जिल्ला–नगरका समस्या राज्यसम्म पु-याउनेछु «

जिल्ला–नगरका समस्या राज्यसम्म पु-याउनेछु


दुई दशकदेखि नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिमा रहँदै आएका उद्यमी दिनेश श्रेष्ठ बागमती उद्योग वाणिज्य महासंघ तथा उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष पनि हुन् । महासंघको वस्तुगततर्फ उपाध्यक्ष भइसकेका श्रेष्ठले उद्योग समिति, भन्सार तथा अन्तःशुल्क समिति, मेला तथा प्रदर्शनी समिति, घरेलु तथा साना उद्योग समिति, प्रविधि तथा विकास समितिको नेतृत्व सम्हालिसकेका छन् । माल्टाका अवैतनिक महावाणिज्य दूतश्रेष्ठ लर्ड बुद्ध एजुकेसनल एकेडेमी, नेपालगन्ज मेडिकल कलेजका अध्यक्ष हुन् । मसलन्द, स्टेसनरीलगायत दर्जन कम्पनी सञ्चालन गरिरहेका श्रेष्ठसँग उद्योग वाणिज्य संघको उपाध्यक्षमा उनको उम्मेदवारी तथा एजेण्डाका विषयमा कारोबारकर्मी सरस्वती ढकालले गरेको कुराकानी :

जिल्ला–नगर उपाध्यक्षमा तपाईंको उम्मेदवारी किन ?
जिल्ला–नगर हेर्ने महासंघमा एउटा परिषद् थियो, त्यसमा जिल्ला–नगरबाटै आएको अध्यक्ष सभापति हुनुुपर्छ भन्ने विषयमा पहिलेदेखि नै लबिङ गरेको हो । वस्तुगततर्फ पनि मैले उपाध्यक्षको भूमिका निर्वाह गरिसकेको छु । त्यतिबेला पनि जिल्लाको कसैलाई कार्यसमितिबाट दिने निर्णय हुन्छ, उसले नै हेर्ने चलन थियो । जिल्लाबाट आएकाले नै जिल्लालाई बुझ्न सक्छ भनेर नै लबिङ गरेर नेतृत्व दिनुपर्छ भन्ने हाम्रो मान्यता हो । विगत तीन वर्ष पनि महासंघमा वस्तुगतबाट उपाध्यक्ष भएपछि ३ नम्बर प्रदेश हेर्ने साथीले नै जिम्मेवारी दिएर मलाई पठाएको हो । उद्योग वाणिज्य संघ काठमाडौंलाई प्रतिनिधित्व गरेर एउटा संस्था खोल्ने र त्यसको नेतृत्व मलाई दिने सहमति भयो । त्यसै क्रममा ४० भन्दा धेरै जिल्लाका साथीहरूको समस्या बुझ्ने अवसर पाएँ । जिल्लाको समस्या त्यसमा पनि साना व्यवसायीका समस्या के छन्, त्यसलाई सम्बोधन गर्न केन्द्रमा प्रतिनिधि सक्षम हुनुपर्छ । मैले तीन वर्ष जिल्ला–नगरका समस्या बुझेकाले नयाँ जाँगरसाथ काम गर्न टिममार्फत नै मैले उम्मेदवारी दिएको हो ।

चुनावी मैदानमा जाँदा कुनै पनि उम्मेदवारले हार्छु भन्ने सोच्दैन, तपाईं पनि त्यस्तै मैदानमा हुनुहुन्छ । के छन् तपाईंका जितका महŒवपूर्ण आधारहरू ?
जिल्लाका अध्यक्ष भनेका १०-२० वर्ष काम गरेर चेम्बर अभियानमा दरिलो अनुभव भएका व्यक्तिहरू हुन् । ती अध्यक्षले हामीलाई केन्द्रमा बसेर काम गर्न अवसर दिने हो । जिल्लाका साथीहरू नै न्यायमूर्ति हुन् । उहाँहरूले जस्तो न्याय दिनुहुन्छ त्यस्तै नतिजा प्राप्त हुने हो भने भोलिका दिनमा पनि कामहरू त्यसरी नै हुनेछन् । साथीहरूले गरेको निर्णय मेरा लागि मान्य हुन्छ । वस्तुगत तथा जिल्ला–नगर दुवै उपाध्यक्ष हुँदा मैले निजी क्षेत्रका लागि गरेको योगदान उहाँहरूले नजिकबाट हेर्नुभएको छ । साथीहरूको समस्यामा सक्दो पहल गरेको छु । महासंघले रोजगारी दिन, सानो–सानो व्यवसाय गर्न जिल्लामा वातावरण बनाउने हो । मैले हिजोका दिनमा जिल्ला–नगरमा गरेका कामहरू सबैमाझ छर्लङ्ग छन् । उहाँहरूले मलाई काम गर्न सक्ने देख्नुभएको छ, त्यसकारण जिताउनुहुन्छ भन्नेमा विश्वास छ ।

कोभिडका कारण जिल्ला–नगरमा समस्या झनै बढ्दै गएको छ । उद्योग–व्यवसाय बन्द हुँदै गएका छन् भने रोजगारी कटौती भएको छ । यसलाई सम्बोधन कसरी गर्नुहुन्छ ?
जिल्ला–नगरका समस्या धेरै ठूला समस्या होइनन् । दुई–चारवटा महŒवपूर्ण निर्णय राज्यबाट हुनसकेमा जिल्लामा हुने परिवर्तन गर्न सकिन्छ । जिल्लाको हितका लागि जितेपछि मात्रै होइन, अहिले पनि म लागिरहेको छु । बैंकबाट लिएको ऋणमा क्यापिङ गरेको अवस्था छ । कतिपय कानुन हाम्रो अनुकूल छैनन्, संशोधन गर्न जरुरी छ । सरकारले साना व्यवसायीलाई सहयोग गर्ने नीति त लिएको छ । साना व्यवसायीहरूलाई चालू वर्षमा आयकरमा ७५ प्रतिशतसम्म छुट गर्ने भनेर निर्णय गरेको छ । व्यवसायीहरूलाई सरकारले दिएको यो सुविधा पहिलो पटक हो । कुनै पनि बजेटमा आउने सालमा छुट दिने विषय हुन्थ्यो, तर गएको सालका लागि त्यस्तो व्यवस्था थिएन । आउँदा दिनमा मलाई काम गर्न अवसर दिएमा जिल्ला उद्योग वाणिज्य संघलाई सबल बनाउन हामीले काम गर्ने हो । जिल्ला–नगरमा दर्ता हुने व्यवसायहरू एक बिन्दुमा मात्रै दर्ता हुनुपर्छ । प्रदेश, वाणिज्य विभाग सबैतिर दर्ता हुनुपर्ने झन्झटिलो व्यवस्था राख्न हुन्न भनेर अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका छौँ । सरकारले आफूले कसरी विभाजन गर्ने हो छुट्टै नीतिगत व्यवस्था बनाउने हो; तर व्यवसायीलाई धेरै ठाउँ दर्ता हुने झन्झटको अन्त्य हुनुपर्छ । जो व्यक्ति स्थानीयस्तरमा काम गर्छ उसले स्थानीय तहमा दर्ता गरोस्, जसले प्रदेशमा व्यवसाय गर्छ उसले प्रदेशमा दर्ता गर्ने प्रावधान हुनुपर्छ । उपभोक्ता हितका नाममा व्यवसायीहरूको अधिकार र हित हेरिएको छैन । यसले लगानीलाई हतोत्साहित गर्छ । कोभिडका कारणले लगानीमा हतोत्साहित भएका छन्, त्यसलाई संरक्षण कसरी गर्न सकिन्छ । धितो राख्न नसक्नेलाई उनीहरूसँग भएको एकदुई तोला सुनमा पनि ऋण दिन आग्रह गरेका छौं ।
व्यवसायमा पनि २४ प्रतिशत न्यूनतम राजस्वमा जान्छ । साना व्यवसायी भनेको आफंै सक्षम हुने वा रोजगारी सिर्जना गर्ने पनि हो । सरकारले बनाएको कानुन सबैले मान्नुपर्छ, तर एउटा निकायले बनाएको कानुन अर्काे निकायले मानेको अवस्था छैन । उदाहरणका लागि अर्थले ल्याएको कानुन उद्योगले मान्दैन भने उद्योगले ल्याएका कानुन अर्थले मान्दैन । संयोजनको अभाव छ । जुन पैसा सरकारले दर्ता वा जरिवानामा लिन्छ, त्यो पैसाले जानकारीमूलक कार्यक्रम गरिदिएमा सचेत हुन सक्छन् । चेम्बर ऐनलाई पनि सुधार गर्न खोजिएको छ । यसमा जिल्लाका साथीहरूको इनपुट लिएर अगाडि बढ्छौँ ।

तपाईं जिल्ला–नगरबाट उपाध्यक्षको दाबेदार हुनुहुन्छ, जिल्लाबाट मतदानमा सहभागी हुने धेरै व्यवसायीहरू कुनै न कुनै राजनीतिक दलमा आबद्ध छन् । यसले भोलिका दिनमा महासंघलाई कुनै दल विशेषतर्फ लैजाँदैन ?
यो सही हो । तर हामी उद्योगी–व्यवसायीको कर्म भनेको व्यवसाय गर्नु हो । उत्पादन सही तरिकाले प्रतिस्पर्धी रूपमा उत्पादन गर्ने र आयात गर्ने हो भने पनि गुणस्तरीय सामान आयात गर्ने हो । महासंघले गर्ने निर्णयले राजनीतिक दललाई फाइदा पुग्नेभन्दा उद्योगी–व्यवसायीको हितमा काम गर्ने हो । हाम्रो निर्णय पार्टीका लागि हुँदैन, जुनसुकै पार्टीको भए पनि फाइदा सबैलाई हुन्छ । दलहरूले बुझेका छन् । कुनै पनि दलमा सक्रिय भएको व्यक्ति पदाधिकारी हुन पाउँदैन । सदस्यसम्म हुन पाउँछ तर पदाधिकारी हुन पाउँदैन । पार्टीमा सक्रिय भएमा महासंघमा पदाधिकारी बन्न निषेध छ । कामका आधारमा मत दिने हो, राजनीतिक दलको निकटताका आधारमा होइन ।

महासंघमा स्वस्थ प्रतिस्पर्धा छ भन्न मिल्छ र ?
महासंघमा शुद्धीकरणको मुद्दा हामीले उठाएका छौँ । एउटा पक्षले गरेका कामलाई मान्नैपर्ने, अर्काे पक्षका कुरा नसुन्ने प्रचलन कायम राख्न हुन्न । महासंघभित्र व्यक्तिगत स्वार्थमा काम गर्ने व्यक्तिहरूको बाहुल्य बढेको छ, त्यसको अन्त्य हुनुपर्छ । एउटा सक्षम टिम आएमा हिजोको जस्तो अर्डर खालको सिस्टमलाई निमिट्यान्न पार्न सक्छ । व्यवसायको हितका लागि काम गर्ने टिमलाई भोट दिन म साथीहरूलाई आग्रह गर्छु ।

तपाईं गएको निर्वाचनमा पराजित हुनुभयो, फेरि उही पदमा अहिले उम्मेदवारी दिनुएको छ । महासंघमा नयाँ व्यवसायीको रुचि छैन कि पुरानाले छोड्दै नछोड्ने हो ?
कुनै संस्थामा लागिसकेपछि नेतृत्वतहसम्म पुग्ने मन सबैलाई लाग्छ । मैले सानो उमेरमै व्यवसाय सुरु गरेर अहिले पनि रातदिन नभनी व्यवसाय र व्यवसायीको हितमा काम गरेको छु । एउटा उद्योग व्यवसाय चलाउन कति कठिन छ भन्ने मैले अनुभूति गरेको छु । मैले जानेको बुझेको कुरा सबै उद्योगी–व्यवसायीलाई बताउँछु, त्यसमा प्रतिस्पर्धी भन्ने हुँदैन यो मेरो संकल्प हो । यसले आत्मसन्तुष्टि दिन्छ । म पहिला पनि वस्तुगततर्फको उपाध्यक्ष भइसकेको हुँ । मैले काम गर्न सक्छु भनेर नै साथीहरूले यो पटकलाई जिल्ला–नगर उपाध्यक्षमा जान आग्रह गरेका हुन्, मैले स्वीकार गरेको हो ।

अन्त्यमा, प्रतिस्पर्धी टिमलाई कसरी हुर्नभएको छ ?
मैले २० वर्षदेखि महासंघमा काम गरेको छु । मैले जिल्लाको अनुभूति हुने गरी काम गरेर देखाउँछु भनेर वचन दिएको छु । ढुक्क हुनुस् गरेर देखाउँछु नै । जिल्ला–नगरका उद्योगी–व्यवसायीका समस्या के हुन् भन्नेमा म पूर्ण जानकार छु । २० वर्षसम्म उद्योग समितिको सदस्यका रूपमा चेम्बर अभियानमा प्रवेश गरेको मान्छे हुँ । प्रत्येक समस्यामा कति पीडा हुन्छ भनेर बुझेको छु ।

प्रतिक्रिया दिनुहोस्