सम्मानले निजी क्षेत्रको मनोबल उच्च «

सम्मानले निजी क्षेत्रको मनोबल उच्च

कोरोना कहरका बीच पनि यसपटक सूर्य नेपाल फेरि सबैभन्दा बढी कर तिर्ने संस्थागत करदाता भएको छ ।

सरकारले प्रत्येक वर्ष आर्थिक वर्षभरिमा सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्ने गर्छ । यसबाट देशमा लगानी गर्ने तथा स्वच्छ व्यवसाय गरेर सरकारलाई कर तिर्ने प्रतिस्पर्धी निजी क्षेत्रको विकास हुन्छ तथा आर्थिक पारदर्शिताले देशमा व्यावसायिक वातावरण बन्छ । तर, पछिल्ला वर्षहरूमा सरकारका एकपछि अर्को विरोधाभासपूर्ण ऐन, नीति, नियम तथा विनियमावलीका कारण निजी क्षेत्र अलमलमा परेको देखिन्छ । सरकारले कर तिर्ने वातावरण जति सहज बनाउँछ, त्यति नै सहज तरिकाले कर संकलन गर्न सक्छ । यदि सरकारले विभिन्न कागजी झमेला तथा प्रक्रियागत झमेला सिर्जना गरेको खण्डमा कर तिर्न पनि झन्झट सिर्जना भई कर छल्ने प्रवृत्ति हाबी हँुदै जान्छ । देशमा हाल उद्योग–व्यवसायलगायत सबै आर्थिक क्रियाकलापमा कोरोना कहरका कारण मन्दी आएकाले झन् कर तिर्ने वातावरण धुमिल हुँदै गइरहेको छ । तथापि सरकारले गत आर्थिक वर्षमा १५ विधामा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गर्दा यसले यस्तो विषम परिस्थितिमा पनि कर तिर्ने करदाताको मनोबल उच्च भई व्यावसायिक वातावरण बनाउन मद्दत गर्छ । सरकारले नियम–कानुनअनुरूप आफ्नो व्यवसाय वा आम्दानीमा कर तिर्नेलाई प्रोत्साहन गर्ने तथा कर छल्नेलाई करबाही गर्ने पद्धतिको विकास गर्दै लैजाँदा देशमा स्वच्छ व्यवसाय गर्ने वातावरण बन्छ र आर्थिक पारदर्शिताले अर्थतन्त्रलाई पनि प्रतिस्पर्धी बनाउन सघाउँछ ।
गत आर्थिक वर्षमा लामो समयदेखि एकछत्र सर्वोत्कृष्ट करदाताका रूपमा रहेका सिद्धार्थ राणालाई विस्थापित गर्दै जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष विजयकुमार शाहले व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिरेर सर्वोत्कृष्ट करदाताको सम्मान पाउने भएका छन् । मदिरा व्यवसायी शाहले गत आर्थिक वर्षमा व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी आयकर बुझाएका थिए । यसअघि लगातार चार वर्षसम्म तारा म्यानेजमेन्टका सिद्धार्थ राणाले उत्कृष्ट करदाता सम्मान पाउँदै आएका थिए । आन्तरिक राजस्व विभागले गत आर्थिक वर्षभरि १५ विधामा सबैभन्दा बढी कर तिर्ने करदाताको नाम आइतबार सार्वजनिक गरेको हो । प्रत्येक वर्ष मंसिर १ गते विभागले कर दिवस मनाउने गरेको छ । यसपटक नवौं राष्ट्रिय कर दिवसको समापन समारोहको अवसर पारेर विभागले उत्कृष्ट १५ करदाताको नाम सार्वजनिक गरेको हो । कोरोना कहरका बीच पनि यसपटक सूर्य नेपाल फेरि सबैभन्दा बढी कर तिर्ने संस्थागत करदाता भएको छ । साथै, पछिल्लो ११ वर्षमा मूल्य अभिवृद्धि कर (भ्याट) विवरण समयमा पेस गर्ने र समयमै कर चुक्ता गर्ने तथा सबैभन्दा धेरै भ्याट तिर्ने कम्पनीमध्येबाट घोराही सिमेन्ट उद्योग सम्मानित हुने भएको हो । साथै, सबैभन्दा बढी आयकर तिर्ने कम्पनीमा निर्यातकर्तातर्फ डाबर नेपाल प्रालि, उद्योगतर्फ हिमाल पावर लिमिटेड र कृषि एवम् पशुपन्छी उद्योगतर्फ अन्नपूर्ण एग्रो सम्मानित हुने भएका छन्् भने बैंक तथा वित्तीय संस्थातर्फ नबिल बैंक, बिमा व्यवसायतर्फ नेपाल पुनर्बिमा कम्पनी, सहकारी तथा लघुवित्त संस्थातर्फ छिमेक लघुवित्त कम्पनी, स्वास्थ्य तथा शिक्षा सेवातर्फ मणिपाल मेडिकल कलेज, व्यापार व्यवसायतर्फ अग्नि इन्कर्पोरेट, रेमिट्यान्सतर्फ आईएमई र पर्यटनतर्फ तारागाउँ रिजेन्सी (हायात होटल) सम्मानित हुने भएका छन् । यस्तै, मध्यस्तरीय करदाता कार्यालयको कार्यक्षेत्रभित्र पर्ने सबैभन्दा धेरै आयकर तिर्ने करदातामा कामना सेवा विकास बैंक परेको छ । यसरी कोरोना कहरका बीच पनि सरकारले उत्कृष्ट करदातालाई सम्मान गर्नुले निजी क्षेत्रको मनोबल बढाउन मद्दत गर्ने स्पष्ट छ । तर, सरकारले उत्कृष्ट करदाताको सम्मान मात्र गरेर हालको कोरोना महामारीले पीडित उद्योग–व्यवसायलाई राहत भने हुनेछैन, सरकारले यथाशीघ्र उनीहरूका समस्या समाधान गर्न तथा आर्थिक पुनरुत्थान गर्न उनीहरूलाई आफ्नो पूर्ण क्षमतामा सञ्चालन हुने वातावरण सिर्जना गर्नु अत्यावश्यक छ । अन्यथा चालू आर्थिक वर्षमा पनि अर्थतन्त्रले गति लिन नसक्ने पक्का छ ।

प्रतिक्रिया दिनुहोस्