रतिशत खर्च भएको नेपाली सेनाले जनाएको छ ।
आयोजनाको चालू आर्थिक वर्षसम्म १६.२१ प्रतिशत भौतिक प्रगति हासिल गर्ने लक्ष्य लिएको सेनाले जनाएको छ ।
१ खर्ब ७५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना आव २०८०÷८१ मा सम्पन्न गर्ने लक्ष्य छ । आयोजाको लागि चालू आर्थिक वर्षमा पुँजीगततर्फ ८ अर्ब ८४ करोड र चालूतर्फ ९ करोड ८४ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । चालू आवमा ६.४१ किमी सुरुङमार्ग निर्माणको प्याकेजको ठेक्का व्यवास्थापन,४ किमी ढुङगा–माटोको कार्य फर्मेसन लेभलसम्म निर्माण हुने, ८ सय ७ रोपनी जग्गा अधिग्रहण÷प्राप्ती गर्ने, ११ सय ५० रुख कटान गरी वृक्षरोपण कार्य गर्न कार्ययोजना रहेको छ । रुख कटान भएअनुसार १ः२५ को अनुपातमा वृक्षरोपण कार्य गर्दै जाने योजना मुताविक चालू आवको कात्तिक महिनासम्ममा फलफूलका विरुवाहरू १९ हजार २२ र अन्य प्रजातिका विरुवाहरू १ लाख ५७ हजार ४ सय ९४ गरी कुल जम्मा १ लाख ७६ हजार ५ सय १६ वृक्षरोपण गरिएको छ । जसमध्ये कात्तिक महिनामा मात्र अन्य प्रजातीका विरुवाहरू १२ हजार ९ सय ६८ वृक्षरोपण गरिएको सेनाले जनाएको छ ।
सुरुङमार्ग ६.४१ किमी निर्माणको लागि पहिलो प्योकजमा पाँच मुलुकका २१ र दोस्रो प्याकेजको लागि २२ कम्पनीले इच्छुक भएर पूर्वयोग्यता बोलपत्र प्रस्ताव पेश गरेको र हाल यो कम्पनीहरूको मूल्यांकनको काम भइरहेको नेपाली सेनाका सूचना अधिकारी सन्तोषबल्लभ पौडेलले बताए । “यस वर्षसम्म आयोजनाको प्रविधिक, निर्माणको आधार तयार हुने छ र आउने वर्षबाट आयोजनाको निर्माणले गति लिने छ,” पौडेलले भने, “विगतका वर्षमा आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र अन्तर्राष्ट्रिय परामर्शदाता छनोट गर्दा समय लागेको भएपनि अव भने प्राविधिक पक्ष सवल बन्दै आयोजनाको आधार बन्दै गएकाले निर्माणले गति लिने छ ।”
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएपछिको ४ वर्षको समय सीमामा रहेर सेनाले आयोजनाको काम गरिरहेको जनाएको छ । सुरुङमार्ग निर्माणका लागि अन्तर्राष्ट्रिय निर्माण कम्पनीको टुङगो लागेर काम अगाडि बढेसँगै आयोजनाले पूर्णरुपमा गति लिने पौडेलले बताए । हालको सयममा भने आयोजनाको निर्माणको आधार (वेसलेवल) तयार गरिरहेको सेनाले भनेको छ । सुरुङ मार्ग निर्माण गर्न जिओटेक्निकल तथा जिओफिजिकल इन्भेस्टिगेसनका लागि परामर्शदाता छनोट गरी त्यसको मूल्यांकन भइरहेको सेनाले जानकारी दिएको छ ।
आयोजनाको पुस १५ गतेसम्म सुरुङमार्गको ठेक्का प्रकृयाका जाने र आयोजनाको लक्ष्यअनुसार प्रगति हासिल भए चैत महिना सुरुङ मार्ग निर्माण सुरु हुने पौडेलको भनाई रहेको छ । सो समयसम्म आयोजनाको आधार तयार पूरा भएर सोही आधारमा चैत्र, वैशाखसम्म आयोजनाले गति लिने विश्वास लिएको छ । द्रुतमार्गमा पर्ने तीन सुरुङमार्ग निर्माणका लागि आह्वन गरिएकोमा सेनाले सुरुङमार्गलाई दुई वटा प्याकेजमा विभाजन गरेर प्रस्ताव माग गरेको थियो ।
प्याकेज १ मा एउटा सुरुङमार्ग र प्याकेज २ मा दुई वटा सुरुङमार्ग निमार्ण गर्ने गरि योजना अगाडि बढाइएको छ । पहिलो प्योकजमा महादेवडाडादेखि छोक्रेडांडासम्मको ३.३५ किमीको लागि २१ र दोश्रो प्याकेजको दुई सूरुङमार्ग छोक्रेडांडा–धेद्रेखोलादेखि १.६३ किमी, धेद्रेखोलादेखि लेनडांडा सम्मको १.४२ किमीको लागि २२ विदेशी कम्पनीले प्रस्ताव पेश गरेको थियो । द्रुतमार्ग सडक खण्डको कुल लम्बाई ७२.५ किमीमध्येमा सुरुङमार्ग ६.४१ किमी, पुल १०.५१ किमी र ५५.५ किमी सडक खण्डमा निर्माण सडक विस्तार गर्नु पर्नेछ । आयोजनाको ४४.१ किमी सडकखण्डको सबग्रेड लेबल तयार गर्ने माटो भर्ने,माटो काट्ने काम सम्पन्न भएर हालसम्म यसमा ८८ प्रतिशत कार्यप्रगति भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्