लघुवित्तका सदस्य र समूह घटे «

लघुवित्तका सदस्य र समूह घटे


नेपाल राष्ट्र बैंकको नीतिगत दबाबका कारण लघुवित्त वित्तीय संस्थाबीच एकआपसमा गाभिने क्रम बढेसँगै लघुवित्तमा सदस्य र समूह संख्या घट्न थालेको छ । मर्जरका कारण दोहोरो सदस्यता अन्त्य भएसँगै संख्या घटेको हो । यसैगरी कोभिड–१९ को महामारीका कारण पनि लघुवित्त संस्थाहरूले व्यवसाय विस्तार गर्न सकेका छन् । जसको कारण सदस्यहरूको संख्या घटेको अनुमान गरिएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो तीन महिनामा लघुवित्त संस्थाका सदस्यको संख्या ५ हजारभन्दा बढी र समूहमा करिब तीन सयले कमी आएको छ ।
२०७७ चैतमा लघुवित्त संस्थाहरूको कुल सदस्य संख्या ४६ लाख ९१ हजार ९८८ रहेकोमा तीन महिनाको अवधिमा ५ हजार तीन सय ७९ जना घटेर २०७७ असारमा ४६ लाख ८६ हजार ६०९ मा झरेको छ । सदस्यको संख्या घटेसँगै लघुवित्तको समूह संख्या पनि प्रभावित भएको छ । २०७७ चैतमा १० लाख ३९ हजार ९८८ रहेकोमा २०७७ असारमा आइपुग्दा २९२ वटा समूह घटेर १० लाख ३९ हजार ६९६ वटामा झरेको छ । नेपालमा लघुवित्त संस्थाहरूले बैंक तथा वित्तीय संस्थाको पहुँच नपुगेका ग्राामीण तथा विपन्न महिलालाई समूहमा आवद्ध गराई बिनाधितो ऋण प्रवाह गर्दै आएका छन् ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नयाँ लघुवित्तको अनुमतिपत्र बन्द गर्दै संख्या घटाउनका लागि फोर्स मर्जर हुने नीतिगत व्यवस्था गरेको छ । जसअनुसार केन्द्रीय बैंकले लघुवित्त संस्था राष्ट्रिय वा प्रादेशिक स्तरमा सञ्चालन गर्नुपर्ने, तोकिको पुँजी पु-याउन हकप्रद सेयर जारी गर्न नपाइने व्यवस्थाका साथै कर्जाको व्याजदर तथा सेवा शुल्कमा समेत सीमा घटाएको छ ।
मौद्रिक नीतिपछि आधा दर्जन बढि लघुवित्त संस्था मर्जर भइसकेका छन् भने दुई दर्जन भन्दा बढी संस्था मर्जर प्रक्रियामा रहेका छन् । २०७६ असार मसान्तसम्ममा नेपाल राष्ट्र बैंकबाट ९० वटा लघुवित्त संस्थाले अनुमति लिएकोमा २०७७ भदौसम्ममा लघुवित्तको संख्या ८१ मा झरिसकेको छ । अहिले प्रक्रियामा रहेका सबै संस्थाहरूको मर्जर सफल भएमा चालू आर्थिक वर्षभित्र लघुवित्तको संख्या ५० भन्दा तल झर्ने देखिएको छ ।
मर्जरका कारण लघुवित्त संस्थाहरूको संख्या घट्दा दोहोरिएका ग्राहक हटेकाले संख्या घट्न थालेको हो । लघुवित्तको संख्या अत्याधिक हुँदा एकै व्यक्तिले ७ वटासम्म संस्थामा सदस्य बनि कारोबार गरेको र यसबाट विकृति बढेको राष्ट्र बैंकले नै गरेको एक अध्ययन प्रतिवेदनले औंल्याएको थियो ।
यसैगरी विश्वभर फैलिएको कोभिड–१९ को महामारी र संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउन निषेधाज्ञालगायतका कारण पनि लघुवित्तको व्यवसाय प्रभावित हुँदै आएको छ । कोभिडबाट बच्नका लागि विज्ञहरूले सामाजिक दूरी कायम गर्न र सामूहिक भेला नगर्न सुझाव दिएपछि सामूहिक बैठक गर्ने लघुवित्त सञ्चालन मोडलमा चुनौती थपेको छ ।

प्रतिक्रिया दिनुहोस्