सामाजिक सुरक्षा कोषको रकम १२ क्षेत्रमा लगानी हुँदै «

सामाजिक सुरक्षा कोषको रकम १२ क्षेत्रमा लगानी हुँदै

सरकारले सामाजिक सुरक्षाको नाममा विभिन्न शिर्षकमा जम्मा भएको रकमलाई एकीकृत गरी विभिन्न नाफायोग्य क्षेत्रमा लगानीका लागि कार्यविधि बनाएको छ । सामाजिक सुरक्षा कोषले हाल श्रमिकबाट संकलन गर्दै आएको ३१ प्रतिशत, सामाजिक सुरक्षा करको १ प्रतिशत र कल्याणकारी कोषको रकमलाई १२ वटा विभिन्न क्षेत्रमा लगानी गर्न सामाजिक सुरक्षा कोषको लगानी कार्यविधि २०७७ बनाएको हो ।

मंगलबारसम्म कोषले ३ अर्व ४ करोड योगदान रकम संकलन गरिसकेको छ भने कल्याणकारी कोषमा पनि २६ अर्ब जम्मा भइसकेको छ । विगत १ दशकदेखि सामाजिक सुरक्षा कर शीर्षकमा लगभग २२ अर्ब रुपैयाँ जम्मा भएको छ । कार्यविधिको अन्तिम मस्यौदा तयार भइसकेको र मन्त्रिपरिषदको आउँदो बैठकबाट पारित हुने कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिए । कोषले २ वर्ष अगाडि नै स्वीकृतिका लागि पेश गरेको थियो । उनका अनुसार ऐनमा सरकारबाट स्वीकृत लगानीसम्बन्धी कार्यविधिको सीमाभित्र रही समितिले कोषको मौज्दात र सम्पत्तिको परिचालन गर्नसक्ने अधिकार दिएकाले विभिन्न क्षेत्रमा लगानी गर्न लागिएको हो ।
योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा सामाजिक सुरक्षाका नाममा विभिन्न शीर्षकमा जम्मा भएको रकमलाई कार्यविधि बनाएर लगानी गर्न सकिने उल्लेख छ । सरकारको ऋणपत्रमा लगानी गर्ने तथा त्यस्तो ऋणपत्र खरिद तथा विक्री गर्ने, प्रचलित बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनबमोजिम वित्तीय कारोबार गर्न इजाजत प्राप्त क बर्गको बैक तथा वित्तिय संस्थाको मुद्दति खाता वा दीर्घकालीन प्रकृतिका निक्षेप योजनाहरुमा लगानी गर्ने, बैक, वित्तीय संस्था तथा अन्य सीमित दायित्व भएको कम्पनीमा सेयर लगानी गर्ने कोषको ऐनमा उल्लेख छ । त्यसैगरी समितिले उपयुक्त ठह-याएको क्षेत्रमा प्रचलित कानुनबमोजिम स्थापित बैक तथा वित्तीय संस्थाहरुसँग मिलि सह–वित्तीयकरणको आधारमा धितो विभाग (परिपासु) गर्ने गरी आपसमा भएको सम्झौताअनुसार संयुक्त रूपमा ऋण दिने, समितिले उपयुक्त ठह-याएको प्रचलित कानुनबमोजिम संस्थापित कम्पनी वा संगठित संस्थाले जारी गरेको डिबेञ्चरमा लगानी गर्ने, स्वीकृतिप्राप्त म्युचुयल फण्डमा लगानी गर्ने ऐनमा उल्लेख छ ।
उपयुक्त स्थानको पहिचान गरी व्यावसायिक प्रयोजनको भवन निर्माण गरी बहालमा दिने, प्रचलित कानुनबमोजिमस्थापित बैक तथा वित्तिय संस्थाको जमानतामा शर्त र ब्याज तोकी प्रचलित कानुनबमोजिम स्थापित कम्पनी वा संगठित संस्थालाई ऋण दिने, उपयुक्त ठह¥याएको क्षेत्रमा धितो वा जमानी लिई लगानी गर्ने, कोषको ऋण असुलमा कुनै जायजेथा कोषलाई प्राप्त भएमा सो जायजेथाको उपयोग गर्न कोष आफैं वा अन्य संस्थासँगको सहकार्यमा सो व्यवस्थापन गर्ने भनिएको छ । सामाजिक सुरक्षा योजनामा सहभागी भएका श्रमिक, स्वरोजागरमा रहेका व्यक्ति, सरकारी सेवामा बहाल रहेको व्यक्त वा सरकारी कोषबाट पारिश्रमिक पाउने व्यक्तिलाई तोकिए बमोजिम ऋण दिने तथा कोषको रकम लगानी सम्बन्धी अन्य कार्य गर्ने पनि ऐनमा उल्लेख छ ।
कोषका प्रवक्ता विवेक पन्थी प्रचलित बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनबमोजिम वित्तीय कारोबार गर्न इजाजतप्राप्त वाणिज्य बैंक वा वित्तीय संस्थाको मुद्दती खाता वा दीर्घकालीन प्रकृतिका निक्षेप योजनाहरुमा लगानी गर्ने विकल्प समेत रबताउँछन् । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाप्रति आकर्षण बढाउन योगदानकर्ताको चाहना अनुसार केही सहुलियतका योजना समेत ल्याउने तयारी गरेको छ । यसका लागि औवचारिक क्षेत्रका श्रमिक र स्वरोजगारलाई समेत सामाजिक सुरक्षाको दायरामा ल्याउने तयारी गरको छ ।
मगलबारसम्म कोषले ३ अर्व ४ करोड योगदान रकम संकलन भएको छ भने एक करोड १४ लाख १६ हजार ९ सय ६८ दाबी लाभग्राहीलाई भुक्तानी गरेकोे छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबी लाभग्राही ४४६, आश्रित परिवार सुरक्षा दाबी लाभग्राही २४, दुर्घटना तथा अशक्तता सुरक्षा दाबी लाभग्राही ३४ र उपदान दाबी भुक्तानी ३२ जनाले लिएको कोषले जनाएको छ । कोषमा हालसम्म १ लाख ७९ हजार ३४० योगदानकर्ता र १२ हजार ८९४ रोजगारदाता सूचीकृत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्