माप्य–खुम्बु मितेरी पुलको उद्घाटन, पर्यटन प्रवद्र्धनमा टेवापुग्ने विश्वास

सोलुखुम्बु-आठ करोड ३४ लाख रुपैयाँको टेण्डर भएर निर्माण कार्य अघि बढाइएको सोलुखुम्बुको माप्य–खुम्बु मितेरी पुलको मङसिर ६ गते उद्घाटन गरिएको छ । संघीय सांसदमार्फत १ करोड, प्रदेश सरकारबाट २ करोड रुपैयाँ र बाँकी रकम माप्यदूधकोशी र खुम्बु पासाङल्हामु गाउँपालिकाको ५० र ५० प्रतिशत लगानीमा बनेको मोटरेबल पुलको शनिबार प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले उद्घाटन गरे ।
उद्घाटनपश्चात् बोल्दै मुख्यमन्त्री शेरधन राईले समृद्धिको र विकासको बाटो खुलेको बताए । ४८ मिटर लम्बाइको मोटरेबल पुलको उद्घाटन गरेका मुख्यमन्त्री राईले कोरोना महामारीका बीचमा मोटरेबल पुलनिर्माण भएको बताउँदै उनले इच्छा शक्ति भएमा गर्न सकिने बताए ।
दिगो विकास आजको आवश्यकता भएकाले कोरोनाले पुलनिर्माणमा असर नपु¥याएको बताए । आन्तरिक तथा बाह्य पर्यटकका लागि खुम्बु जाने मूलढोका तयार भएको उनले बताए । स्थानीय उत्पादनलाई जोड दिँदै पर्यटकीय आकर्षणका काम गर्न आग्रह गरे । प्रदेश सरकार पर्यटकीय पूर्वाधार निर्माणमा केन्द्रित भएकाले कचनकवलदेखि सगरमाथालाई सडकले जोडिने बताए ।
कार्यक्रममा सोलुखुम्बुबाट निर्वाचित संघीय सांसद हेमकुमार राई सुरवीरले देश आर्थिक समृद्धितर्फ अघि बढेको बताएका छन् । मोटरेबल पुल जिल्लाको विकासमा उदाहरणीय काम रहेको भन्दै उनले सोलुखुम्बुमा पर्यटनको थप विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । विकास विरोधी दललाई विकासका कुरामा हातेमालो गर्न आग्रह गर्दै जनतालाई भ्रम नर्छन् आग्रह गरे ।
प्रदेशनम्बर १ का अर्थमन्त्री इन्द्र आङबोले सोलुखुम्बुको विकासका योजना प्राथमिकताका साथ सञ्चालन भइरहेको बताए । हिमाली जिल्लाको विकासलाई प्रदेश सरकारले प्राथमिकता दिएको उनले बताए ।
त्यस्तै, सोलुखुम्बुका प्रदेश सांसदद्वय उत्तमकुमार बस्नेत र बुद्धिकुमार राज भण्डारीले आन्तरिक तथा बाह्य पर्यटनमा मोटरेबल पुलले विशेष भूमिका खेल्ने बताए । नेकपा जिल्ला अध्यक्ष मानवीर राईले प्रतिपक्ष दलले राम्रा कामको दुष्प्रचार गरेको बताउँदै नागरिकले आगामी चुनावमा मूल्यांकन गर्ने बताए ।
नेकपा नेतागोम्बु शेर्पाले खुम्बु र माप्यको विकासमा मोटरेबल पुल कोशेढुंगा सावित भएको बताए ।