सबै देशमा उडान खुला «

सबै देशमा उडान खुला


कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमणको जोखिमको अवस्था मूल्यांकन गरी सबै देशहरूमा उडान खुला गर्ने निर्णय गरेको छ । मंगलबार बसेको सीसीएमसी निर्देशक समितिको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुकबाहेक अन्य मुलुकमा पनि आवश्यकताअनुसार उडान अनुमति दिने निर्णय गरेको हो ।
संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुकुलमा पनि आवश्यकताअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित उडानको अनुमति दिने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए । “नियमित उडान स्वीकृति भएका देशका अलावा संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुलुकमा पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आवश्यकताअनुसार क्रमशः नियमित उडान अनुमति दिँदै जाने निर्णय भएको छ,” उनले भने ।
विभिन्न सरकारी कार्यालयहरूमा एक÷दुई जनामा संक्रमण पोजेटिभ देखिने वित्तिकै सम्पूर्ण सेवा बन्द गर्ने विगतको अभ्यासलाई बन्द गर्ने पनि मंगलबार बसेको सीसीएमसीको बैठकले निर्णय गरेको छ ।

धार्मिकस्थल तत्काल नखुल्ने
सरकारले धार्मिकस्थल भने तत्काल खुला नगर्ने निर्णय गरेको छ । मठ, मन्दिर, चैत्य, गुम्बा तत्काल खुल्ला नगर्ने निर्णय सीसीएमसीले गरेको हो । सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैतदेखि गरेको लकडाउनसँगै धार्मिक क्षेत्रहरू बन्द छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मठ, मन्दिर खुल्ला गर्ने सम्बन्धमा चरणवद्ध रुपमा छलफल भएको थियो । धार्मिकस्थल खुल्ला गर्ने विषयमा मन्त्रालयले प्रस्ताव गरीसीसीएमसीमा पत्राचार गरेको थियो । तर सीसीएमसीले यही अवस्थामा मठ, मन्दिर तत्काल खुला गर्ने नसकिने जनाउँदै पत्रचार गरेको मन्त्रालयमा प्रवक्ता कमल प्रसाद भट्टराईले बताए । मन्त्रालयले स्वस्थ्य सुरक्षाका मापदण्ड अपनाएर बन्द रहेका धार्मिकस्थल खुल्ला गर्नु पर्ने प्रस्ताव राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्