जलविद्युत् उत्पादनका लागि सुविधा «

जलविद्युत् उत्पादनका लागि सुविधा

कुनै पनि देशको सर्वतोमुखी विकासका लागि जलविद्युत्ले महŒवपूर्ण भूमिका खेल्छ । त्यसैले आज विश्वका धेरै देशहरूमा यसको उत्पादनमा विशेष जोड दिन थालिएको छ ।
वि.सं. १९६८ जेठ ९ गते ५ सय किलोवाटको फर्पिङ जलविद्युत् आयोजनाबाट नेपालमा जलविद्युत् उत्पादनको सुरुवात भएको हो । हाल यहाँ १ हजार ३ सय ८६.८ मेगावाट जलविद्युत् उत्पादन क्षमताको पावर हाउस सञ्चालनमा छ । वर्तमान सरकारले चालू आर्थिक वर्ष २०७७÷७८ को अन्त्यसम्ममा यहाँ जलविद्युत् उत्पादन जडित क्षमता ३ हजार मेगावाट पुग्ने प्रक्षेपण गरेको छ ।
हाल यहाँ राष्ट्रिय विद्युत् प्रणलीबाट विद्युत् सेवामा पहुँच पुगेको जनसंख्या ९०.१ प्रतिशत छ । तर प्रतिव्यक्ति जलविद्युत् खपत २ सय ६० किलोवाट घण्टा छ, जुन विकसित मुलुकका जनताले गर्ने खपतको तुलनामा निकै कम हो ।
चार–पाँच वर्षअघि झन्डै २७ प्रतिशत विद्युत् चुहावट हुने देशमा हाल १४.०७ प्रतिशत मात्र चुहावट हुन्छ । यो विद्युत् चुहावट नियन्त्रण कार्यमा ठूलो सफलता हो ।
नेपाल जलविद्युत् उत्पादनका लागि सुधारोन्मुख अवस्थामा छ । यसका लागि सरकारले केही सुविधा पनि प्रदान गरेको छ ।
औद्योगिक व्यवसाय ऐन–२०७५ ले जलविद्युत्को उत्पादन, प्रसारण वा वितरणमा लगानी गर्नलाई दस वर्ष आयकर छुट दिएको छ । त्यसपछि पनि पाँच वर्ष आयकरमा छुट छ । जलविद्युत् उत्पादनमा लगानी गर्नेलाई आकर्षित गर्न सरकारले प्रतिमेगावाट ५० लाख नगद अनुदान दिने नीति लिएको छ ।
जलविद्युत् उत्पादनका लागि आवश्यक सामग्रीहरूको आयातमा केही छुट दिने व्यवस्था छ । आन्तरिक तथा बाह्य लगानी आकर्षित गरी यहाँको जलविद्युत् उत्पादन वृद्धि होस् भन्ने उद्देश्यले केही सुविधा प्रदान गरिए पनि अपेक्षित परिणाम आउन सकेको छैन । त्यसैले यहाँका नीति–नियमहरूलाई समयसापेक्ष बनाउन आवश्यक छ ।
जलविद्युत् उत्पादनका लागि स्वदेशी लगानी अपुग छ । यही कारणले जलाशययुक्त तमोर र माडी आयोजना तथा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाबाट लाभ लिन सकिएको छैन । राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रसारणलाइनको निर्माणमा पनि लगानी अपर्याप्त छ । यसका लागि पनि थप सुविधासहित बाह्य लगानी जुटाउन आवश्यक छ ।
आज देश संघीय शासन प्रणालीमा रूपान्तरित भएकाले अब यहाँको जलविद्युत् विकासका लागि प्रदेश सरकार र स्थानीय तह जागरूक हुनुपर्छ । पहिचान गरिएका लगानीयोग्य जलविद्युत् आयोजनाहरूमा प्रदेश सरकार र स्थानीय तहले विशेष सुविधा दिई पहल गर्नुपर्छ । यसो गर्न सकेमा यहाँको जलविद्युत् उत्पादनले तीव्र गति लिनेछ र आर्थिक समृद्धि पनि सम्भव हुनेछ । तर यसका लागि सरकारी तथा गैरसरकारी संस्थाहरूको सक्रिय सहयोगको आवश्यकता छ ।

प्रतिक्रिया दिनुहोस्