व्यक्ति–व्यक्तिको सहयोगबाट सामुदायिक रेडियोको भवन निर्माण «

व्यक्ति–व्यक्तिको सहयोगबाट सामुदायिक रेडियोको भवन निर्माण

सिन्धुपाल्चोक-व्यक्तिव्यक्तिको चन्दा सहयोगबाट थालिएको सामुदायिक रूपमा सञ्चालित रेडियो मेलम्चीको भवन निर्माणाधीन अवस्थामा छ । भूकम्पअघि भाडामा बसेको घर भत्किएपछि खुला बारीका पाटाबाट सञ्चालन गरिएको रेडियो अब छिट्टै आफ्नै भवनमा सर्ने भएको हो ।
मेलम्ची नगरपालिकाले रेडियो सञ्चालनका लागि जग्गा उपलब्ध गराएपछि निर्माण सुरु गरिएको भवनका लागि विभिन्न व्यक्ति र संस्थाले आफूखुसी चन्दा सहयोग गर्न थालेका थिए । स्थानीय संग्रहालय, सभाहल, पुस्तकालय, सूचना केन्द्रसमेत रहने सो भवनको निर्माणकार्य अहिले अन्तिम चरणमा पुगेको छ ।
भवन निर्माणका लागि निर्वाचन क्षेत्र विकास कोषबाट १० लाख रुपैयाँ प्राप्त भएपछि निर्माण सुरु गरिएको थियो । रेडियो सञ्चालक समितिका अध्यक्ष डम्बर रसिक भारतीले सांसद विकास कोषबाट विनियोजित रकमले निर्माण सुरु गरेपछि व्यक्तिहरूले पनि आफूखुसी चन्दा सहयोग गर्न थालेको बताए । पछि ह्योल्मो–सिन्धु–मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिबाट दुई लाख रुपैयाँ संस्थागत रूपमा प्राप्त भएको छ । अध्यक्ष भारतीले थप आवश्यक रकम समुदायस्तरबाट संकलन भइरहेको बताए ।
भवन निर्माण सम्पन्न गर्नका लागि करिब ६५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । रेडियोलाई माया गर्ने शुभचिन्तकबाट करिब १५ लाख रुपैयाँ संकलन भइसकेको भारती बताउँछन् । “१० लाखभन्दा बढी संकलन भइसक्यो, बाँकी पाँच लाख रुपैयाँ विभिन्न व्यक्तिले सहयोग गर्ने प्रतिबद्धता दिनुभएको छ,” उनले भने, “अझै सहयोग हुने क्रम जारी छ ।” व्यक्तिगत रूपमा एक हजार रुपैयाँदेखि एक लाख तीन हजार रुपैयाँसम्म सहयोग गर्नेहरू छन् । हालसम्म झण्डै व्यक्तिगत रूपमा दुई सय जनाभन्दा बढीले सहयोग गरेको भारतीले जानकारी दिए ।
जिल्लाको व्यापारिक बजार मेलम्चीबाट रेडियोको प्रशारण हने गरेको छ । यो भेगमा रेडियो स्टेसन यही एउटामात्रै हो । भवन निर्माण सम्पन्न भएपछि सूचना केन्द्रका साथै लोप भइसकेका र लोप हुने क्रमका विविध स्थानीय सामग्रीको संग्रहालयसमेत राखिने स्टेसन म्यानेजर देवराज सुवेदीले जानकारी दिए । संग्रहालयमा खुर्पेटो, ढिकी, जाँतो, हर्पे, तुलो, ठेकी, घुम, घुमराडी आदि समावेश गरिने सुवेदीले बताए । “जिल्लाका सबै जानकारी दिने सूचना केन्द्रका साथै, पुस्तकालयसमेत व्यवस्था गर्ने गरी यो बहुउद्देश्यीय भवन निर्माण थालिएको हो,” उनले भने । भवन निर्माण सुरु गरेको खबर प्रवाह भएपछि विभिन्न व्यक्तिले सहयोग गर्ने क्रम बढेपछि आँट बढेको सुवेदीले बताए ।
रेडियो मेलम्ची आफ्नै भवनबाट प्रसारणमा आउन सकेमा सहज हुनुका साथै गुणस्तरीय कार्यक्रम उत्पादन तथा प्रशारणमा सघाउ पुग्ने सञ्चालक समितिको विश्वास छ । समुदायलाई निरन्तर सूचना, सन्देश तथा मनोरञ्जन प्रदान गर्दै आएको रेडियो मेलम्ची यस भेगका समुदायका लागि प्रभावकारी सञ्चार माध्यम भएको छ । भूकम्पका बेला समुदायमा प्रभावकारी भूमिका निर्वाह गरेको थियो । घाइतेहरूको उद्धार, राहत तथा महामारीबाट बच्नका लागि सूचना सन्देश प्रशारण गरी समुदायको मन जित्न सफल भएको थियो ।
भूकम्पपश्चात तत्काल बारीको पाटाबाट सञ्चालित यस रेडियो डेढ वर्षसम्म पालमुनि खुला ठाउँबाट प्रशारण गर्नुपरेको पीडालाई नयाँ भवन मल्हम हुने रेडियो कार्यक्रम प्रस्तोता दिपीन ढुंगाना बताउँछन् । “पालमुनि सञ्चालन हुँदा समाचार र कार्यक्रममा चरा, गाईं भैसी कराएको आवाजसमेत जाने गर्दथ्यो ।” ढुंगानाले सुनाए, “आफ्नै भवनमा परेपछि यस्ता समस्याबाट मुक्ति पाइनेछ ।”
भवनमा अझै फर्निचर र रंगरोगनको काम बाँकी छ । निर्माण सम्पन्न गर्ने अझै रकम आवश्यक परेको सञ्चालक समितिको भनाइ छ । सामुदायिक रेडियोको भवन निर्माणका लागि रेडियोले सबैसँग सहयोगको अपील पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्