महामारीका बीच फस्टाएको अनलाइन व्यवसाय «

महामारीका बीच फस्टाएको अनलाइन व्यवसाय

आज कोरोना कहरले मानिसको दैनिकी फेरिएको छ । मानिसहरूले यस महामारीमा धेरै किसिमका अनुभवसमेत सँगालेका छन् । कसरी जीवन जिउने, दैनिकी कसरी चलाउने, रोजगारीलाई कसरी समयसापेक्ष तरिकाले चलाउने र भएका स्रोतसाधनलाई कसरी सम्बोधन गर्ने जस्ता जिज्ञासा आउनु नौलो कुरा होइन । महामारीको प्रकोप दिनानुदिन बढिरहँदा मानिसहरूले पनि प्रविधिको अधिकतम प्रयोग गरिरहेका छन् । हिजोआज मानिसले विभिन्न अनलाइनबाट घरघरमा नै चाहिने दैनिक उपभोग्य वस्तु तथा खाद्यान्न, लत्ताकपडा, फलफूलदेखि सबै कुराहरू अनलाइन सपिङ गरिरहेका छन् ।
बढ्दो कोरोना संक्रमणसँगै यस किसिमको व्यवसाय फस्टाउन थालेको अनुभूति भएको छ । भक्तपुर घर भई सोल्टीमोड, काठमाडौंमा कार्यालय भएका सुशान्त पौडेल हिजोआज घरबाट नै कार्यालयको सम्पूर्ण कार्य गर्नुहुन्छ । उहाँले आफ्नो कार्यालयमा भएको कम्प्युटर कार्यालय सहयोगीलाई खोल्न लगाउनुहुन्छ । आफू बस्ने भक्तपुरबाट इन्टरनेटको सहायताले सजिलै घरबाट नै काम गर्नुहुन्छ । घरमा कुनै किसिमको दैनिक उपभोग्य वस्तु लत्ताकपडा, किताबहरू अँदि सबै अनलाइन अर्डर गर्नुहुन्छ, जसले गर्दा बाटोमा भीडभाड कम हुन्छ र संक्रमणको जोखिम व्यवस्थापन गर्न सजिलो हुन्छ । उनी एक प्रतिनिधि पात्र हुन् । उनीजस्ता कैयांै मानिसहरूले हिजोआज प्रविधिको उचित सदुपयोग गरी कोरोना संक्रमण जोखिम व्यस्थापन गरिरहेका हुन्छन् ।
बजार मूल्यसरह वस्तु तथा सेवाको सहज आपूर्ति अनलाइन सेवाप्रदायकहरूले उपलब्ध गराइरहेका छन्, जसले गर्दा मानिसहरू हिजोआज जोखिम मोली–मोली हाटबजार भर्न जान निस्कँदैनन् । होम डेलिभरी सेवाप्रदायक कम्पनीहरूले जति धेरै अर्डर त्यति नै धेरै छिटोसमेत उपलब्ध गराउँदै आएका छन् । जसको प्रत्यक्ष फाइदा उपभोक्तालाई हुने भएकाले अनलाइन बजारको व्यापार फस्टाउँदै गएको छ । मानिसले अनलाइन अर्डर गर्नका लागि इन्टरनेट सेवाप्रदायकले भने चर्काे मूल्य उठाउने गरेको उपभोक्ताको गुनासो छ ।
मानिसहरूलाई आवतजावत गर्नका लागि सहज र सरल किसिमले यात्रा गर्न अनलाइनबाट बुकिङ, अर्डर गरी यातायात सेवासमेत सञ्चालन भएबाट मानिसले सजिलो अनुभव गरेका छन् । प्रविधिलाई मानिसले चलाउन सक्दा प्रविधिको उचित सदुपयोग गरी आफ्नो दैनिक जीवनमा प्रयोगमा ल्याउने हो भने सरल र सहज तरिकाले नै जीवन निर्वाह गर्न सक्छन् भन्ने गतिलो उदाहरण यस अनलाइन व्यवसायबाट थाहा पाउन सकिन्छ । व्यसायमा देखिएको तीव्र प्रतिस्पर्धाले आगामी दिनहरूमा यस प्रविधिसँगै घुलमिल हुन नसक्ने मानिसहरूलाई दिनदिनै गा¥हो हुन सक्छ भने प्रविधिसँगै अगाडि बढ्ने मानिसहरूलाई सजिलो तरिकाले जीवन यापन गर्न सकिन्छ भन्ने एउटा गतिलो उदाहरणसमेत अनलाइन व्यवसायले दिएको छ । हिजोआजको विषम परिस्थितिमा भीडभाड नगरौं, बरु सकेसम्म अनलाइन व्यवसायलाई अँगालांै । भीडाभाड कम गरौं, कोरोना संक्रमणबाट आफू पनि बचौं र अरूलाई पनि बचाऔं ।
—झलनाथ खतिवडा

प्रतिक्रिया दिनुहोस्