चिराइतोको मूल्य घट्दा किसान चिन्तित «

चिराइतोको मूल्य घट्दा किसान चिन्तित

जडिबुटीको चिराइतोको मूल्य निरन्तर ओरालो लागेपछि पाँचथरका चिराइतो उत्पादक किसान चिन्तित बनेका छन् । पूर्वका उच्च पहाडी क्षेत्रमा उत्पादन हुने चिराइतोले मूल्य नपाएपछि चिराइतो किसान चिन्तामा परेका हुन् । अघिल्लो वर्षदेखि मूल्यमा आएको भारी गिरावटसँगै चिराइतो कारोबारमा समस्या आएको किसानहरू बताउँछन् ।
तीन वर्षअघि प्रतिमन २७ हजार रुपैयाँसम्म खरिद बिक्री भएको चिराईतो अघिल्लो वर्ष मुस्किलले प्रतिमन आठ हजार रुपैयाँमा कारोबार भएको थियो । यो वर्ष मूल्यमा भारि गिरावट भएपछि जिल्लामा चिराइतोको कारोबार नै ठप्प जस्तै भएको छ ।
औषधिका रूपमा प्रयोग गरिने चिराइतो प्रशोधन गर्ने उद्योग नेपालमा नभएकाले चिराइतोका मूल्यमा गिरावट आएको व्यापारीहरू बताउँछन् । नेपालमा उत्पादन भएको सबै चिराइतो भारत निकासी हुँदै आएको छ । भारतीय बजारमै नेपालमा उत्पादन भएको चिराइतोको माग हुन छाडेपछि नबिक्ने स्थितिमा पुगेको चिराइतो व्यापारी प्रताप राईले बताए । “अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादन भएको चिराइतोका माग हुन छाडेपछि कारोबार रोकिएको हो,” राई राइले भने, “चिराइतो प्रशोधन गर्ने उद्योग नेपालमा नहुँदा समस्या भएको हो ।”
फालेलुङ गाउँपालिकाका किसान सुदीप राईका अनुसार यो वर्ष उत्पादन भएको चिराइतो बिक्री भएको छैन । प्रतिमन पाँच हजार रुपैयाँसम्म चिराइतोको मूल्य भएको हल्ला भनिए पनि व्यापारीहरू चिराईतो खरिदका लागि गाउँ नपुग्दा कारोबार ठप्प भएको हो । चिराईतो बिक्री नभएपछि २५ रोपनी जमिनमा उत्पादन करिब १० मन चिराइतो राईले घरमै थन्काएका छन् ।

“अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादन भएको चिराइतोका माग हुन छाडेपछि कारोबार रोकिएको हो ।”

च्याङथापु–८ का दुर्गा बेघाले तीन वर्ष अघि पाँच मन चिराइतो प्रतिमन २५ हजार रुपैयाँका दरले बिक्री गरेर १ लाख २५ हजार रुपैयाँ हात पारेका थिए । राम्रो मूल्य पाएपछि निकै उत्साहका साथ चिराइतो खेतीमा लागेका बेघाले गतवर्ष र यो वर्ष उत्पादन भएको चिराइतो बिक्री गर्न सकेका छैनन् । “मूल्यमा आएको गिरावाटले चिराइतो बिक्री गर्न सकिएको छैन,” बेघाले भने ।
तीन वर्ष अघिसम्म चिराइतोले राम्रो मूल्य पाएपछि अधिकांश किसान यसको व्यावसायिक खेतीतर्फ लागेका थिए । इलाम, पाँचथर र ताप्लेजुङका तत्कालीन १९ गाविसमा अन्तर्राष्ट्रिय संस्था ‘द माउन्टेन इन्स्टिच्युट’ (टिएमआई) र दीपज्योति युवा क्लब पाँचथरले जैविक विविधता संरक्षण तथा जडिबुटी संरक्षणसम्बन्धी तालिम कृषक तथा सरोकारवालाहरूलाई प्रदान गरेपछि चिराइतो खेतीले व्यापकता पाएको थियो । राम्रो मूल्य पाएसँगै तालिमबाट किसानले चिराइतोसम्बन्धी ज्ञान तथा महत्व बुझेपछि यसको व्यावसायीक खेती सुरु भएको हो ।
समुद्री सतहदेखि तीन हजार मिटरसम्म्मको उचाइमा चिराइतो खेती गरिन्छ । औलो ज्वरो, रुघाखोकी, जीउ दुख्ने साथै दमका रोगीलाई घरेलु औषधिका रूपमा प्रयोग गरिने चिराइतो विभिन्न औषधि बनाउन पनि प्रयोग गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्