कुपन प्रणालीबाट धान खरिद «

कुपन प्रणालीबाट धान खरिद

नेपालगन्ज-खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले कुपन प्रणालीबाट धान खरिद कार्य सुरु गरेको छ । कम्पनीले कोरोना कहरका साथै कृषकहरुको सहजताका लागि कुपन वितरण गरेर तोकिएको दिनमा कुषकलाई बोलाई धान खरिद गर्न सुरु गरेको हो । कुपन प्रणाली लागु भएपछि धान बिक्रीका लागि डनलप, टयाक्टरलगायतले खचाखच भरिने, वर्षातका कारण धान भिज्ने, बिग्रने र हप्तौसम्म पालो कुर्दै रात बिताउनुपर्ने अवस्थाको यस वर्ष अन्त्य भएको कम्पनीले जनाएको छ ।
“कुपनमा कृषकको विवरणसहित बेच्ने धानको अनुमानित परिमाण र कृषकले धान लिएर आउने दिन तोकिएको हुन्छ” मुख्य शाखा प्रमुख निर्मल थापाले भने, “तोकिएकै दिनमै धान किनबेच हुन थालेपछि हामी सबैलाई सजह भएको छ ।” एकैदिन धेरै धान नआओस भनेर एउटा कुपनमा ५० क्वीन्टलसम्म धान बिक्री गर्न पाइने नियम बनाएको उनको भनाइ छ ।
कम्पनीले यस वर्र्ष कृषकको सहजताका लागि मंसिर ६ गतेदेखि कुपन वितरण सुरु गरेको थियो । कोरोना महामारीलाई मध्यनजर गर्दै कुपन वितरण गरिएपनि कुपन वितरणमा भएको भिडले भने जोखिम बढाएको छ । कुपन प्रणालीबाट दैनिक एक हजार क्वीन्टल धान खरिद गरीरहेको कम्पनीले जनाएको छ । कुपन वितरणमा असहज भएपनि बिक्रीमा भने सहज भएको कृषकहरुले बताएका छन ।
बाँके राप्तीसोनारी ४ का कृषक शेरबहादुर चौधरीले गत वर्र्ष कम्पनीमा धान बिक्री गर्न निकै सास्ती झेल्नु परेको बताए । “गत वर्ष खाने मानादेखि बस्ने व्यवस्थासहित १० दिन कुरेपछि मात्र पालो पाएका थियौं” उनले भने, “यस वर्र्ष भने कुपन प्रणाली अनुसार तोकिएको दिनमै धान बेच्न पाउँदा खुसी लागेको छ ।”
उनी जस्तै डुडुवा गाउँपालिका २ का कृषक युनुस खाँले पनि कुपन प्रणालीबाट धान खरिद भएपछि निकै राहत भएको बताए । कुपन लिन लाइनमा बसेका उनले गत वर्र्ष १५ दिनसम्म खाद्यमै रात बिताउनुपरेको सम्झदै यस वर्र्ष आफूले तोकिएको दिनमै धान बेच्न पाउने आशा व्यक्त गरे । “पहिला खाई नखाई गरेर धेरैदिन कुनुपर्ने अवस्था थियो, चोरी हुने, मौसमी जोखिम त्यतिकै थिया” उनले भने, “यस वर्ष आफ्नो पाला आएको दिन गएर बेच्न पाइने भयो ।”
कम्पनीले यस वर्र्ष पहिलो चरणमा ४० हजार क्वीन्टल मोटो र मध्यम धान खरिद गर्ने लक्ष्य राखेको जनाएको छ । हाल कम्पनीको मुख्य शाखा कारकाँदो नेपालगन्जबाट खरिद भइरहेकोमा त्यहाँको गोदाम भरीएपछि नेशनल ट्रेडिङ्ग नेपालगन्जबाट खरिद गर्ने कम्पनीको तयारी छ । सरकारले तोकेको समर्थन मूल्य अनुसार मोटा धान प्रति क्वीन्टल २ हजार ७ सय ३५ रुपैयाँ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैयाँमा कम्पनीमा धान खरिद भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्