Logo

गोरखाका ५ पालिकामा निजी आवास पुनर्निर्माण ९० प्रतिशत बढी


गोरखाका ५ वटा स्थानीय तहमा निजी आवास पुनर्निर्माणको काम ९० प्रतिशत बढी भएकोे छ ।
कुल भूकम्पपीडित लाभग्राहीमध्ये ५ वटा पालिकामा ९० प्रतिशतभन्दा धेरैले घर निर्माणको काम पूरा गरेको अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाईले जनाएको छ । वारपाक–सुलिकोट, सिरानचोक, आरुघाट, अरिजकोट गाउँपालिका र गोरखा नगरपालिकामा पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको हो । निजी आवास पुनर्निर्माणमा वारपाक–सुलिकोट गाउँपालिका सबैभन्दा अगाडि देखिएको छ । सो गाउँपालिकामा आवास पुनर्निर्माणको ९५ प्रतिशतभन्दा बढी काम सकिएको इकाईका प्रमुख रामशरण आचार्यले बताए । सो पालिकाका ७ हजार २ सय ६४ जना भूकम्पपीडित लाभग्राहीमध्ये ७ हजार ९६ जनाले अनुदान सम्झौता गरि पहिलो किस्ताको रकम लिइसकेका छन् । यस्तै घर निर्माण पूरा गरेर तेस्रो किस्ताको अनुदान रकम लिनेको संख्या पनि ६ हजार ७ सय ३२ पुगेको इकाईले संकलन गरेको विवरणमा उल्लेख छ ।
यस्तै अजिरकोट गाउँपालिकामा पुनर्निर्माणको ९४ प्रतिशत काम पूरा भएको छ । सो पालिकाका ४ हजार १ सय ८४ लाभग्राहीमध्ये ४ हजार ७८ जनाले अनुदान स्म्झौता गरी पहिलो किस्ताको रकम बुझेका छन् । तेस्रो किस्ता लिनेको संख्या ३ हजार ९ सय ५६ र तेस्रो अर्थात् अन्तिम किस्ता लिनेको संख्या ३ हजार ८ सय ८७ पुगेको अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाईले जनाएको छ । अजिरकोटको वडा नम्बर १ घ्याच्चोकमा निजी आवास पुनर्निर्माणको काम लगभग पूरा भएको छ । त्यहाँ भूकम्पले क्षति पुगेकामध्ये ९९ प्रतिशत घरको पुनर्निर्माण सकिएको छ । सो वडाका ४ सय ८० लाभग्राहीमध्ये ४ सय ६७ जनाले घर निर्माण पूरा गरी तेस्रो किस्ताको अनुदान रकम बुझिसकेका छन् ।
यस्तै सिरानचोक गाउँपालिकामा ९३ प्रतिशत भूकम्पपीडित लाभग्राहीले निजी आवास पुनर्निर्माणको काम सकेका छन् । सो गाउँपालिकामा हालसम्म पहिचान भएका ६ हजार ९ सय २१ लाभग्राहीमध्ये ५ हजार ७ सय ८१ जनाले दोस्रो र ५ हजार ६ सय १ जनाले तेस्रो किस्ताको अनुदान रकम बुझेका छन् । निजी आवास पुनर्निर्माणको काम अन्तिम चरणमा पु-याउनेमा आरुघाट गाउँपालिका पनि रहेको छ । सो पालिकामा हालसम्म ९१ प्रतिशत घर निर्माण सकिएको अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाईले जनाएको छ । पुनर्निर्माण र प्रवलीकरण गरी ७ हजार ४८ लाभग्राही पहिचान भएकोमा ६ हजार ९ सय ८५ जनाले अनुदान सम्झौता गरेका छन् । त्यसमध्ये दोस्रो किस्ताको अनुदान रकम लिनेको संख्या ६ हजार ६ सय ३० र तेस्रो किस्ता लिनेको संख्या ६ हजार २ सय २९ पुगेको छ ।
जिल्लाभरमै सबैभन्दा धेरै भूकम्पपीडित लाभग्राही कायम भएको गोरखा नगरपालिकामा पनि निजी आवास पुनर्निर्माणको ९० प्रतिशत काम सकिएको छ । नगरपालिकाका १० हजार ६ सय ३१ भूकम्पपीडित लाभग्राहीमध्ये १० हजार १ सय ८४ जनाले सम्झौता गरी पहिलो किस्ताको अनुदान रकम बुझेका छन् । त्यसमध्ये दोस्रो किस्ता बुझ्नेको संख्या ८ हजार ७ सय ५० र तेस्रो किस्ताको अनुदान बुझ्नेको संख्या ८ हजार ४ सय ६७ पुगेको अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाईले जनाएको छ । इकाईले संकलन गरेको कात्तिक मसान्तसम्मको विवरणअनुसार सहिद लखन गाउँपालिकामा ८९ प्रतिशत लाभग्राहीले निजी आवास पुनर्निर्माणको काम पूरा गरेका छन् । यस्तै पालुङटार नगरपालिकामा ८६ प्रतिशत, गण्डकी गाउँपालिकामा ७७ प्रतिशत, धार्चे गाउँपालिकामा ८९ प्रतिशत, भीमसेन थापामा ८३ प्रतिशत र चुमनुब्री गाउँपालिकामा ७६ प्रतिशत निजी आवास पुनर्निर्माण सकिएको छ । जिल्लाभर भने हालसम्म निजी आवास पुनर्निर्माणको ९४ प्रतिशत काम पूरा भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाईले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्