कोरोना महामारीले संकटमा साना उद्योग «

कोरोना महामारीले संकटमा साना उद्योग

दाङ-जिल्लामा रहेका अधिकाश साना उद्योगहरु संकटमा रहेको उद्योग सञ्चालकहरु बताउँछन् । कोरोना संक्रमणका कारण उद्योगहरु संकटमा रहेको उनीहरुको भनाइ छ । उद्योगलाई सञ्चालनमा ल्याउनका लागि राज्यको तर्फबाट सहयोग नपाएको उनीहरुको गुनासो रहेको छ । घोराही उप–महानगरपालिका–१८ फुर्सेखालीमा रहेको शान्ति पेपर व्याग उद्योग चैत महिना यता बन्द रहेको छ । उद्योगबाट चैतयता हालसम्म कुनै पनि उत्पादन नभएको उद्योगका सञ्चालक अमितसिंह ठकुरीले जानकारी दिए । उनले २०७४ भदौ १ गतेबाट उत्पादन सुरु गरेका थिए ।
उद्योग बन्द हुँदा उद्योगमा काम गर्दै आएका ८ जनाले रोजगारी समेत गुमाउनु परेको छ । “उद्योग बवन्द भएपछि बाध्य भएर काम गर्नेहरुलाई घर बस्नुस् भन्नु परेको छ ।” ठकुरीले भने । उद्योग सञ्चालन गर्ने तयारी गरे पनि कच्चा पदार्थको समस्या हुँदा सञ्चालन गर्ने नसकिएको उनको भनाइ छ । भारतबाट कच्चा पदार्थ ल्याउनु पर्ने भएकाले समस्या भएको ठकुरी बताउँछन् । “अर्डर गरेर मगाउँदा भने जस्तो आउँदैन आफू जान पाइएको छैन ।” उनले भने । कोरोनाको कारण लामो समयसम्म उद्योगहरु बन्द भएपनि राज्यको तर्फबाट सहयोग नपाएको उनको गुनासो छ ।
राज्यले उद्योगहरुलाई सहुलियतमा ऋणको व्यवस्था गरीदिनु पर्ने तथा राजस्वमा छुट दिने गर्नु पर्ने उनले बताए । स्थानीय सरकारले पनि कुनै प्रकारको छुटको व्यवस्था नगरेको उनको भनाइ छ । धेरै समस्या भए पनि आफू ऋण सापटी लिएर भए पनि उद्योग सञ्चालन तथा विस्तार गर्ने तयारीमा जुटेको उनले बताए ।
घोराही उप–महानगरपालिका–१३ मा रहेका हिमाली फुड प्रोडकसनले पनि आफ्नो उत्पादन घटाएको छ । कोरोना महामारीको कारण समस्या भएको कारणले उत्पादन घटाएको उद्योगले जनाएको छ । अहिले आफनो उत्पादनको ५० प्रतिशत उत्पादन कमि गरेको सञ्चालक विकास वलीले जानकारी दिए । “अहिले रोजगार दिएका सबैलाई रोजगार दिने अवस्था छैन” उनले भने, “समस्याको समयमा आफूहरुको समस्याका बारेमा राज्यका कुनै पनि निकायले सुनेको छैन ।” राज्यले उद्योगहरुलाई सहुलियतमा ऋण दिएर उद्योगलाई सहज रुपमा सञ्चालनमा ल्याउने वातावरण मिलाउनु पर्ने उनको भनाइ छ । नजिकै रहेको स्थानीय सरकारले उद्योगीहरुलाई कुनै पनि सहयोग नगरेको उनी बताउँछन् ।

चार महिनामा थपिए ६ सय ७० साना उद्योग
दाङमा चार महिनाको अवधीमा ६ सय ७० वटा साना उद्योग थपिएका छन् । चालू आर्थिक वर्ष २०७७÷०७८ को पहिलो चौमासिक सम्म घरेलु तथा साना उद्योग कार्यालय दाङमा ६ सय ७० उद्योगहरु दर्ता भएका हुन् । कोरोना महामारीले हरेक क्षेत्रमा प्रभावित पारेको छ । तर पनि जिल्लामा साना उद्योगहरु थपिने क्रम भने जारी रहेको छ । कोरोनाका कारण रोजगारी गुमाएकाले आफैंले केही गरौं भनेर उद्योग दर्ता गरेकाले पनि संख्यामा बढी भएको हो ।
घरेलु तथा साना उद्योग कार्यालयका अनुसार यसरी थपिएका मध्ये प्राइभेट फर्म ६ सय २२ वटा र साझेदारी फर्म ४० वटा र प्रालि ८ वटा साना उद्योगहरु दर्ता भएका छन् । कार्यालयका सूचना अधिकारी विक्रम केसीका अनुसार कार्यालयमा दर्ता भएका उत्पादनमुलक उद्योग १ सय ५१ वटा दर्ता भएका छन् । जसमा ७२ वटा प्राइभेट फर्म ५ वटा साझेदारी, प्रालि एउटा दर्ता भएका हुन् । कृषि तथा व जन्य उद्योग ४ सय ६७ वटा दर्ता भएका छन् । जसमा प्राइभेट फर्म ४ सय ३२ वटा साझेदारी फर्म ३२ वटा र ३ वटा प्रालि रहेका छन् ।
पर्यटन उद्योग ४७ वटा दर्ता भएका छन् । जुन प्राइभेट फर्म रहेका छन् । त्यसैगरी सेवामुलक उद्योग ८४ वटा दर्ता भएका छन् । जसमा ७७ वटा प्राइभेट फर्म, ३ वटा साझेदारी फर्म, र ४ वटा प्रालि रहेका छन् । कात्तिक मसान्तसम्ममा ५ सय ५२ वटा उद्योगहरुको नविकरण गरिएको छ । जसमा उत्पादनमुलक उद्योग १ सय ५१ वटा, कृषि तथा वन्य जन्य उद्योग १ सय ५ वटा, पर्यटन उद्योग ५९ वटा, सेवामुलक उद्योग २ सय ३७ वटा उद्योगहरु रहेका छन् ।
यस अवधीमा ५७ वटा उद्योगले लगत कट्टा गरेका छन् । जसमा उत्पादनमुलकका ८ वटा, कृषि तथा वन जन्य उद्योग २६ वटा, पर्यटन उद्योग ९ वटा र सेवा मुलक उद्योग १४ वटा रहेका छन् ।
पहिलो चौमासिकसम्ममा ३ सय ४२ वटा उद्योगले पँुजी वृद्धि गरेका छन् । यसरी पुँजी वृद्धि गर्नेहरुमा उत्पादनमुलक उद्योगका ५० वटा, कृषि तथा वन जन्य उद्योगका ७७ वटा, पर्यटन उद्योग २९ वटा र सेवामुलक उद्योगका १ सय ८६ वटा रहेका छन् ।
साउन देखि कार्तिक मसान्त सम्म घरेलु तथा साना उद्योग कार्यालयले ३२ लाख १० हजार १ सय १० रुपैया राजस्व सङकलन गरेको छ । जसमा उत्पादन मुलक उद्योग वाट ५ लाख ३९ हजार ७ सय रुपैया कृषि तथा वन जन्य उद्योगहरु वाट १२ लाख २४ हजार ३ सय रुपैया, पर्यटन मुलक उद्योग बाट २ लाख ४६ हजार १ सय २० रुपैया र सेवा मुलक उद्योगहरु वाट ११ लाख ९९ हजार ९ सय ९० रुपैया राजस्व संकलन भएको घरेलु तथा साना उद्योग कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्