उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा विराटनगरका राउत निर्विरोध «

उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा विराटनगरका राउत निर्विरोध

विराटनगर-नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश–१ बाट केन्द्रीय सदस्यमा उद्योगी राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् ।
२१ वर्षको उमेरमा सन् १९८५ मा तत्कालीन सांग्रिला इन्टरनेशनल एपारल्समा प्रबन्ध निर्देशकका रुपमा व्यावसायिक क्षेत्रमा पाइला सुरु गरेका उनको लगानीमा राउत कन्ट्रक्सन, शिवम् फुटवेयर प्रालि, अन्नपूर्ण सिमेन्ट उद्योग, स्वस्तिक रोलिङ मिल, शिव ओम मल्टिपर्पोज प्रालि, शिव ओम अटो सेन्टरलगायत आधा दर्जनभन्दा बढी उद्योग व्यवसाय सञ्चालनमा छन् । त्यसबाहेक चुन ढुंगा उत्खनन्का साथै हेटौंडा र विराटनगरमा पेट्रोलपम्प पनि सञ्चालनमा रहेका छन् । फलाम तथा स्टील उद्योग र पाँचतारे होटल सञ्चालनको तयारीमा रहेका राउत सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् ।
नेपालकै पहिलो उद्योग वाणिज्य संघ मोरङ व्यापार संघको कार्यसमिति सदस्य हुँदै वरिष्ठ उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ को हाल जिल्ला नगर उद्योग वाणिज्य संघतर्फको उपाध्यक्ष पदमा रहेका राउतले प्रतिष्ठित विराट गोल्डकप फुटबल प्रतियोगितालाई ऐतिहासिक रुपमा सफल बनाउन दुईपटक नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । निर्विरोध निर्वाचित गराउन भूमिका खेल्ने सबैप्रति राउतले आभार व्यक्त गरेका छन् । “मलाई निर्विरोध बनाउन जसले जहाँजहाँबाट भूमिका खेल्नुभयो उहाँहरू सबैलाई धन्यवाद दिन्छु,” उनले भने, “सबैको साथ र सहयोगले मात्र महासंघ अगाडि बढ्न सक्छ ।”
यस्तै द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सन्दीप अग्रवाल केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन् । महासंघको ५४ औं साधारणसभा यही मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्