Logo

ठेकेदारको लापरबाहीले दुई वर्षमा सात प्रतिशत मात्र प्रगति

राँके-रवि सडक
पाँचथर-
राँके-रवि सडक खण्डको ट्रयाक ओपन भएको करिब २ दशक भयो । यो पाँचथरको पुरानो सडकमध्येको एक र महत्वपूर्ण सडक हो । पाँचथरको सबैभन्दा कन्तबिजोक भएको सडक पनि यही हो भन्दा फरक नहोला । हिउँदमा धुलो र वर्षामा हिलोले सवारी साधन नै डुबाउने गरेको छ । राँकेबाट धनकुटाको भेडेटार पुग्ने महत्वपूर्ण सडक राज्यकै महत्वका साथ निर्माण हँुदै गरेको सडक पनि हो ।
२०७५ सालमा तत्कालीन अवस्थामा दुईतिहाइ बहुमतसमेत रहेको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलेले निकै तामझामका साथ यो सडकको कालोपत्रे योजनाको शिलान्यास गरे । अब राँकेदेखि भेडेटारसम्मका नागरिकको जीवनस्तरसमेत परिवर्तन हुने भन्दै गहकिलो भाषण गर्दा स्थानीयले हर्षको तालीको वर्षा गरेका थिए ।
मन्त्री भएर काठमाडौंको सडक सुधार गरेर चर्चामा आएका भैतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको गृह जिल्लासमेत रहेको पाँचथरको सडकको अवस्था भने नाजुक छ । यो सडकको कालोपत्रे योजना प्रधानमन्त्रीबाट शिलान्यास पनि भयो, भाषण पनि भयो, निर्माणकार्य पनि सुरु भयो तर दुई वर्षमा निर्माण कार्यको प्रगति जम्मा सात प्रतिशतमात्र छ । निर्माण कार्यले गति लिन नसक्दा स्थानीय नागरिकमा निराशा छाएको स्थानीयले बताएका छन् । निर्माणकार्यले गति लिन नसक्दा स्थानीयले दुःख पाउनसम्म पाएको फाल्गुनन्द गाउँपालिकाका व्यवसायी युद्धबहादुर बोहोरा बताउँछन् । यो सडक निर्माणका लागि मिक्लाजुङ गाउँपालिका र फाल्गुनन्द गाउँपालिकाका जनप्रतिनिधिले पटक पटक पहल गरिसकेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिले बताए । पाँचथरको राँकेबाट धनकुटाको भेडेटारसम्म यो सडक एक सय किलोमिटर दूरीको छ । एक सय किलोमिटर सडक पिच गर्ने जिम्मा भारतीय ठेकेदार कम्पनी एफ्को इन्फ्राको प्रालिले पाएको हो । ठेकेदार कम्पनीले काम गर्न नसक्दा सम्झौता सकिन एक वर्षमात्र रहँदा कार्य प्रगति जम्मा सात प्रतिशतमात्र छ । तीन करोड २६ लाख १८ हजार पाँच सय ४१ अमेरिकी डलरमा ठेक्का लागेको यो सडक दुई वर्षमा सात प्रतिशतभन्दा धेरै काम हुन नसकेको हो । नेपाल सरकारको १३ प्रतिशत र भारतको ८७ प्रतिशत लगानी रहने सम्झौतामा भएको सडक डिभिजन कार्यलय इलामले बताएको छ । यो सडक निर्माणका लागि न्यूनतम ब्याजदरमा भारतीय एक्जिम बैंकले ऋण दिने सहमति भएको हो ।
केही समय अगाडिसम्म केही स्थानमा स्काभेटहरु लगाउँदै गरेको भेटिन्थ्यो, सडकको चैडा बनाउने काम भइरहेको थियो, राँकेबाट सप्तमी, हँुदै रविसम्मको केही स्थानमा सडक चौडा बनाउनेबाहेक केही काम हुन नसकेको मिक्लाजुङ–२ सप्तमी बजारका स्थानीय प्रकाश आले मगरले बताए । अहिले निर्माणस्थालमा ठेकेदारका प्रतिनिधिसमेत भेटिन छाडेका छन् । निर्माणकार्य ठप्प रहेको स्थानीय बताउँछन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङ गृह जिल्ला आउँदा पटक पटक ठेकेदारलाई कारबाही गर्ने बताए पनि ठेकेदारले निर्माणकार्य अगाडि बढाउन सकेको छैन । यस पटक मिक्लाजुङको भ्रमणमा आउँदा पनि मन्त्री नेम्वाङले ठेकेदारलाई कारबाही गरिन्छ भन्न छुटाएनन् ।
यो सडकले पाँचथर र इलाम र धनकुटाका विभिन्न स्थानीय तह जोड्ने गर्छ । धनकुटाका भेडेटार, नाम्जे, ओखे्र, डाँडाबजार, राजारानी, चौकीभञ्ज्याङ, सौरेबजार र ६ नम्बर बुधबारेलाई जोड्ने छ  । पाँचथरका, चिसापानी पञ्चमी, रवि, सप्तमी, उत्तरे, घुर्बिसे पञ्चमी, राँकेलगायतका बजारका नागरिक यो सडकबाट लाभान्वित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्