यात्रु संख्या नपुग्दा प्रत्येक उडानमा घाटा

पर्वत-क्षमता अनुसारको यात्रु संख्या नपुग्दा काठमाडौँ–बलेवा उडानमा प्रत्येक पटक घाटा हुने गरेको छ । प्रत्येक उडानमा १२ जनाको दरले यात्रु हुनुपर्ने भए पनि अपुग भएपछि अधिकांश उडानमा नोक्सानी बेहोर्नुपर्ने बाध्यता परेको हो । यसैबीच नेपाल एयरलाईन्सले बलेवा विमानस्थलमा उडान भरेबापत बिहीबार मात्रै एकैदिन झन्डै ६० हजार घाटा बेहोर्नुपरेको छ ।
नेपाल एयरको विमानलाई दुवैतर्फ यात्रु अपुग भएपछि बागलुङ नगरपालिकाले बिहीबार मात्रै ५६ हजार नोक्सानी बेहोर्नु परेको हो । बिहीवारको उडानमा काठमाडौँदेखि बलेवा आउने ११ जना यात्रु थिए भने बलेवाबाट काठमाडौं जानेको संख्या ३ जना मात्र थिए । प्रत्येक उडानमा १२ जना यात्रु हुनुपर्नें सम्झौता बागलुङ नगरपालिकासँग भएपछि नेपाल एयरले गएको चैतदेखि काठमाडौं–बलेवा, बलेवा–काठमाडौँ साताको एक दिन उडान सुरु गरेको थियो । तर, दुवैतर्फ गरी १४ जना मात्र यात्रु भउपछि बाँकी १० जना यात्रुको हर्जना बागलुङ नगरपालिकाले बेहोर्नु परेको हो ।
विमान अभावका कारण बीचमा झन्डै तीन महिना उडान रोकेको नेपाल एयरले चाडवाडको समयलाई लक्षित गरी असोज २५ गतेदेखि पुनः सुचारु गरेको थियो । दसंैको समयमा नियमित उडानको अलाबा साताको दुइटा उडान गर्ने वायुसेवा निगमले अनुमति दिएको भए पनि यात्रु अभावका कारण हुन नसकेको नागरिक उड्डयन कार्यालय बलेवाका प्रमुख सूर्यबहादुर खत्रीले जानकारी दिए । खत्रीका अनुसार नियमित उडान सुरु भए पनि दुवैतर्फ पर्याप्त यात्रु संख्या पुग्न नसकेको हो । उनका अनुसार अहिले नेपाल एयरलाइन्सले प्रत्येक बिहीबार सातामा एकपटक मात्र उडान गरिरहेको र तिहार लगत्तै तारा एयरले पनि उडान भर्ने जानकारी आएको बताए ।
अपुग यात्रुको हर्जना बागलुङ नगरपालिकाले व्यहोर्ने सहमति भएपछि गएको चैत ९ गतेदेखि विमानस्थल सुचारु भएको थियो । नगरपालिकाले अपुग यात्रुहरूको हर्जना तीर्नका लागि तारा एयर र नेपाल एयरलाइन्सलाई १०÷१० लाख गरी २० लाख रुपैयाँ अग्रिम भुक्तानी गरेको थियो । अहिलेसमम उक्त सम्झौता कायमै छ ।
नेपाल एयरलाइन्सले हालसम्म १५ र तारा एयरले असारसम्म १२ वटा उडान भरेको कार्यालय प्रमुख खत्रीले जानकारी दिए । नगरपालिकाले हालसम्म अपुग भएका यात्रुहरूको मात्रै ११ लाखभन्दा बढी रकम असुल गरेको छ । नेपाल एयरलाइन्सको उडान भाडाप्रति यात्रु ५ हजार ६ सय कायम गरिएको छ भने तारा एयरका लागि ६ हजार ७ सय ९५ रुपैयाँ पर्छ । २०१८ सालमा निर्माण भएको विमानस्थल पोखरा–बागलुङ राजमार्ग खुलेपछि २६ वर्षदेखि बन्द थियो । बलेवादेखि काठमाडौंसम्म ४५ मिनेटमा पुग्न सकिन्छ ।
दुवै कम्पनीले नियमित उडान गर्ने र केही भाडादरमा केही सहुलियत गरी यात्रुको भाडा केही प्रतिशत नगरपालिकाले बेहोर्ने भएमा यात्रुको संख्या बढाउन सकिने कार्यालय प्रमुख खत्रीको भनाइ छ ।