सहकारीका साधारणसभा अनलाइनबाट «

सहकारीका साधारणसभा अनलाइनबाट

दोलखा-हरेक वर्ष भदौको दोस्रो साता साधारणसभा सक्ने भीमेश्वर नगरपालिका–३ चरिकोटमा रहेको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था (साकोस) ले यस वर्ष ३ महिना ढिला गरी शनिबार मात्र साधारणसभा सुरु ग-यो ।
साधारणसभा सुरुका दिन न त कुनै तामझाम थियो, न त सेयर सदस्यहरूकै भीडभाड । कार्यालयको सानो हलमा २ घण्टा चलेको साधारणसभामा भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसी पूरै समय बसे । उनले आर्थिक विकासका लागि सहकारीहरूको भूमिका महत्वपूण हुने भएकाले पैसाको किनबेच मात्र गर्नुभन्दा सदस्यको आर्यआर्जनमा लाग्न आग्रह गरे ।
हलभित्र दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भूमिराज खड्कासहित केही अतिथि मात्र थिए । सहकारीका सञ्चालक, सल्लाहकार र कर्मचारी बाहेकको उस्थिति थिएन । त्यो पनि भौतिक दूरी कायम गरी साधारण सभा सञ्चालन भयो । सहकारीका अध्यक्ष राजन श्रेष्ठले कोभिड–१९ रोगको महामारीले स्वास्थ्य सुरक्षा चुनौती बढिरहेका बेला सरकारको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर ढिला गरी साधारणसभा सुरु गरेको जानकारी दिए ।
साधारणसभामा उपस्थिति नदेखिए तापनि जिल्लाबाट प्रसारण हुने रेडियोहरूमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो । सहकारीका प्रतिवेदन सबै सेयर सदस्य माझ पु-याउनका लागि प्रत्यक्ष प्रसारण गरिएको सहकारीका प्रमुख कार्यकारी अधिकृत दीपक बस्नेतले जानकारी दिए । सहकारीका प्रतिवेदन सदस्यका घर घर पु-याएका छौं, अब सदस्यलाई पायक पर्ने गरी टोलटोलमा पुगेर सदस्यहरूसँग छलफल गरिने उनले बताए । सदस्यका सुझावलाई लिएर मंसिर १५ गते साधारण सभा सम्पन्न गर्ने कार्यक्रम रहेको उनले बताए ।
कोरोना रोगको महामारीले ठूलो संख्यामा मान्छे जम्मा गर्न सरकारले रोक लगाएपछि हाम्रो जनकल्याण साकोसले जिल्लास्थित ४ ओटा सामुदायिक रेडियोहरूबाट प्रत्यक्ष प्रशारण गरेर संस्थाको २३ औं बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
जिल्लाका रेडियो भीमेश्वर, कालिञ्चोक एफएम, रेडियो शैलुङ र हाम्रो रेडियोमार्फत सहकारीले साधारणसभाका विषय, नीति तथा कार्यक्रम र लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको हो ।
८ हजार सेयर सदस्य तथा साढे ३२ सय बालबचतकर्ता रहेको सहकारीले गत आर्थिक वर्षको अन्त्यसम्ममा ६२ करोड ९३ लाख बराबरको वासलात रेडियोमार्फत कोषाध्यक्ष अर्जुन कार्कीले सार्वजनिक गरेका थिए । ५ करोड २१ लाख २१ हजार दुईसय सेयर पुँजी छ । सहकारीले गत आर्थिक वर्षमा मृत्यु भएका २१ सेयर सदस्यका आफन्तहरूलाई ३ लाख ८१ हजार हितकोषबाट भुक्तानी गरिएको सहकारीका प्रमुख कार्यकारी अधिकृत दीपक बस्नेतले बताए ।
संस्थामा सदस्य भई आमा वा बुबामध्ये एक जना नभएका सेयर सदस्यका छोराछोरीमध्ये एकजनालाई दिने गरिएको असहाय सन्तती छात्रवृत्तिअन्तर्गत गत आर्थिक बर्षमा ५ छात्र र ५ छात्रा गरी १० जनालाई प्रत्येकलाई बार्षिक २ हजार ५ सयको दरले २५ हजार छात्रबृत्ति वितरण गरिएको छ ।
कोभिडकै कारण जनकल्याण मात्र होइन दोलखाका अधिकांश सहकारीहरूले यही रुपमा साधारण सभा थालेका छन् । ११ वटा सहकारी मर्ज गरेको जिरीको एकीकृत फ्रेण्डसिप साकोसले पनि टोलटोलमा पुगेर सदस्य भेला गरेर प्रतिनिधिमूलक साधारण सभा गरी पूरा गर्दै छ । उसले पनि प्रतिवेदन सदस्यहरूका घरघरमा पु-याएको छ ।
बैतेश्वर गाउँपालिका–३ मा रहेको जनजागरण साकोसले पनि टोलटोलमा पुगेर सदस्य भेला सकेर शनिबार मात्र प्रतिनिधिमूलक साधारण सभा गरेको हो । दोलखाका प्रायः सबै सहकारीहरूले सकभर सदस्यहरूलाई पायक पर्ने गरी ठूलो भेला नहुने गरी साधारणसभा गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्