कोइला अभावले पेसा संकटमा

कञ्चनपुर-वेदकोट नगरपालिका–७ सुडाका मान सिंह टमटा ८१ वर्षको भए । बाल्यकालदेखि नै पुख्र्याैली पेसा आरन व्यवसायबाट जीविका चलाउँदै आएका टमटा अहिले निकै चिन्तित बनेका छन् । कोइला अभावले आरन व्यवसाय बन्द हुने अवस्थामा पुगेपछि उनी चिन्तित बनेका हुन् ।
मान सिंहका ३० वर्षीय छोरा नरेश टमटा पनि बुबालाई सघाउँछन् । उनले पनि बाल्यकालदेखि नै यो पेशालाई निरन्तरता दिएको बताउँछन् । नरेश टमटाका दुई छोरा र छोरी छन् । यो पेशाबाटै घर खर्च र छोराछोरीको पढाइ खर्च चलाएको उनले बताए ।
उनले भने, “अरु केही व्यवसाय छैन यसैबाट घर खर्च, छोराछोरीको पढाइ खर्च चलाएको छु कमाउन पर्याप्त जमिन पनि छैन ।” यो पेसाबाट कमाइ राम्रो भए पनि कोइला अभावले बन्द गर्नुपर्ने अवस्थामा पुगेपछि आफूहरूलाई घर खर्च चलाउन निकै समस्या भएको टमटाले बताए ।
पछिल्लो समय सामुदायिक वनले जंगल पस्न निषेध गरेपछि कोइला अभाव भएको हो । दलित समुदायको मुख्य पेशाको रूपमा रहेको आरन व्यवसाय युवापुस्ताले रुचाउन छाडेपछि झनै समस्या भएको मान सिंह टमटाले बताए । उनले भने, “पहिला जंगल जान दिन्थ्ये जंगलबाट दाउरा ल्याए र चलाउँथे अहिले सामुदायिक वनले जंगल बन्द गरेको छ कोइला नभएरै अहिले बन्द गरेको छु ।” उनले रक्सी भट्टीबाट ४ सयको १ कठ्ठा कोइला ल्याउने गरेको भए पनि त्यो महँगो र सधैं नपाइने बताए । उनले आरन व्यवसायका लागि मुख्य समस्या भनेकै कोइला भएको बताए । उनले आफूसँग अरु केही सीप नभएकाले सरकारले यसै व्यवसायमा सघाउनु पर्ने बताए । आफ्नो पुख्र्याैली पेसा जोगाई राख्न पनि सरकारले यसको संरक्षणका लागि पहल गनुपर्ने उनको भनाइ छ ।
आरन पेसा संकटमा पर्दा गाउँमा दैनिक कृषि काममा आवश्यक पर्ने हँसिया, कुटो, कोदालोलगायतका सामान बनाउन समस्या भएको स्थानीयको भनाइ छ । उनीहरूले हँसिया, कुटो, कोदालोलगायतका सामग्री कृषि कार्यका लागि मात्र नभई आरनबाट उत्पादित ऐतिहासिक तरवार, त्रिशुल, विभिन्न कलात्मक भगवानका मूर्ति बनाउने गरेका छन् ।